सिंहदरबार भित्र लुकाइएको मन्दिर : जसलाई खोपी प्वालबाट पूजा गर्नुपर्दछ

diyopost.com
राजु झल्लु प्रसाद
  सोमबार, कार्तिक २९, २०७८ | १३:४५:०२

तपाईँलाई अनौठो लाग्न सक्छ, सिंहदरबारको हाताभित्र पर्ने गुप्तचर विभागको क्षेत्रफलमा एउटा मन्दिर छ- जसलाई प्वालबाहिरबाट पूजा गरिन्छ । प्वालबाहिरबाटै अक्षता चढाइन्छ, प्वालबाहिरबाटै फूलपाती र अगरबत्ती बालिन्छ । आममानिस भित्र छिर्न पाउँदैनन्, अगाडी बडेमानको भित्ता छ । 

झ्याम्म परेको बासको झ्याङ र ठुलो पिपलबोटको ठ्याक्कै मुनि एउटा मन्दिर छ, जहाँ आममानिश छिर्न पाउँदैनन् ।  उनीहरू अग्लो भित्ताको बिचमा रहेको सानो खोपी प्वालबाट एक आँखाले कुमारी भगवतीको मूर्ति नियाल्छन्, अर्को आँखाले उनीसँग प्रार्थना गर्छन् । तर भित्र छिरेर आफ्नो देवीलाई पूजा-आराधना गर्ने, फूलप्रसाद चढाउने र धुपबत्ती गर्ने अवसर उनीहरूलाई प्राप्त छैन। मन्दिर हो- शक्तिदेवी श्री कुमारी भगवती माई मन्दिर ।   

सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गर्दा दाहिने हातातर्फ पर्छ- एउटा लामो भित्ता (भित्ता यसकारण कि यहाँ प्रशासनिक भवन र ब्यारेकमा चुच्चा फलामका भाला, ठाउँठाउँका सुरक्षा पोस्ट र काँडेतारको गुजुल्टो राखिएको छ, पर्खाल गाउँघर तिरका भए) छ, जो  राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागको मेन गेटमा पुगेर तुरिन्छ । त्यसपछि सिंहदरबारको दक्षिण गेट सुरु हुन्छ । सोही पर्खालको हनुमानस्थान मुखतर्फ (हनुमानस्थान मन्दिर देखि २०/३० मिटर दक्षिण) कुमारी भगवती अवस्थित छ । 

मन्दिर बाहिरको भित्ताछेउ (वारी-पारी दुवैतिरदेखि) उभिएर नियालिरहँदा आफ्नो दैनिक जीवनयापन गरिरहेका आममानिस कोही शिर निहुराइरहेका देखिन्छन्, कोही फुल चढाइरहेका त कोही अक्षता निधारमा लगाएर आफ्नो गन्तव्यतर्फ अग्रसर भइरहेका भेटिन्छन् । बडेमानको भित्तामा रहेको खोपी प्वालदेखि मुन्टो छिराएर मन्दिर नियालिरहेका एक व्यक्तिलाई हामीले सोध्यौँ, “तपाईँलाई भित्र जाऔँ, पूजा गरौँ जस्तो हुँदैन?” उनको उत्तर घतलाग्दो थियो, “हुन्छ, तर भएर के हुन्छ ? हामीलाई दिँदैन ।  उनीहरूले आफैँले बनाएका अरे, आफ्नै पूजारी राखेका छन्, आफैँ मात्रै पूजा गर्छन् ।” उनी मन्दिरलाई भित्ता बाहिर चिहाएर एउटा फूलको थुङ्गो खोपी प्वालमा राखिदिएर सिंहदरबार दक्षिण गेटतर्फ लम्किए । “ऊ त्यो गेटमा गएर कुरा गर्नुस्, तपाईँहरूलाई छिर्न दिन्छ कि नानीहरूलाई ?”, अन्दाजी ६५ वर्षीय स्थानीय वृद्ध आफ्नो छायाँ अगाडी ल्याउँदै माइतीघरतर्फ ओर्लिए ।  हामी त्यही रोकिएर आँखाअगाडिको दृश्य नियाल्न थाल्यौँ ।

सार्वजनिक प्रशासन (गुप्तचर विभाग) ले उसै पनि आफ्नो वैयक्तिक स्वार्थमा एउटा धर्म (हिन्दू)प्रति मात्रै आस्था देखाइरहेको छ, अझ त्यसमा सोही धर्मालम्बीहरूलाई भित्र छिर्न रोक लगाएर राखेको छ । मन्दिर, गुम्बा, चर्च, चैत्य, सार्वजनिक थलो हो, यहाँ रोकतोक हुन् नहुने । तर यसो किन ? मन्दिरको अगाडी बडेमानको भित्ता किन ?

