काठमाडौं । एमालेका लागि यो आम निर्वाचन धेरै अर्थमा महत्वपूर्ण थियो । संगठनात्मक हिसाबले देशको सबैभन्दा संस्थागत र सुदृढ दल हो । तर, यस पटको निर्वाचनको नतिजाले भने नेकपा एमालेलाई दूर्भाग्यपूर्ण अवस्थामा पुर्याइदिएको छ । पार्टीमा ठुलो जिम्मेवारी सम्हालेका वरिष्ठ नेताहरुले समेत यस निर्वाचनमा हार बेर्होनु परेको छ । महासचिव शंकर पोखरेल देखि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसम्मले हार्न पुगेका छन् । भनिन्छ राजनीति र खेलमा दुबै पक्षको जित हुँदैन, तर यहाँ किन र के कारणले भन्ने प्रश्न खडा हुन्छ । विगतमा सत्तामा हुँदा आफूहरुले गरेका कामबाट पनि जनता अर्थात् मतदातामा सकारात्मक वा नकारात्मक प्रभाव पर्छ । कुनै समय एमाले सत्तामा रहँदा निकै चर्चा र विवादमा रहेका दर्जनौँ नेताले यो निर्वाचनमा संसद प्रवेश गर्न नपाउने भएका छन् ।
रेखाले ब्रेक लगाइदिएको शंकरको संसद यात्रा
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका शंकर पोखरेल १९६ झिनो मतान्तरले हार्न पुगे । पोखरेलकी प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा भारी मतका साथ निर्वाचित भएकी छन् । उनले २६ हजार ८ सय ७७ मत ल्याएकी छन्। यहाँ पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्। अघिल्लो संसदीय चुनावमा माओवादी नेता कृष्णबहादुर महराका लागि भनेर यो क्षेत्र छाडिदिएका पोखरेल लुम्बिनीको पहिलो मूख्यमन्त्री बन्न पुगे । उनका कतिपय कामलाई त्यहाँका नागरिकले सराहना गरे पनि असंवैधानिक संसद विघटनकै छायाँ प्रदेशसभाहरुमा पनि पर्न गयो । नेकपा विभाजनसँगै पोखरेलको लुम्बिनी सरकार अल्पमतमा पर्यो । अल्पमतमा परे पनि प्रदेश प्रमुखलाई मूख्यमन्त्री कार्यालयमै डाकी उनले शपथ लिएको घटना विवादित बन्न पुगेको थियो । नेकपा एमालेका अन्य नेतालाई पन्चाउँदै गत वर्ष चितवनमा सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट महासचिवमा चुनिएका पोखरेलको संसद यात्रामा ब्रेक लागेको छ ।
देउवा हराउने चुनौती दिएका महेश बस्नेतको लज्जास्पद हार
भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेवार बनेका एमाले नेता महेश बस्नत पराजित भएका छन् । कांग्रेसका दर्लभ थापाले उनलाई ८२३ मतान्तरले हराएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । एमाले सरकारका पालमा उनी पटक पटक विवादित बनेका थिए ।
१० वैशाख २०७७ मा महोत्तरीस्थित घरमै रहेका जनता समाजवादी पार्टी (जसपा)का तत्कालीन सांसद डा.सुरेन्द्र यादवलाई बस्नेतले अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको थियो । त्यसपछि यादवले आफ्नो अपहरण भएको भन्दै मानव अधिकार रक्षा गरिदिन माग गर्दै यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए। यद्यपी उनको उजुरीमा छानबिन सुरु नहुँदै बस्नेत लगायत तीन जनाले काउन्टर उजुरी दर्ता गराएका थिए । केहीमहिना अघि बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवालाई भक्तपुरमा आफूसँग चुनावलड्न निमन्त्रणा दिएका थिए । त्यसको जवाफमा देउवाले दुर्लभ थापालाई हराएर देखाउनु भन्दै चुनौती दिएका थिए । देउवाले दिएको चुनौती यतिबेला चर्चाको विषय बनेको छ । उनै थापाले बस्नेतलाई पराजित गरिदिएका छन् ।
ओम्नी र यतिमा मुछिएका ईश्वरलाई प्रदिपले हराएपछि…
काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दिएका एमालेका उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन्। निर्वाचन परिणामअनुसार कांग्रेसका प्रदीप पौडेलले पोखरेललाई पराजित गरेका हुन्। पोखरेल ५ हजार ६५ मतान्तरले पराजित भएका हुन्। पौडेलले १५ हजार २३७ मत पाए भने एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन्। पोखरेल यसअघि दुईपटक काठमाडौँ ५ बाट निर्वाचित भएका थिए।
