काठमाडौं । चुनाव सकिएपछि पहिलोपल्ट बसेको सत्ता गठबन्धनको आज सोमबारको बैठकमा महाकालीमा हिजो आइतबार घटेको घटनाले पनि प्रवेश पायो । त्यो उनीहरुले निकालेको वक्तव्यमा उल्लेख छैन । महाकाली नदीको बहावलाई नेपालतर्फ धकेलेर भारतले जबर्जस्ती संरचना बनाउँदा नेपाल सरकार प्रतिक्रियाविहीन बसेको भन्दै सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीका नेताहरुले आवाज उठाएका थिए । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्यसमा समर्थन गरे । ‘सरकारलाई थाहा छ, यतिबेला महाकालीमा के भइरहेको छ ? त्यहाँ भारतको पक्षबाट ढुंगा हानिएको छ । नेपालीहरु घाइते भएका छन् । यसबारे के तयारी हुँदैछ ?’ नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बैठकमा आवाज उठाए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले त्यसमा सहमति जनाउँदै तुरुन्तै नेपालका तर्फबाट आफ्नो धारणा दिन सरकारसमक्ष आग्रह गरे । ‘विगत एक वर्षमै किन पटक–पटक यस्तो घटना भइरहेको छ भन्नेबारे नेपालले कडा कुरा राख्नुप¥यो,’ बैठकका एक सहभागीले कुरा राखे । प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे आफूले भारतसँग कुरा गर्छु भनेर आश्वासन दिएको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।