संसारमा ठुला-ठुला भित्ताहरू छन्, लामा-लामा पर्खालहरू पनि छन् ।  तर ती डरलाग्दा चाहिँ उति साह्रो छैनन् ।  तर हामीकहाँ रहेको यस भित्ता वास्तवमै डरलाग्दो लाग्छ । यी भित्ताको वरिपरि हिँड्न निषेध गरिनुदेखि, राम्ररी भित्र हेर्न बन्देजसम्म लगाइएका छन् ।  फोटो खिच्न बन्देज गरिएका भित्ताहरू पनि यही सहरमा भेटिन्छन् ।  मानौँ कि, यी भित्ताहरू कुनै ठुलो रहस्य लुकाएर एक सरो ठाडो उभिएका छन् ।  भित्ताहरूभित्रको रहस्य सामान्यतया चासोको विषय हो नै । अझ यति अग्लो भित्ताभित्र एउटा मन्दिर नै लुकाइनु (लुक्न पुग्नु) भनेको रुचिकर विषय हो । यो भित्तासँग ‘फूटपाथ’ जोडिएको छ । थुप्रै मानिस त्यहाँबाट हिँड्छन् । अलि अगाडी (असारमा) पर्खाल भत्किँदा एक जना घाइतेसम्म भएका थिए । र, हिँडेकोमध्ये निकै थोरै मान्छे मात्रै त्यहाँ रोकिन्छन् र भगवतीको दर्शन गर्दछन् । प्राय: मानिसहरूलाई त्यहाँ मन्दिर छ र मन्दिरको दर्शन बडेमानको भित्तामा खोपिएको सानो प्वालबाट गर्नुपर्ने बाध्यता छ भनेर सायदै थाहा होला ।  

उसो त, सिंहदरबार, अनुसन्धान विभाग जस्ता राज्यका प्रशासनिक एकाइका लागि यस्ता अग्ला भित्ताहरू सुरक्षाकवच मात्रै होइन, सुन्दरता, शालीनता, सभ्यता र भव्यता झल्काउने मानक पनि हो । संसारभर नै यस्ता भित्ताहरूको कवचभित्र दरबार, भवन र सरकारी कार्यालयहरू रहेको पाइन्छ । फेरी, सिंहदरबार आफैँमा धेरैका लागि त्यस्तो रहस्यमय भित्ता हो, जहाँ के हुन्छ, के गरिन्छ दूरदराजको आममानिसको पहुँचमा कहिल्यै पुग्न सक्दैन । राज्यले वितरण गर्ने सेवा-सुविधामा जनताको पहुँच नभएकै कारण आममानिसको नजरमा  सिंहदरबार एक रुखो विम्ब हो, एक कुरूप पर्खाल हो, एक जिर्ण भित्ता ।  र, यही रुखो बिम्ब अर्थात्  एउटा रहस्यमय भित्तालाई लुकाउन उकासिएको अर्को भित्ता (कम्पाउन्ड पर्खाल) भित्र रहेर कुमारी भगवती के गरिरहेकी छन्, चासोको विषय रह्यो । 

धर्मनिरपेक्ष राष्ट्रमा हिन्दू मन्दिर नै किन भन्ने प्रश्नको जवाफ हरेक प्रशासनिक एकाईमा हिन्दू मतको प्रभावलाई आँकलन गरेर मोटामोटी पाइहालियो तर के कति कारण मन्दिरको सामुन्ने विशाल भित्ता ठडाइएको छ ? के कारण दर्शनार्थी मन्दिरभित्र छिर्न पाउँदैनन् ? आफ्नो देवीको दर्शनभेटका लागि पुगेका दर्शनार्थीलाई दरकिनार गरिने अभ्यास कहिलेदेखि सुरु भयो ? मन्दिरभित्र त्यस्तो के छ, जसका कारण दर्शनार्थीहरूलाई कुमारी भगवतीदेखि अलग राखिएको छ ? यही यस्तै कौतुहलताको निवारणका लागि हामीले यस परिवेशलाई अझ नजिकबाट नियाल्ने चेष्टा गर्‍यौँ । 