२०७६ चैतको दोस्रो साता चीन लगायत विभिन्न मुलुकसँगै नेपाल पनि कोरोना सङ्क्रमणको महामारी हुँदा पूर्वतयारीका लागि सरकारले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरी काम थालेको थियो । सोही क्रममा स्वास्थ्य सामग्री खरिद अनियमितताको विवादमा रक्षामन्त्री पोखरेल मुछिए । समितिको निर्देशनका कारण मन्त्रालयले विभागमा त्यही शैलीमा हस्तक्षेप गरी स्वास्थ्य सामग्री खरिद गरेको थियो । उनलाई रक्षामन्त्रीबाट हटाउन तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले लविङ गरेका थिए । थापाको लविङपछि उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विना विभागिय मन्त्री बनाएर प्रधानमन्त्री कार्यालयमा थन्क्याएका थिए ।
सार्वजनिक लेखासमितिले भ्रष्टाचारी ठहर गरेका भानुभक्तको संसद यात्रा
मोरङ ३ बाट उम्मेदवारी दिएका एमाले नेता भानुभक्त ढकाललाई कांग्रेसका सुनिल शर्माले भारी मतान्तरसहित पछि पारेका छन् । उनी स्वाथ्यमन्त्री हुँदा आफ्नो अधिकार नै नभएको छलफलमा सहभागी भएका कारण ओम्नी अनियमितताको विवादमा जोडिन पुगेका थिए ।
यो विवादमा मुछिएका ईश्वर पोखरेल, भानुभक्त ढकाल र स्वास्थ्य क्षेत्रका अधिकारीहरूले कुनै जवाफ नदिएर उल्टै लेखा समितिको नियमित कामकारबाहीलाई नै प्रभावित बनाएका थिए । संसदको सार्वजनिक लेखा समितिले ढकालमाथि मुद्दा चलाउन सिफारिस गरेको भएपनि अख्तियारले कुनै चासो समेत दिएन ।
अग्नि खरेललाई विश्वप्रकाश भारी
झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा नेकपा एमालेकातर्फबाट उम्मेदवार अग्नी खरेल १४ हजार २७५ मतले पराजित भएका छन् । उनको प्रतिद्धन्द्धी नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत प्राप्त गरेका थिए । प्रधानमन्त्री हुँदा ओलीको सल्लाहकार बनेका खरेलले झापा २ मा टिकट नपाउने स्थितिमा पुगेपछि क्षेत्र फेरेर झापा १ मा लगिएको थियो । खरेललाई ओलीले नेताको रूपमा स्थापित गर्न खोजेका थिए । उनी पूर्व कानुन मन्त्री समेत हुन् । कानुन मन्त्रबाट खरेल फेरी महान्यायाधीवक्तामा समेत फर्किएका थिए ।
ओलीलाई सामन्त गोयलसँग गोप्य वार्ता गराउने भट्टराईलाई जनताले दिए जवाफ
काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा एमालेका तर्फबाट उम्मेदवारी दिएका राजन भट्टराई ७४४७ मतान्तरले पराजित भएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१३०२ मत ल्याउँदा भट्टराईले १३८५५ मत प्राप्त गरेका छन्। थापा ७४४७ मतान्तरले विजयी भएका हुन् ।
भट्टराई अध्यक्ष ओली प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकार रहेका थिए । उनी सल्लाहकार भएकै बेला ओलीलाई भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्त गोयलसँग भेट गराइएको थियो । बाहिर बाहिर भारतको चर्को आलोचना गरेपनि भित्र भित्र रअ प्रमुखलाई कुटनीतिक मर्यादा विपरित ओली निवास बालुवाटारमै प्रवेश गराएको घटनाले ओलीको साख गिरेको थियो ।
सुर्य चिन्ह लिएर चुनाव लडेका माओवादी कमाण्डरको लज्जास्पद हार
कैलाली क्षेत्र नम्बर ३ बाट उम्मेवार बनेका एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत ल्याएर पराजय भएका छन् । त्यहाँ रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति विजयी भएको छ । गंगा चौधरीले २३ हजार १२० मत ल्याउँदै विजयी भएका हुन् । गौरीशंकर कुनै समय माओवादी केन्द्रबाट कृषी विकास मन्त्री समेत बनेका थिए । माओवादी सेनाका कमाण्डर समेत रहेका उनी लेखराज भट्टसँगै एमाले प्रवेश गरेका थिए ।
अन्तिममा ओली तिर लाग्दा लेखराजको हरिबिजोग !
