गृहमन्त्रालयको निर्देशन विपरित बुढिगण्डकी किनारमा खुलमखुल्ला बालुवा तस्करी, प्रशासन मौन !

दियो पोस्ट  

धादिङ, २० मंसिर । गृहमन्त्रालयको निर्देशन अनुसार देशैभर नदिजन्य पदार्थ उत्खनन् तथा विक्री वितरणमा रोक लगाइएको छ । मापदण्ड विपरितमा क्रसर तथा बालुवा खानीहरुले मनोमानी रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्न थालेपछि गृहमन्त्री राम बहादुर थापा बादलको निर्देशनमा रोकिएको हो । तर धादिङका केही स्थानमा भने खुलमखुल्ला नदिजन्य पदार्थ उत्खनन् भइरहेको पाइएको छ ।


धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–१ बुट्टारमा रहेका केही बालुवा प्रसोधन केन्द्र तथा खानीहरुले मनोमानी रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको भएपनि जिल्ला प्रशासन कार्यालय मौन छ ।
गोरखा जोड्ने झोलुंगे पुल नजिकै रहेको खानीमा मनोमानी रुपमा बालुवा उत्खनन् भइरहेको जानकारी स्थानियबासीले दियोपोस्ट डटकमलाई उपलब्ध गराएका छन् । स्थानिय दुर्गादत्त उप्रेतिले सञ्चालन गरेको बालुवा प्रशोधन खानीले मनोमानी रुमा बुढिगण्डकीबाट नदिजन्य बालुवा उत्खनन् गरिरहेको पाइएको हो ।

बुढिगण्डकी जलविद्युत आयोजनाबाट मुआब्जा तिरेर आयोजना निर्माण थालेको यो क्षेत्रमा गैरकानुनी रुपमा उप्रेतिले उद्योग सञ्चालन गरेका हुन् । स्रोतका अनुसार त्रिपुरा सुन्दरी गाउँपालिककै उच्च अधिकारीको मिलेमतोमा खुलमखुल्ला बालुवा उत्खनन् भइरहेको छ ।
यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले खानीका सञ्चालक दुर्गादत्त उप्रेतिलाई सम्पर्क गरेको थियो । खानी सञ्चालक उप्रेतिले तिहार अघि नै संकलन गरिराखेको बालुवा बेचेको दाबी गरे । ‘दिनमा दुई चार टिप मात्रै हो । त्यो पनि तिहार अघिकै सामाग्री हो,’ उप्रेतिले भने,‘गाउँपालिका अध्यक्ष शम्भु थापाले उद्योग सञ्चालन गर्नुस् भन्नु भएको छ । तर प्रहरीले नचलानुस् भनेका कारण हामीले चलाएको छैन ।’


उनका अनुसार गाउँपालिकाले नै स्वीकृति दिएर खानी तथा उद्योग सञ्चालन भएको हो । ‘मैले ३० हजार रुपैयाँ राजश्व तिरेर फिरफिरे सञ्चालनको अनुमति गाउँपालिकाबाट लिएको हुँ । अहिले चलाएको छैन । तर, गाउँपालिकाले चलाउनुस् भनिरहेको छ । प्रहरीले चलाउन दिएको छैन । हामीलाई सहयोग गर्नुस्,’ उनले भने ।

TATA ADD