काठमाडौं । नेकपा एमालेका सांसद तथा डिस होम मिडिया नेटवर्कका मालिक देवि प्रकाश भट्टचन विरुद्ध ९८ करोड रुपैयाँभन्दा बढी सहकारी ठगीको आरोप लागेको छ । तत्कालिन प्रभु समुहका अध्यक्ष समेत रहेका उनी विरुद्ध प्रभु समुह अन्तर्गतकै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी हुन् । ठगी अभियोगमा जाहेरी दिएपनि एमाले सांसद र प्रभावशाली व्यक्ति भएकै कारण उपत्यका अपराध अनुसन्धान कार्यालय र सिआइबीले जाहेरी नलिएपछि विशेष सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता भएको छ ।
गत असोज ११ गते नै जाहेरी दर्ता भएपनि प्रहरीले कुनै कारबाही अगाडी बढाएको छैन । भट्टचनले देशभरका विभिन्न सहकारीबाट रेमिट्यान्सले भुक्तानी दिएको ९८ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । विशेषगरि विदेशस्थित प्रभु रेमिटेन्स मार्फत नेपाल पठाईएको पैसा हुण्डि गरि विदेशमै बुझ्ने र यता नेपालमा भने सहकारी मार्फत भुक्तानी दिने गरिएको थियो । ती सहकारीहरुले प्रभु म्यानेजमेन्ट प्रा.ली मार्फत पाउनुपर्ने ९८ करोड रुपैयाँ नपाएपछि हाल अध्यक्ष रहेकी लामासँग पैसा माग्नेको भिड लागेको थियो । बैंकको आवरणमा हुण्डि गरेको थाहा पाएपछि राष्ट्र बैंकले कारबाही गर्ने तयारी गरेको थियो । तर, उनी बैंक तथा वित्तिय संस्थाबाट बाहिरिएर अहिले डिस होमको अध्यक्ष बनेका छन् ।
पोखराको सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाले पाउनुपर्ने पैसा भुक्तानी नभएको भन्दै लामालाई पत्राचार गरेको भेटिएको थियो । लामाले जवाफमा उक्त रकम देवि भट्टचनले अपचलन गरेकाले उनले फिर्ता दिएपछि मात्रै भुक्तानी दिन सक्ने जवाफ दिएकी थिइन् । देशैभरीका रेमिट्यान्स सेवा भुक्तानी गर्ने सहकारीहरुले प्रभुबाट पैसा पाएका छैनन् । भट्टचनले अपचलन गरेको रकमको टर्चर आफूलाई भएपछि अहिले कुसुम लामा नेपाल बाहिर रहेको खुलेको छ । उनलाई पटक पटक सम्पर्क गर्दा उनले फोन भने उठाइनन् ।
कुसुममाथि पनि आरोप
यता देविलाई रेमिट्यान्सको रकम हिनामिना गरेको आरोप लगाउने कुसुम लामामाथि पनि रेमिट्यान्सको रकम हिनामिना गरेको आरोप छ । ‘उहाँले सबै कुसुम लामालाई जिम्मा लगाएर छाड्नु भएको हो । लामाकै कार्यकालमा भएको सहकारीहरुको भुक्तानी बाँकी छ,’ उनी निकट स्रोतले भन्यो,‘यो विषयमा राष्ट्र बैंकले पनि अनुसन्धान गरि टुंगो लगाएको हो । जसमा देवि भट्टचनले दिनुपर्ने होइन कुसुम अध्यक्ष रहेको प्रभु म्यानेजमेन्टले रफादफा गर्नुपर्ने रकम हो ।’