लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’ले गर्ने

दियो पोस्ट  

काठमाडौं । पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरु हुने ‘१० औं नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने भएको छ । फेस्टिबलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५ औं
स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ । योञ्जनका गीतहरुको सँगालो गोपालय’ पनि सोही अवसरमा विमोचन गरिनेछ । स्व. योञ्जनले पोखरामै लामो समयसम्म लोकसंगीतको अनुसन्धान र लेखनमा बिताएका थिए । वि.सं २००० मा जन्मिएका गोपाल योञ्जन नेपालका लोकप्रिय र प्रतिभाशाली संगीतकार हुन् । उनले सृजना गरेका गीतहरू सदाबहार थिए, जसले अझै पनि नेपाली संगीतको प्रतिनिधित्व गर्दछन्। लोकगीत, राष्ट्रिय गीत, आधुनिक गीत, भजन, फ्यूजन, बालगीत, चलचित्र गीत, खेल गीत लगायतका विभिन्न विधामा संगीत सृजना गरेका उनले संगीताञ्जली’ र गीतमञ्जरी’ नामका दुईवटा पुस्तक पनि लेखेका छन् भने करिब एक दर्जन चलचित्रमा संगीत गरेका छन् । ‘सुप्रबल गोर्खा दक्षिण बाहू’, ‘छिन्नलता गीत पुरस्कार’ लगायतबाट सम्मानित योञ्जनको जण्डिसको उपचारका क्रममा २०५३ साल जेठ ७ गते दिल्लीमा निधन भएको थियो ।

लिटरेचर फेस्टिभलको आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपालीहरुको पहिचानको रुपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभलअन्तर्गतका सांगीतिक कार्यक्रमहरुसँग जोड्न पाउँदा आफूहरु लाई पनि खुशी लागेको बताएका छन् । उनका अनुसार यसपटकको फेस्टिभलको नारा ‘शब्दशक्ति उत्सवको एक दशक’ रहेको छ । पुस ११ गतेसम्म चल्ने शब्दहरुको उत्सवमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विमर्श हुनेछन् । फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह– प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवम्फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तिहरुको सहभागी हुनेछ । नेपालका राजनीतिक दलका नेतादेखि सांगीतिक, कला, पत्रकारिता, लेखन तथा सामाजिक क्षेत्रमा चर्चित पात्रहरु समेत सहभागी हुनेछन्।