बैतडीमा घाँटी रेटेर युवतीको हत्या, घाइते किशोरीको अवस्था गम्भीर

दियो पोस्ट  

बैतडी । बैतडीमा मंगलबारदेखि बेपत्ता युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ । बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीसँगैकी अर्की किशोरी घाइते छन् । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज शीले मंजोगलबारदेखि बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएको जानकारी दिए ।

उनकाअनुसार नेहा पनि घाँटी रेटेको अवस्थामा भेटिएकी हुन् । उनको उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको छ । उनको अवस्था गम्भीर छ । दुवै जना मंगलबार बिहान कपडा सिलाउन भनेर घरबाट निस्किएका थिए । साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।खोजी गर्ने क्रममा बुधबार बेलुकी स्थानीय र प्रहरीको संयुक्त टोलीले फेला पारेको थियो ।