ममाथि यौन उत्पीडन भयो तर, आमा बाबुले चुप लाग्न भने…..

diyopost.com
दियो पोस्ट  बिहिबार, कार्तिक २५, २०७८ | २०:३२:३२

 

मलाई थाहा छैन , यो पहिलो पटक कहिले भयो तर भयो । बाल्यकालमा म एकभन्दा बढी पटक यौन उत्पीडनमा परेकी थिएँ । एक छिमेकीद्वारा, एक कर्मचारी, एक चालक र ट्युसन पढाउने दुई शिक्षकद्वारा । उनीहरूले मलाई समाते, मेरो स्तनलाई छोए र ममाथि स्खलन गरे । यस्तो सम्झनाहरूले मेरो बाल्यकाललाई अँध्यारो बनाएको छ र अरू धेरै मानिसहरुले बाल्यकालमा फर्केर बाल्यकालको स्मरण गरे जस्तै म मेरो बाल्यकालका दिनहरूमा फर्कन र स्मरण गर्न चाहन्न ।

म अझै पनि मेरो बाल्यकालको मलाई न्याय गर्न नसकेकोमा दोषी महसुस गर्छु । मैले म माथि भएको अन्यायको विरुद्ध आवाज नउठाएकोले म आफूलाई दोषी ठानेकी होईन । कारण त मेरो स्वर कोपिलामा दबिएको थियो ।

म उत्पीडनमा परेँ। त्यतिबेला घृणाले मात्र नभई मेरो आमाबाबुले थाहा पाएमा कस्तो प्रतिक्रिया दिनेछन् भन्ने डरले पनि विचलित भएँ त्यसैले जानकारी गराउन सकिन । मेरा उत्पीडकहरुले यदि मैले आमाबुवालाई केही भनेँ भने उनीहरू रिसाएर मलाई घरबाट निकाल्छन् भन्ने कुरा बुझाएका थिए । “उत्पीडनमा पर्नुको कारण म स्वंयम हो, गल्ती अपराधीको होइन मेरो नै हो” यही सोचको साथ म हुर्किएँ । मैले राम्रो वा नराम्रो स्पर्शको बारेमा कहिल्यै अध्ययन गरेकी थिइनँ । मेरो स्तन वा योनी छुनु गलत थियो भन्ने कुुरा मलाई थाहा थिएन । जब उत्पीडककर्ताहरूले त्यसलाई एउटा मौन घटना बनाए तब मैले यसमा केही गल्ती भएको महशुस गरें । मैलै मेरो आमालाई घटनाको बारेमा बताउदा आमाको प्रतिक्रियाले मैले महशुस गरेको अपराधलाई अझ बढाएको थियो । हो, अन्ततः मैले केही हिम्मत जुटाएर आमालाई एउटा घटनाको बारेमा बताएँ तर आमाले भनेको कुराले म छक्क परें । उनले भनिन् , “पुरुषहरु यस्तै हुन्छन् ।” मैले नै बेवास्ता र मिलाउनुपर्ने उनले बताइन् ।

म भित्र अंकुरण हुने लचिलोपनको बीउ पानीले कुहिएर मरेको जस्तो भयो । मेरा आमाबाबुले पीडकहरूद्वारा ममाथि भएको उत्पीडनको लागि मलाई दोष दिए । दुबैले मलाई मेरा ओठहरु बन्द गर्न र ‘एडजस्ट’ गर्न भने । तपाईंका आमाबाबु र पीडकहरू दुवैको एउटै मानसिकता देख्दा कत्तिको पीडादायी हुन्छ ? के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? मेरा आमाबाबु, जो मेरो एकमात्र संरक्षक थिए । उनीहरु नै पीडकहरुको पक्षमा थिए त्यतिबेला के तपाईं मेरो घाइते हृदय र स्वयमको आत्म–भावना बुझ्न सक्नुहुन्छ ? उनीहरूले ममाथि मौनता र अपराधको भारी बोकाइदिए । त्यो विषयले आज पनि मलाई सताउने गर्छ ।

म हुर्किएँ र शिक्षा प्राप्त गरें । मैले आफूलाई भएको सबै कुरा बुझ्न थालें । मैले ममाथि यौन दुर्व्यवहार गरेको बुझें । यो बच्चाको हातबाट खेलौना खोस्नु जस्तो गल्तीको सानो उदाहरण मात्र थिएन । यो त गम्भीर अपराध थियो जसलाई बोलाएर सजाय दिनु पर्ने थियो । मलाई यौन दुर्व्यवहारलाई बेवास्ता गर्न र सहन आग्रह गरेकोमा मेरा आमाबाबुले गलत गरेको महशुस गरेँ । उनीहरूका लागि आफ्नै छोरीको सुरक्षा भन्दा परिवारको प्रतिष्ठा महत्वपूर्ण रहेछ भन्ने बुझ्न मलाई कठिन भएन । उनीहरूले यौन उत्पीडन हरेक महिलाको जीवनको हिस्सा हो र महिलाले बोल्नुको सट्टा सहनुपर्छ, मौन रहनुपर्छ भन्ने धारणा बनाएका रहेछन् भन्ने मैले बुझें ।

 

आज म मेरा आमाबाबुलाई प्रश्नहरू सोध्न चाहन्छु , “मलाई तपाईं आवश्यकता परेको बेला तपाईले मलाई किन साथ दिनुभएन ? किन मेरो बाल्यकालका यस्ता कालो दिनहरु सहनुपर्ने सजाय दिनुभयो ? किन मेरो बाल्यकाललाई राम्रो अनुभव बनाउन सक्नुभएन ? यदि मैले नारीवादको शिक्षा नपाएको भए, म माथि गलत भएको रहेछ भन्ने के मलाई कहिल्यै थाहा हुन्थ्यो ? छोरीलाई घरको इज्जत बनाउने प्रयासमा उनको इज्जत त आत्मसम्मान र सुरक्षामा छ भनेर कसरी बिर्सनुभयो ?

 

र प्रिय पीडक, म तिम्रो नजिकै बसेको कारणले, तिमीसँग हासेँ त्यसैका आधारमा तिमीले मेरो गाला तान्यौ, तिमीले मलाई उत्पीडन गर्ने लाइसेन्स कसरी मान्न सक्छौ ? आफ्नो आँखाले भर्खरै संसार देख्न थालेकी केटीको बाल्यकाल कसरी नष्ट गर्न सक्छौ ?

 

अझै पनि धेरै प्रश्नहरू छन् जुन म उठाउन चाहन्छु । तर मलाई लाग्छ अब मेरो लागि धेरै ढिलो भइसकेको छ । तरपनि मेरो अनुभव मार्फत वरपरका धेरै केटीहरूले तिनीहरू माथि भएको आक्रमणको लागि उनीहरु कहिल्यै जिम्मेवार हुँदैनन् भन्ने कुरा सिकुन् म त्यही चाहन्छु । म अन्य अभिभावकहरूले यौन उत्पीडन अपराध हो भनेर बुझुन् र उनीहरूले आफ्ना छोरीहरूलाई यसबाट जोगाउनुपर्छ भन्ने चाहन्छु तर पिंजडामा राखेर होइन, उनीहरूलाई आत्मनिर्भर बनाएर ।

यो एउटा व्यक्तिगत कथा हो www.shethepeople.tv बाट दियोपोष्टका लागि फूलमतीले अनुवाद गरेकी हुन् ।

सम्बन्धित खबर