धनुषामा दुई परिवारबीच विवादः एक जनाको हत्या, चारजना घाइते

दियोपोस्ट संवाददाता

धनुषा । धनुषामा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । दुई परिवारको विवादका कारण एकको हत्या र अन्य ४ जना घाइते भएका छन् । हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव रहेका छन् ।

बिहीबार राति साढे ८ बजेको समयमा स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको मृत्यु भएको उनका छोरा अशोक यादवले बताए । घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् । सन्तोष यादवको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुईवटा औंला काटिएका छन् । अन्य सामान्य घाइते छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुई समूहको विवादमा प्रभुको हत्या भएको हुनसक्ने जनाएको छ ।
करिब दुई महिना अघि सुरजका बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरुको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । गएरातिको आक्रमण सोही घटनासँग सम्बन्धित रहेको अनुमान छ ।

सम्बन्धित खबर

सिफारिस