सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई कारबाही गर्न अख्तियारको निर्देशन

दियो पोस्ट  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक आर्थिक वर्षको वित्तीय विवरण नै पारित नगरी मर्जर सम्पन्न गरी एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गर्न लिखित निर्देशन दिएको छ ।

आयोगमा परेको एक उजुरी अध्ययन गर्दा साबिक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७८/०७९ को लेखा परीक्षण र वित्तीय विवरण नै तयार नगरी यही पुस ७ गतेबाट एकीकृत कारोबार गरेकोले कारबाही गर्न नेपाल बीमा प्राधिकरणलाई लिखित पत्राचार गरेको हो । अब सो सम्बन्धमा नियामक निकाय बीमा प्राधिकरण आफैँले कानुनबमोजिम कारबाही गर्नुपर्ने भएको छ । के कारबाही गर्ने भन्ने विषयमा भने अन्योल सिर्जना भएको बीमा प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।

नेपाल बीमा प्राधिकरणका एक अधिकारीले सूर्यज्योति लाइफलाई आवश्यक प्रक्रिया पूरा नगरी मर्जरमा गई एकीकृत कारोबार सुरु गरेको सम्बन्धमा कारबाही गर्न निर्देशन दिएको बताएका छन् । बीमा प्राधिकरण स्रोतका अनुसार के कस्तो कारबाही गर्ने भन्ने सम्बन्धमा छलफलपश्चात् निर्णय हुनेछ ।

मर्जर प्रक्रियामा रहेका ज्योति लाइफ र सूर्या लाइफले एक आर्थिक वर्षको लेखा परीक्षण नै नगरी एकीकृत कारोबार सुरु गरेका थिए । सूर्या लाइफ र ज्योति लाइफ दुवै कम्पनीले आव २०७७/०७८ सम्मको मात्रै वार्षिक वित्तीय विवरण पारित गराई मर्जरमा गएका हुन् । दुवैको आव २०७८।०७९ को लेखा परीक्षण गरिएको छैन । उक्त आवको लेखा परीक्षण अब नयाँ बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले पारित गर्ने बताइएको छ । तर, जुन कम्पनी हो सोही कम्पनीका सञ्चालकहरु सम्मिलित वार्षिक साधारणसभाबाट मात्रै वित्तीय विवरण पारित गर्नुपर्ने विद्यमान कानुनी व्यवस्था छ ।

मंसिर २८ गते अख्तियारमा दर्ता भएको सी ०२९७२७ नम्बरको उजुरीमा सूर्या लाइफ र ज्योति लाइफले धितोपत्र बोर्डको नियमविपरीत तथा वित्तीय मूल्य मान्यताविपरीत आव २०७८/०७९ को लेखा परीक्षण समेत नगराई, वित्तीय विवरण नै तयार नगरी तथा बीमांकीय मूल्यांकन समेत नगरी मर्जरमा जान लागेको भन्दै उजुरी परेको थियो ।