यी हुन् ७० वर्ष कटेका नवनिर्वाचित १४ सांसद्, कसको उमेर कति ?

दियो पोस्ट  

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक भईसकेको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

सार्वजनिक भएको मतपरिणाम अनुसार यो पटकको निर्वाचनमा १४ जना ७० वर्ष पुरा भएका उम्मेदवारहरु समेत निर्वाचित भएका छन् । ७० वर्ष माथिको उमेर समूहमा प्रधानमन्त्री स्वयम् छन् । निर्वाचन आयोगका अनुसार ७० वर्ष पुरा गर्नेमा नेपाली काँग्रेसबाट ५ जना, एमालेबाट २ जना, माओवादीबाट १ जना, जसपाबाट १ जना, राप्रपाबाट २ जना, लोसपाबाट २ जना र जनमोर्चाबाट १ जना गरी जम्मा १४ जना सांसदहरु ७० वर्ष पार गर्नेमा छन् ।

कसको उमेर कति ?

७० वर्ष माथिको उमेर समूहमा कांग्रेसका डडेल्धुराबाट प्रधानमन्त्री एवं सभापति ७७ वर्षीय शेरबहादुर देउवा, तनहुँ–१ बाट ७८ वर्षीय रामचन्द्र पौडेल, नुवाकोट–२ बाट ७५ वर्षीय अर्जुननरसिंह केसी, उदयपुर–१ बाट ७३ वर्षीय डा नारायण खड्का, मोरङ–६ बाट ७२ वर्षीय डा शेखर कोइराला छन् । एमालेका झापा–५ बाट ७० वर्षीय केपी शर्मा ओली र कपिलवस्तु–३ बाट ७७ वर्षीय मङ्गलप्रसाद गुप्ता निर्वाचित भएका छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) का सर्लाही–२ बाट ८५ वर्षीय महिन्द्र राय यादव निर्वाचित भएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका ७३ वर्षीय नवलकिशोर साह सुडी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपन्देही–३ बाट ७१ वर्षीय दीपक बोहरा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट ध्रुवबहादुर प्रधान ७० वर्षभन्दा माथिको उमेर समूहका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महोत्तरी–३ बाट ८० वर्षीय महन्थ ठाकुर र रुपन्देही–४ बाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला तथा राष्ट्रिय जनमोर्चाका बागलुङ–१ बाट ८० वर्षीय चित्रबहादुर केसी यस उमेर समूहका छन् ।