काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान सपरिवारसहित देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् । बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित घरमा भाडामा बस्न देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । १० पुसमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए । आकस्मिक रुपमा गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस प्रतिपक्षी बनेको छ । आइतबार एमालेसहितका सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए ।