स्तन क्यान्सर पीडित युवतीमाथि जबरजस्ती करणी प्रयास : चोट देखाउँदा ललितपुर प्रहरीले लिएन जाहेरी !

diyopost.com
दियो पोस्ट  मंगलबार, मंसिर १४, २०७८ | २१:२९:२४

फूलमती

 

काठमाडौं । १९ वर्षिय रिना महत (नाम परिवर्तन) ले बाल्यकालमै पिता गुमाउनु पर्यो । बुवा वितेपछि आमाले छोरा छोरी पाल्नकै लागि काठमाडौं आउने निधो गरिन् ।

 

आमाले भाई र रिनालाई लिएर ललितुरको नखिबोटमा कोठा लिएर बसिन् । खाजा पसलमा आमाले काम गर्न थालिन् । त्यही पैसाले घर परिवार पाल्नु र कोठा भाडा तिर्नु उनको दैनिकी थियो । शहरमा आमाले पाएको दुख देखेर रिनालाई पनि आमालाई केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । कक्षा १२ मा पढ्दै गरेकी उनी सानै उमेरबाट स्तन क्यान्सरबाट पीडित थिइन् ।

कक्षा ७ मा पढ्दै गर्दा उनको परिवारले ऋण गरेरै रिनाको स्तन क्यान्सरको अपरेशन गरेको थियो । तर, बल्झिरहने घाउले रिनालाई असाध्यै पीडा दिन्थ्यो । पीडाको भारी बोकेरै रिनाले जागिर खाने निधो गरिन् ।

एक सहकारीमा जागिर मिल्यो । तलब – मासिक चार हजार !

सहकारीका सेवाग्राहीसँग पैसा उठाउने उनको दैनिकी थियो । त्यही दौरान उनको भेट मुकेश पाण्डेसँग भयो । पाण्डे सैलुनमा काम गर्थे । रिनाले काम गर्ने सहकारीमै मुकेशको पनि खाता थियो । मुकेश विवाहित थिए । उनको एक सन्तान थियो । उनै मुकेशले रिनालाई मोबाइल नम्बर मागे । उनीहरुबीच कुराकानी हुन थाल्यो । फोन र म्यासेजमा उनीहरुबीच कुराकानी चल्न थाल्यो । करिब चार महिना वित्यो ।
उनीहरुको मित्रता गहिरिदै गयो । तर, गहिरिएको मित्रता भित्र मुकेशले रचेको एउटा षडयन्त्रले भने रिनालाई प्रहरीसम्म पुर्यायो ।

२०७८ कार्तीक २७ गते शनिबार ।

रिनाका लागि कालो दिन ।

मुकेशले रिनालाई फोन गरे ।

 

‘मैले शैलुनको काम छाड्न लागेको छु..’ मुकेशले यस्तै भनेपछि रिनाले किन छाड्न लागेको काम’ भनेर प्रश्न गरिन् ।

जवाफमा मुकेशेले भने,‘फोनमा होइन, भेटेरै भन्छु । जावलाखेल क्याफेमा आउ ।’

रिनाले मुकेशको आग्रहलाई नाई भन्न सकिनन् ।

 

‘नखीबोटमा रहेको डेराबाट म जावलाखेल जान निस्किएँ । मुकेशलाई भेटेँ । क्याफे लैजान्छु भनेर उनले मलाई उनको साथीको कोठामा पुर्याए,’ रिनाले भनिन्,‘म र मुकेश कोठा भित्र छिरेपछि उनको साथी बाहिर निस्किए र ढोका लगाइदिए । मुकेशले भित्रबाट चुकुल लगाए ।’

मुकेशले यस्तो व्यावहार देखाएपछि रिनाले सोधिन्,‘तिमीले मलाई कुराकानीको लागि लिएर आएका थियौ तर ढोका किन बन्द गरेको । मलाई तिमी संग कुराकानी गर्नुछैन” ।

त्यसपछि रिना चिच्याउन थालिन् । चुकुल खोल्ने कोशिस गर्न थालिन् । मुकेशले भने रिनालाई आफू तर्फ तान्न थाले ।

 

 

मुकेश पाण्डे

 

‘मैले उसको प्रतिरोध गर्न थालेँ । तर, मेरो टिसर्ट च्यातियो । मुकेशले मेरो भित्री अंगहरुमा हात पुर्याउन थाल्यो,’ रिनाले भावुक हुँदै भनिन्,‘मेरो पाइन्टको टाँक खोलियो । छाला एकदमै सेन्सेटिभ भएकोले उसले छुदाँ, तान्दा, जर्बजस्ती गर्न खोज्दा मेरा धेरै भागहरुमा चोट लाग्यो । मैले दुखाईको महशुस त्यतिबेला गरिन् । मलाई कोठाबाट बाहिरिनु थियो । मैले सकेको बल लगाएर उसलाई धकेलेँ । अनि चिच्याउँदै बाहिर निस्किएँ । त्यतिबेला मेरो हालत मानसिक रोगीको जस्तो भएको थियो । च्यातिएका कपडाको हुलियामा म सडकमा निस्किएँ ।’

