बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए । निवासमै भएका बेला काठमाडौंबाट आएको टोलीले नियन्त्रणमा लिएर राखेको छ । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीको भनाइ छ । व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको स्रोतको दाबी छ ।
उनी स्थानीय निर्वाचनअघि गृहमन्त्री बालकृष्ण खाणको योजनामा बुटवल आएका थिए । स्थानीय निर्वाचनको समयमा तिलोत्तमामा जनप्रतिनिधिलाई पानीमा चोबलेर विवादमा आएका उनलाई गृहमन्त्रीकै दबाबमा छुट दिइएको आरोप लाग्दै आएको थियो ।