संसदमा महिलाः प्रत्यक्ष तर्फ आठ निर्वाचित

के अब दलहरुले समानुपातिकबाट ३३ प्रतिशत पुर्याउलान् ?

खुमा ओली  

काठमाडौं । गत मंसिर ४ गते आम निर्वाचन सम्पन्न भयो । योसँगै केही विवादित क्षेत्रसहित अन्य क्षेत्रको मत परिणाम आउने क्रम जारी नै छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ विभिन्न दल र स्वतन्त्र गरि २३५ महिलाले उम्मेदवारी दिएकामा जम्मा आठ जना निर्वाचित भइसकेका छन् । सुनसरी ३ मा अग्रता कायम गरिरहेकी एमालेकी भगवती चौधरीले पनि जित निकालेको अवस्थामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनाव जित्ने महिलाको संख्या ९ पुग्नेछ। तर संविधानमा राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एकमा महिला हुनैपर्ने व्यवस्था छ । सभामुख वा उपसभामुखमध्ये एक महिला हुनैपर्छ ।

हरेक राजनीतिक पार्टीले ३३ प्रतिशत सिटमा नघटाई महिला सिट सुरक्षित गर्नु पर्ने व्यवस्था छ । प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका अनुसार दलहरूले बन्द सूची तयार पार्दा नै समावेशी प्रतिनिधित्वको सिद्धान्त अनुसार गर्नुपर्ने उल्लेख छ। समावेशी समूहमा कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश हुनुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ। संविधानले तोकेको ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित प्रत्यक्ष निर्वाचनबाट हुन सकेको छैन भने दलहरूले समानुपातिकबाट पुर्‍याउनु पर्ने हुन्छ। के अब दलहरुले समानुपातिकबाट ३३ प्रतिशत पुर्याउलान् ?

यी हुन् निर्वाचित महिला उम्मेदवार

रेखा शर्मा
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा रेखा शर्मा निर्वाचित भएकी छन् । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उनी उम्मेदवार बनेकी थिइन् । एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै १९६ मत अन्तरले शर्मा निर्वाचित भएकी हुन् । शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी भइन भने पोखरेलले २६ हजार ६८१ मत ल्याएर पराजित भएका छन् । शर्मा माओवादीबाट एक मात्र महिला निर्वाचित भएर रेकर्ड राखेकी छन् ।

सोविता गौतम

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी निर्वाचित भएकी छन् । गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन्। गौतमले १५२२९ मत पाएकी छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ३६७४ छ।

तोसिमा कार्की

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छन्एमालेका अमृत खड्का र बहालवाला ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गर्दै रास्वपाकी कार्की निर्वाचित भएकी हुन् । रास्वपाकी कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका खड्काले १२ हजार ९६३ मत पाए ।

ज्वालाकुमारी शाह

एमालेकी अर्की उम्मेदवार नेत्री ज्वाला कुमारी साह पनि प्रतिनिधिसभा सदस्यमा बारा ३ बाट विजयी भएकी छन्। उनले २० हजार २५१ मत ल्याउँदा उनका मुख्य प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवले १७ हजार २६९ मत पाए। साहले यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गरेकी हुन्।

विद्या भट्टराई

विद्या भट्टराई एमालेबाट कास्की २ बाट निर्वाचित भएकी हुन्। उनले ४ हजार ५०३ मतान्तरले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई पराजित गरेकी हुन्। जितका लागि भट्टराईले १६ हजार ९९८ मत पाउँदा कँडेलले १२ हजार ४९५ मतमै रोकिए। त्यसो त भट्टराईको संसद् छिरेको यो दोस्रोपटक हो। यसअघि २०७६ सालमा सम्पन्न उपनिर्वाचनमा कास्की २ बाटै उनले विजय हासिल गरेकी थिइन्। उनी एमालेका प्रभावशाली युवा नेता रवीन्द्र अधिकारीकी पत्नी हुन्।

सीता गुरुङ

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षबाट कांग्रेसले अघि सारेका पाँच महिला उम्मेदवारमध्ये जित निकाल्न सफल एक मात्र नेत्री हुन्, सीता गुरुङ। तेह्रथुमबाट निर्वाचित उनले एमाले उम्मेदवार विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पराजित गरेकी हुन्। गुरुङले १९ हजार ७०२ मत बटुल्दा सुब्बाले १८ हजार ६२३ मतमै सीमित भए।

रन्जिता श्रेष्ठ

कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ ३० हजार ४०४ मत ल्याएर निर्वाचित भएकी छन्। श्रेष्ठले नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतले पराजित गरेकी हुन्। रामजनम चौधरीले १८ हजार ८१ मत ल्याएका थिए।

जुलीकुमारी महतो

धनुषा ३ मा एमालेकी उम्मेदवार जुलीकुमारी महतो निर्वाचित भएकी छन्। उनले जनता समाजवादी पार्टीका उम्मेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गरेकी हुन्। जुलीले ३३ हजार ३५५ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार झाले २३ हजार ६८६ मत बटुले। अनेरास्ववियुबाट राजनीतिमा सक्रियता बढाएकी महतोको प्रत्यक्षतर्फ यो पहिलो जित हो।

सम्बन्धित खबर