काठमाडौं । समय फल्चाको भग्नावशेषमाथि अवैध रुपमा निर्माण भएको श्री लालीगराँस बहुउद्देश्यीय सहकारी संस्थाले पुनर्निर्माण सम्पन्नको चरणमा रहेको समय् फल्चा भत्काउन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
ललितपुर महानगरपालिकाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतको आदेश तथा फैसला अनुसार निर्माण गरेको २०६ वर्ष पुरानो ऐतिहासिक समय फल्चा भत्काउन सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेका हुन् ।
आश्चर्य त के भने उक्त फल्चा निर्माणको विरोधमा रहेको वडा नम्बर ३ लाई उनले विपक्षी बनाएका छन् । फल्चा निर्माण गर्न हुन्न भन्ने पक्षमा वडा नम्बर ३ का वडाध्यक्षले वकालत गर्दै आएका छन् । तर, सम्पदा संरक्षणमा क्रियाशिल मेयर चिरिबाबु महर्जनको निर्देशनमा फल्चा निर्माण कार्य करिब सम्पन्न हुने चरणमा पुगेको थियो ।
भण्डारीले दायर गरेको मुद्दामा आगामी मंसिर १० गतेलाई छलफलमा झिकाउन जिल्ला अदालत ललितपुरका न्यायाधीश ऋषीराम निरौलाको इजलाशले आदेश दिएको छ ।
२०६ बर्ष भन्दा पुरानो ऐतिहासिक समय् फल्चाको भग्नावशेष माथि श्री लालीगुराँस सहकारीले स्वीकृत नक्सा र मापदण्ड विपरित भवन बनाएको थियो । ललितपुर महानगरपालिकाले फल्चा निर्माणको लागि बजेट विनियोजन गरेपछि सहकारी र महानगरपालिका बीच विवाद भएको थियो ।
सहकारीले फल्चा निर्माण रोक्न जिल्ला अदालत ललितपुर, उच्च अदालत पाटन र सर्वोच्च अदालतमा (झूठो) विवरण सहित मुद्दा दायर गरेको थियो ।
तिनै तहको अदालतमा सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको झुठ पराजित भएपछि पनि उनले गृहमन्त्रालयलाई शक्तिको दुरुपयोग गरेर फल्चा निर्माण रोक्न दोहोरो पत्र समेत लेखाएका थिए ।
हाल तिनै तहका अदालतको आदेश तथा फैसलाबाट ऐतिहासिक समय फल्चा निर्माण कार्य सम्पन्न हुने तयारीमा छ ।