त्रिभुज आकारको खोपी प्वालको बाहिर कालो रङ्ग देखिन्छ, अगरबत्ती र हिन्दू पूजा विधिका कारण यसो भएको हुँदो हो । इट्टाहरू डढेका जस्ता पनि लाग्छन् । खोपी प्वाललाई अलि नियालेर हेर्ने हो भने अबिर र केशरी, सिङ्गो एवं चुँडालिएका सयपत्री फूलहरू देखिन्छन् । खोपी प्वालबाट भित्र नियाल्दा लोखर्के मन्दिरतर्फ भुत्रुक्क हामफ्याल्यो । भित्रतर्फ हेर्नासाथ जङ्गली फलफूलहरू खान मन गर्ने लोखर्के अकस्मात् देखिनु आफैँमा रोचक लाग्यो । तर वरिपरि अग्लाअग्ला रुखविरुवा हुँदा ‘फ्याउमुसो’ देखिनु सामान्य कुरा नै हो ।  

अझ भित्र नियाल्दा एउटा बोर्ड आँखाअगाडि ठोक्किन आइपुग्छ, जसबाट यो खुल्न आउँदछ कि राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले ०६२ सालमा यस मन्दिरको पुननिर्माण गरेका हुन् । बोर्डमा लेखिएको छ- “शक्तिदेवी श्री कुमारी भगवती माई को मन्दिर ।  निर्माण कार्य: प्रमुख अधिकृत श्री देवी राम शर्माको कार्यकालमा सुसम्पन्न । ईति सम्वत् २०६२ साल असोज १९ गते रोज ४ शुभम् । ”

यस बोर्डको दायाँबायाँ दुई वटा घन्टा झुन्डिएका छन् । त्यसको माथि एउटा पित्तलको कलश देखिन्छ । बायाँतर्फ मोटो पिपल वृक्षको फेद देखिन्छ, जहाँ नित्य पूजा हुँदै आएको छनक पाइन्छ । त्यसबाहेक धेरै कुरा यस खोपी प्वालबाट देख्न हामी असमर्थ भयौँ । गुप्तचर विभाग नै पुगेर मन्दिरबारे जानकारी सङ्कलन गर्नु उत्तम लागेर हामी गुप्तचर विभागको मेन गेटतर्फ लाग्यौँ ।  

राष्ट्रका गम्भीर सूचना सङ्कलन गरी सरकारलाई जानकारी गराउने यस विभागले हामी को हौँ, कहाँदेखि आयौँ, मन्दिरको बारेमा हाम्रो चासो के-कति कारण लगायतका प्रश्नहरू मूल गेटमै खोपी प्वालबाटै सोधी भ्यायो । हाम्रो जवाफ थियो- ‘कौतुहलता निवारण ।’ विभागले हाम्रो परिचय कार्ड, नागरिकता आधा घन्टा जति होल्ड गर्‍यो ।  त्यसपछि जवाफ आयो, ‘गुप्तचर प्रमुख बैठकमा छन्, सहायक अनुसन्धान अधिकृतले भित्र छिर्न नमिल्ने बताउनुभयो ।”  हामीले एकपटक अनुरोध गरिदिन आग्रह गर्‍यौँ । आधा घण्टामा आइपुग्नुस् भनियो ।

  

त्यतिन्जेल हामी हनुमानस्थानतर्फका पसलहरूतर्फ रुमल्लियौँ । मन्दिरको ठ्याक्कै सामुन्ने एनआइसी क्यापिटल पर्दछ । त्यहाँ विगत ४ वर्षदेखि काम सेक्युरिटी गार्डको भूमिकामा कार्यरत मनोज पाण्डे (नाम परिवर्तन) भन्दछन्, “दसैँताका ध्वजापताका टाँगेका थिए । कहिलेकाहीँ मन्दिर सरसफाइ गरेको देखिन्छ ।  नत्र भने त्यही प्वालबाट दर्शन गर्ने हो, अनि फर्किने हो । ” 

‘तपाईँ पनि दर्शन गर्नुहुन्छ ?’

