हिन्दु राष्ट्र बनाउने एजेण्डा बोकेको ‘राप्रपा’बाट क्रिश्चियन सांसद् !

दियो पोस्ट  

काठमाडौं । धर्म निरपेक्षतालाई खारेज गर्दै नेपाललाई हिन्दु राष्ट्र बनाउने एजेण्डा सहित निर्वाचनमा होमिएको दल हो राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) । राजेन्द्र लिङ्देन नेतृत्वको सो पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने प्रण गर्दै गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा होमिएको हो ।

नेपालमा राजतन्त्र फर्काउने र हिन्दुराष्ट्र बनाउने एजेण्डा बोकेको राप्रपाले प्रत्यक्ष तर्फ ७ सिट र समानुपातिक तर्फ ७ गरी कुल १४ सिट सहित प्रतिनिधि सभामा उपस्थिती देखाएको छ । धर्मनिरपेक्षता खारेज र हिन्दुराष्ट्र बनाउने एजेण्डा बोकेको दलले इसाई समुदायका व्यक्तिलाई समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन गरेको छ । धादिङ जिल्लाको रुविभ्याली गाउँपालिकाका पुर्वउपाध्यक्ष समेत रहेकी विना लामा इसाई समुदायकी हुन् । तिनै बिना लामालाई राप्रपाले समानुपातिक तर्फबाट मनोनयन गरेको हो ।

कलाकार तथा मोडल समेत रहेकी बिनाले आफ्नो सामाजिक सञ्जालमा ईसाई धर्मसम्बन्धि सामग्रीहरु समेत सार्वजनिक गरेकी छिन् । त्यतिमात्रै नभई उनी इसाई धर्मद्वारा सञ्चालित ‘रिजिजियस युथ सर्भिस नामक सस्थामा समेत आवद्ध रहेको खुलेको छ । बिनालाई समानुपातिक तर्फबाट सांसदमा मनोनयन गरेसँगै राप्रपाको कार्यकर्तामा असन्तुष्टि देखिएको छ ।

समाचारको विषयमा उनको धारणा लिन खोज्दा उनले बोल्न चाहिनन् । पहिलो पटक सम्पर्क गर्दा उनले आफु खाना खान लागेको भन्दै १५ मिनेटमा सम्पर्क गर्न भनेकी थिइन् । १५ मिनेटपछि पटक पटक सम्पर्क गर्दा उनले फोन उठाइनन् । फोन नउठेपछि उनलाई सन्देश मार्फत प्रतिक्रिया लिने कोशिस गरेका थियौँ तर, उनी सम्पर्कमा आउनुको सट्टा मोबाइल नै स्विच्ड अफ गरेर सम्पर्क विहिन भइन् ।
यद्यपि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने हिन्दु राष्ट्र बनाउन लागि पर्ने जुनकुनै धर्मका व्यक्ति सांसद बन्न सक्ने बताएका छन् । दियोपोस्टसँगको टेलिफोन सम्पर्कमा उनले भने,‘हाम्रो पार्टीमा जो कोहीले पनि सांसद बन्न सक्छ अनि जो कोहीले पनि पार्टी सदस्यता लिन सक्छ ।’ हिन्दु राष्ट्रको एजेण्डा बोकेको दलमा इसाई धर्मको सांसद अलि सुहाउँदो भएन होला नि ? दियोपोस्टको प्रश्नमा उनले भने,‘धर्मसँग सरोकारको विषय होइन यो । पार्टीको एजेण्डामा आस्था राख्ने इसाई, मुस्लिम जो कोही पनि सांसद बन्न सक्छन् ।’

तर, राप्रपा निकट केही धार्मिक संगठन भने नेपालका चर्च भत्काउनुपर्ने, बाइबल वितरण रोक्नुपर्ने लगायत कटठ्रपन्थी माग राख्दै आएको छ । यस्तोमा बाइबलकै प्रचार प्रसारमा रहेकी लामाको हिन्दुवादी पार्टीबाट समानुपाकि सांसद यात्रालाई संसयको दृष्टिले हेरिएको छ ।