कैलाली–४ बाट प्रतिनिधिसभामा एमालेका तर्फबाट उम्मेदवार बनेका लेखराज भट्ट ३ हजार ५८४ को मतान्तरले पारजित भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका वीरबहादुर बलायरले २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ मत पाएका छन् । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएपछि माओवादीका सांसद उनी एमालेमै बसेका थिए । कुनै समय प्रचण्डको निकट रहेका चौधरी अन्तिममा केपी ओलीको शरणमा पुगेका थिए ।
सर्वेन्द्रलाई पहिलो निर्वाचनमै झड्का !
काठमाडौं–६ प्रतिनिधि सभा सदस्यका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल ८९११ मत ल्याएर पराजय भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हबाट चुनाव लडेका शिशिर खनालले १४२०४ मत पाएका छन् । उनीसँग पराजित भएका सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन् भने प्रधान पूर्वरक्षामन्त्री हुन्। खनाललाई पदमा हुँदा एमालेका तत्कालिन सांसद महेश बस्नेतसँगको मिलेमातोमा सांसद अपहरणको आरोप लागेको थियो ।
संसद विघटनको मुद्दा अदालतमा पुर्याउने कृष्णभक्त पोखरेल
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका एमालेका नेता कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याएर पराजय भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार २६१ मत प्राप्त गरेर विजय भएका छन् । सुरुवाती अग्रता लिएका पोखरेल अन्तिममा तेस्रो स्थानमा थिए ।
झण्डै दुई तिहाइको वाम गठबन्धन नटिकाएको, करिब साढे ३ वर्षको ओली शासनकालमा अपेक्षित विकास, समृद्धि र सुशासन प्रत्याभूत गर्न नसकेको, दुई–दुई पटक असंवैधानिक संसद विघटन गरेको आरोप यो दलमाथि थियो । सर्वोच्च अदालतमा नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक संसद विघटनको विपक्षमा मुद्दा मामिला गर्ने प्रमुख सांसद उनै पोखरेल थिए । तर, अन्तिममा उनी ओली तिरै लागेका थिए ।
अर्थशास्त्रका हस्ती सुरेन्द्र पाण्डेलाई शेयर ब्रोकरले हराइदिएपछि…
नेकपा एमालेका उपाध्यक्ष हुन् सुरेन्द्र पाण्डे । अर्थमन्त्री समेत बनिसकेका पाण्डेलाई शेयर बजारका एक कारोबारीले चुनाव हराइदिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चितवन क्षेत्र नम्बर १ को उम्मेदवार बनेका पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पराजित गरेका हुन् । उपाध्यक्ष पोखरेल शुरुमा केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि विरोधमा उत्रिएका थिए । तर, अदालतले नेकपा विभाजन गरेर अलग अलग दल बनाएपछि उनी एमाले तिरै लागेका थिए ।