काठमाडौं, ३ पुस । मासुजन्य व्यापारको उदेश्यले स्थापित भ्याली कोल्ड स्टोर प्रालि (भ्याली ग्रुप) अन्तर्गतको भ्याली एक्सप्रेसले पाँचौ शाखा त्रिभुवन विमानस्थल सिनामंगलमा खोलेको छ ।
विमानस्थलमा रहेको पार्किङ भवनमा भ्याली एक्सप्रेसको पाँचौ शाखा बुधबार खुलेको हो ।

२०४१ मा स्थापित भ्याली समुह ३१ वर्षपछि फाष्टफुडको व्यापारमा प्रवेश गर्दै २०७१ मा भ्याली एक्सप्रेसको ब्राण्डमा चितवनमा आफ्नो पहिलो शाखा खोलेको थियो ।

दोस्रो शाखा काठमाडौंको नयाँबजारमा खोलेर काठमाडौं उपत्यकामा प्रवेश गरेको समूहले काठमाडौंको बसन्तपुर र महाराजगन्जमा यस अगाडि नै शाखा विस्तार गरिसकेको छ । विस्तारै काठमाडौं बाहिर पनि भ्याली एक्सप्रेसको शाखा विस्तार गर्ने समुहले जनाएको छ ।
उद्योग स्थापनाकालमा उपभोक्तालाई सुपथ मुल्यमा स्वस्थ मासु उपलब्ध गराउने उदेश्यसँगै पौष्टिकजन्य तत्वको सहज उपलब्धतालाई समेत समूहले आफ्नो प्रमुख प्राथमिकतामा राखेको जानकारी समुहले दिएको छ । सहरीया जनतालाई गुणस्तरिय खाना खुवाउने लक्ष आफूहरुको रहेको समुहले जानकारी दियो ।

भ्याली ग्रुपमा अहिले भ्याली कोल्ड स्टोर प्रालि, भ्याली फिड ईण्डष्ट्री, भ्याली पोल्ट्री प्रालि, भ्याली पेलेट फिड प्रालि सञ्चालनमा छन् । पोल्ट्री व्यवसाय सम्बन्धी खोज र अनुसन्धान गरी आधुनिक, प्रविधिमैत्री र अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउन भ्याली रिसर्च फार्म स्थापना गरी सञ्चालनमा आइसकेको छ ।

भ्याली एक्सप्रेसमा सेवाग्राहीले अन्तराष्ट्रिय चेन रेस्टुरेन्टले उपयोग गरिरहेका खाद्य निर्माण प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका स्वादिष्ट परिकार उपभोग गर्न पाउनेछन् ।