यो घटनापनि रिनाले तत्काल कानुन प्रतिरोधमा जान सकिनन् । उनले मुकेशको मोबाइल नम्बर र सामाजिक सञ्जालको साथीबाट हटाइन् । विस्तारै त्यही दिनको घटनाले उनलाई मानसिक तनाव मात्रै दिन थाल्यो । केही हप्ता यसरी नै वित्यो । तर, मानसिक तनावमा रहेकी रिनालाई मुकेशले भतिजको नम्बरबाट फोन गरेर धम्काउन थाल्यो ।

‘म तिमीसँग माफी माग्न चाहन्छु । मैले रक्सीको तालमा तिमीमाथि नराम्रो व्यावहार गरेको हुँ । तिमीले मसंग एकपटक भेटेर कुराकानी गर्नुपर्छ , मलाई भेट । एकजना मान्छेले, ‘रिना गोल्डी गर्ल हो मैले त्योसंग शारीरिक सम्बन्ध राखिसकेको छु । तिमी पनि प्रयास गर” भनेको कारण नै मैले त्यस्तो गर्न पुगें । तिमीले कुरा बुझेउ भने ठिकै छ नत्र तिम्रो फोटो सार्वजनिक गरेर मैले बबाल गर्नेछु, तिम्रो घर पत्ता लगाएर मैले के गर्नुपर्ने हो गर्छु फेरि,” मुकेशले यसरी धम्काउन थाले ।

 

रिनाले सोचिन् उसले माफीको बहानामा मलाई धम्काउँदैछ । यो घटनाको खबर मुकेशको श्रीमतीसम्म पुग्यो । श्रीमतीले अहिले मुकेशलाई छाडेर गएको रिनाको दाबी छ ।

‘तिम्रो कारण मेरो श्रीमतीले छाडेर गइन् । मेरो घर बर्बाद भयो । अब मसँग विवाह गर भनेर उसले फेरी विभिन्न नम्बरबाट फोन गरेर धम्काउन थालेको छ,’ पीडित रिनाले भनिन्,‘नत्र परिणाम राम्रो हुँदैन भनेर धम्की आएको छ ।

घटनाको केहीदिनपछि रिनाले आफूमाथि भएको ज्यादतीको विवरण आमालाई सुनाइन् । तर, उनको पीडामा आमाले समेत साथ दिइनन् । जन्मदिन आमाले समेत रिनाको पीडा नसुनिदिएपछि उनले न्यायको ढोका ढक्ढक्याउन प्रहरीसम्म पुग्ने निधो गरिन् ।

तर, महानगरिय प्रहरी परिसर ललितपुरले उनको जाहेरी लिन मानेन । प्रहरीले उनको बयान त लियो तर, कागजमा उतार्दा उनले भनेको भन्दा उल्टो लेखियो । त्यसपछि रिनाले प्रहरीले तयार पारेको रिपोर्टमा हस्ताक्षर गर्न मानिन् । ‘मैलै प्रमाणको रुपमा लागेका चोट, च्यातिएका कपडाहरु, भ्वाइस रेकर्ड सबै सुनाँउदा पनि प्रहरीले सामान्य झगडा भनेर लखेको थियो,’ रिनाले भनिन्,‘जबरजस्ती करणी प्रयास जस्तो गन्भिर अपराधमा प्रहरीले उदासिनता देखायो । सामान्य रुपमा लियो । त्यसैले मैले प्रहरीले लेखेको बयानमा हस्ताक्षर गरिन । मलाई लागेको थियो प्रहरीले अन्यायमा परेकालाई न्याय दिलाउन पहल गर्छ । तर, मैले गलत सोचेको रहेछु । प्रहरीले त मलाई काल्पनिक कथा सुनाएको जस्तो गरि ममाथि भएको त्यति ठूलो ज्यादतीलाई मजाक बनाइदियो ।’

प्रहरीबाट सहयोग नपाएपछि उनी महिला आयोगको ढोकामा पुगिन् । तर, आयोगले पनि आश्वासन दिएर मात्रै पठायो । त्यसपछि रिनाले सरकारी वकिलको कार्यालयसम्म पुगिन । तर, जाहेरी लेख्नेले जबरजस्ती करणीको घटनालाई अभद्र व्यावहारमा परिणत गरिदिएको कागजातमा देख्न सकिन्छ ।

 

सम्बन्धित खबर