मंसिर २४ गतेसम्म समानूपातिक सूची पठाउन राजनीतिक दलहरुलाई आयोगले गर्याे पत्राचार

दियो पोस्ट  

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरुको नामावली पठाउँन दलहरुलाई पत्राचार गरेको छ । बिहीबार आयोगले समानुपातिक तर्फबाट उम्मेदवार निर्वाचित गराउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरेको हो । राजनीतिक दलको केन्द्रीय समिति वा सो सरहको समितिले बन्दसूचीबाट उम्मेदवारको नाम सिफारिस गरेर पठाउन पत्राचार गरिएको आयोगले जनाएको छ । दलहरूले यही मंसिर २४ गतेसम्म आयोगले मागे अनुसारको विवरण पठाउनुपर्नेछ ।
दलहरूले आफूले पाएको समानुपातिक सिटमा विभिन्न समानुपातिक समावेशी क्लष्टरबाट प्रतिनिधित्व हुनेगरी उम्मेदवार छानेर आयोगमा पठाउनुपर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

राजनीतिक दलहरूले महिला, आदिवासी जनजाति, खसआर्य, थारू, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनेगरी यसअघि आयोगमा बुझाएको बन्दसूचीबाट छनौट गर्नुपर्ने हुन्छ ।