‘गर्दिन ।’

‘किन त ?’

‘भगवानलाई आफ्नै हो जस्तो गरेर लुकाएका छन् ।  प्वालभित्रबाट चिहाइचिहाई के दर्शन गर्नु ? गर्ने परे यहीँदेखि गर्छु । मन्दिरको छानो टल्किएकै छ क्यारे ।’ उनी सही भन्दै थिए, पर्खालमाथि मन्दिरको पहेँलो छानो देखिन्छ । गजुरनेरबाटै पिपलको बोट अकासिएको देख्न सकिन्छ ।

‘भगवतीको मन्दिर रहेछ, होइन ?’

“खै केको हो, लुकाएपछि को हो, को हो ? आफूले देख्या छैन । ”

काभ्रे घर भएका पाण्डव दूध भण्डार एन्ड बेकरी शपका साहु पाण्डव भन्दछन्, “मैले थाहा पाएदेखि प्वाल छ । २० वर्ष भयो यहाँ पसल गरी बसेको । बाटो हिँड्नेहरूले पूजा गरिरहेका हुन्छन् । छानो फेरेको र मन्दिरको रंगरोगन गरेको पनि अस्ति भर्खरै हो ।” देवी राम शर्माकै कार्यकाललाई उनले अङ्कित गरिरहेका थिए ।  

पाण्डव दूध भण्डारकै छेउमा रहेको मङ्गलमान स्टोरका साहु मनोज प्रजापति भन्छन्, “पहिले सानो पर्खाल थियो ।  कहिलेकाहीँ छिराउँथ्यो, छिरेर नै दर्शन गर्न पाइन्थ्यो ।  पछि ठुलो पर्खाल बन्यो, रङ्ग पनि लगायो ।  अब अहिले आफ्नो मान्छे भए सोधेर छिर्न पाइँदो हो, नत्र त्यही प्वालबाट पूजा गर्ने हो । देवीको दर्शन गर्ने हो ।” यही जन्मेको बताउने ४५ वर्षीय प्रजापति भद्रकाली या नजिकैको हनुमानस्थानजस्तो यो मन्दिर ‘बिजी मन्दिर’ नभएको बत्ताउँछन् । ‘त्यस्तो जात्रासात्रा केही हुँदैन, उनीहरू (गुप्तचर विभाग) को जग्गामा पर्छ, उनीहरू नै पूजा आराधना गर्छन् ।”

हामी वारिपारि गर्दै थियौँ, प्रहरी हवल्दार मनोज मगर (नाम परिवर्तन) भेटिए । उनलाई पनि हामीले सोही प्रश्न सोध्यौँ, ‘यो मन्दिरभित्र छिर्नुभएको छ ?” 

उनको जवाफ थियो, “सिंहदरबार भित्र पर्‍यो, जो पायो त्यहीलाई कहाँ छिर्न दिन्छन् ? मलाई धेरै कुरा थाहा छैन, अगाडि गएर बुझ्नुस् न । ”

उनले अगाडी गएर बुझ्नुस् भनेपछि याद आयो, हामीलाई आधा घण्टामा आउनुस् भनिएको थियो । हामी सरासर मूल गेटमा पुग्यौँ । परिचयपत्र चेकजाँचका लागि मूल गेटमा खटिएका ओम थापा र सह अनुसन्धान निर्देशक यम बराल गेट बाहिर हामीलाई पर्खिरहेको भेटिए ।  

‘यो गुप्तचर विभाग हो, एउटा संवेदनशील ठाउँ हो । यसकारण पब्लिकलाई आउन दिन मिलेन”, थापा भन्छन्, “पब्लिकलाई भित्र छिरायो भने यहाँको कुराहरू बाहिर निस्कने डर पनि भयो भन्ने हिसाबले मन्दिरभित्र प्रवेश निषेध गरिएको हो । अरू केही कारण होइन ।” विभागले स्टाफहरूका लागि भनेर आफैँ निर्माण गरेको मन्दिर भएकाले पनि पब्लिक भित्र आउन नमिल्ने बताउँदै उनले भने, “मन्दिरको पूजारी नै स्टाफमध्येबाट नै हुनुहुन्छ, जनजाति मूलको ।”

