काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । पोखरामा भएको एक सभालाई सम्बोधन गरिरहँदा उनीमाथि खोया प्रहार भएको हो ।
सभापति लामिछानेमाथि खोया प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा लमजुङका २८ वर्षीय सन्तोष रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लमजुङको राइनास नगरपालिका– ८ घर भएका रानाभाट पोखरा बस्दै आएका छन्। केही समय अघिसम्म अटो चलाउने रानाभाट अहिले ड्राइभिङ पेशामा आबद्ध भएको प्रहरीले बताएका छन्।
उनले रवि लामिछानेलाई लक्ष्य गर्दै खोया आक्रमण गरेको आरोप अस्वीकार गरेको कास्की प्रहरी प्रमुख डिएसपी मोहन थापाले बताए।
‘हामीले सोधपुछ गर्दा उहाँ (रानाभाट) ले मकैको खोयाले प्रहार गरेको होइन, बसेको ठाउँबाट उछिट्टिएको भनेका छन्,’ थापाले भने, ‘परिचालित हो कि होइन भनेर छानबिन गर्न नियन्त्रणमा लिएका हौं।’
लामिछानेले भने आफूलाई मकैको खोयाले आक्रमण गरे पनि रानाभाटलाई कुनै कारबाही नगर्न प्रहरीलाई आग्रह गरेका छन्।
स्टेजमा मन्तव्य राखिरहेका बेला मकैको खोया मगाएर देखाउँदै लामिछानेले आफू जनताको ढुङ्गा, खोया, गाली, ताली सबै सहन तयार भएर नै राजनीतिमा आएकाले कारबाही नगर्न उनले आग्रह गरेका हुन्। तर लामिछानेमाथि खोया फाल्ने युवकलाई कार्यकर्ताले आक्रमण गरेका थिए ।