‘राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि सकिदैन’

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने सोच भन्दा बाहिर भएको बताएका छन् । संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको स्पष्ट पारे । उनले राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदल भित्र कहीँकतै पनि कुरा नउठेको पटक–पटक दोहोर्‍याए ।

‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन । पार्टीमा पनि कुरा उठेको छैन । पाँच दलीय गठबन्धनमा पनि सो कुरा कतैबाट उठेको छैन । तर पनि हिजोबाट कतिपय मिडियाहरुमार्फत् यो कुरा सुनिराखिएको छ, आइराखेको छ,’ उनले भने, ‘अब सुनेकै कुरा ठिक हो भने यो सोच, यो भिजन अहिलेको सिष्टम अनुकूलको भिजन होइन, दृष्टिकोण होइन । किनभने अहिलेसम्मको विकासको यात्राले के चाँही आत्मासातीकरण गर्दै आएको हो भने अव मुलुकको अगुवा दलहरुले गर्नुपर्छ ।’ मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङको भनाई थियो ।