‘मन्दिर हो भनेपछि एउटा संस्था वा विभागको मात्रै कसरी?’ भन्ने हाम्रो प्रश्नमा थापा भन्छन्, “हाम्रो विभाग अलि छुट्टै प्रकृतिको प्रशासनिक एकाइ भएका कारणले यसो भएको हो ।  मन्दिर भएपछि दर्शन गर्ने चाह हुन्छ, यसैको लागि हामीले एउटा सानो प्वाल पनि बनाइदिएका हौँ ।”

अनुसन्धान विभाग भएकाले र त्यो भन्दा बेसी हामी पत्रकार भएकाले भित्र छिर्न नमिल्ने आशयको स्पष्टीकरण बरालको पाइयो । “फोटो खिच्नको लागि तपाईँहरूलाई रोक्नु पर्ने देखियो ।  हाम्रो संस्थाको प्रकृति नै यस्तै छ ।  माइन्ड नगर्नुहोला,” बरालले भने ।  

‘मन्दिरलाई अग्लो भित्ताभित्र किन लुकाइयो ?’

“लुकाएको नै भन्न मिल्दैन ।  दर्शन गर्न दिइएको छ ।  अर्को कुरा चाहिँ, सुरक्षा निकायभित्र जहाँ पनि मन्दिर हुने गर्छन्, भित्रबाट नै स्थापना गरिएको हुन्छ । ”

‘ पहिले पर्खाल होचो हुँदा दर्शनार्थी भित्र छिर्न पाउँथे अरे ?’

‘त्यो होला, त्यतिबेला विभागले यति जमिन चर्चेको थिएन ।  अहिले भवनहरू बढे, यसपछि यस क्षेत्रको संवेदनशीलता पनि बढ्यो ।’ 

‘मोबाइल पनि यही छोड्छौँ, तपाईँहरूमध्ये कोही हामीसँग हिड्नुस ।  हामी सरर्सती मन्दिर परिवेश हेरेर फर्किन्छौँ । ’

‘मैले तपाईँलाई भनिहालेँ, त्यसो गर्न मिल्दैन ।  हस्त साथी, बाइ ।  माइन्ड नगर्नुहोला साथी । ’, बराल यसपछि बाहिरिएँ । 

हामी फेरी सोही खोपी प्वाल नेर आइपुग्यौँ । भित्र चिहाएर हेर्यौं, लोखर्के उसैगरी फुत्रुक्क हामफ्याल्यो । उसैगरी, दुई घन्टा हावाको रफ्तारमा हल्लिरहेका थिए ।

राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भए बमोजिम सङ्घमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो । नेपाल राज्यको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा, आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवर्द्धन एवं सम्वर्द्धन गर्नका निम्ति सरकारलाई आवश्यक पर्ने सबै प्रकारका सूचना उपलब्ध गराउने यो सङ्गठनको जिम्मेवारीभित्र  पर्दछ । तर हामीले जान्न खोजेको सूचनाबारे यथार्थ जानकारी दिन विभाग हिचकिचायो । प्रश्नहरू बाँकी छन्, ‘मन्दिर ०६२ सालमा पुनर्निर्माण गरिएको हो भने त्यस पहिले मन्दिरको वास्तविक अवस्था के थियो ? राष्ट्रको प्रशासनिक एकाईमा हरबखत हिन्दू मन्दिरकै उपस्थिति किन ? ‘

वासु शशीको एउटा कविता छ, ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ शीर्षकमा, जहाँ उनी भन्छन्, 

‘ यो जमानामा हामी पर्खालको जरुरत मिटाउनलाई

पर्खाल लगाउँछौँ

हामी पर्खालका विरुद्ध पर्खाल लगाउँछौँ

(तर) लगाउँछौँ, लगाउँछौँ

यद्यपि पर्खाल लगाएपछि धेरै कम भित्र पर्छ । ’

हो, पर्खाल (भित्ता) लगाएपछि धेरै कम भित्र पर्छ ।

सम्बन्धित खबर