घट्यो सेयर बजार, पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

दियोपोस्ट संवाददाता  

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । आज परिसूचक ९.९९ अंकले घटेर दुई हजार ७३८.०६ को विन्दुमा कायम भएको हो ।

आज ३१४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर ८२ हजार ६०२ पटक खरिद–बिक्री हुँदा आठ अर्ब ८३ करोड २२ लाख २५ हजार ८९२ बराबरको कारोबार भएको छ ।

व्यापार समूह ९.०७, विकास बैंक समूह ४.५२ र होटेल तथा पर्यटन समूह ०.३० प्रतिशतले बढेका छन् भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह २.९६ प्रतिशतले घटेको छ ।

बैंकिङ १.४७, जलविद्युत् १.१४, लगानी १.१५, जीवन बिमा १.३५, उत्पादन तथा प्रशोधन ०.५७, लघुवित्त ०.९२, म्युचुअल फन्ड ०.२३, निर्जीवन बिमा ०.१ र अन्य समूह १.३५ प्रतिशतले घटेको छ ।

पाँचवटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।