काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डको शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा हुनेछ।
सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दैछन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएकी थिइन्।
बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो नेतृत्वको भद्र सहमति भएको छ।
सात दलको उपस्थितिमा उनीहरूबीच अढाई-अढाई वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको हो।