सिराहाका सकलदेवको नक्कली काम : एउटै नागरिकतामा चार वटा जन्ममिति राखेर जागिर !

दियो पोस्ट  

सिराहा, २४ मंसिर । सिराहाको चन्द्र नमुना मावि (प्राविधिक) का एक शिक्षकले फरक–फरक जन्ममितिका ४ वटा नागरिकता बनाएर उमेर हदभन्दा बढी समय शिक्षको जागिर खाएको पाइएको छ ।
यहि प्रकरणले उनलाई जागिरबाट समेत हात धुनुपरेको छ ।


शिक्षा विकास तथा समन्वय ईकाइ सिराहाले मंगलबारको निर्णयअनुसार निमाशि (द्वितीय) दरबन्दीका शिक्षक सकलदेव यादवलाई १७ असोज २०७६ देखि लागू हुने गरी अनिवार्य अवकाश दिइएकोे छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाबाट यादवको नागरिकताको प्रमाणित प्रतिलिपि झिकाएर छानबिन गर्दा उमेर हद १४ महिना ६ दिन बढी भेटिएपछि अनिवार्य अवकाश दिइएको हो ।

जिप्रका सिराहाबाट विभिन्न मितिमा फरक–फरक जन्ममिति तर, एउटै ५७९५ नम्बरका ४ वटा नागरिकता झिकेर उमेर हदभन्दा बढी शिक्षण गरी राज्य कोषको दोहन गरिरहेको उजुरी परेलगत्तै छानिबन गर्दा आरोपको पुष्टि भएको थियो ।
उनका अनुसार यादवले जिल्ला प्रशासन कार्यालय सिरहाबाट झिकेको ४ वटा नागरिकतामध्ये २ वटा ईकाइले फेला पारेको छ । अवधि लगाएर जागिर खाँदै राज्य कोषको दोहन गरेको आरोपसहित ११ मंसिरमा उजुरी परेको थियो । इकाइले १८ मंसिरमा यादवलाई सक्कल नागरिकता पेस गर्न पत्राचार गरेको थियो ।

आफ्नै जन्म मिति सच्याएर तलब सुविधा खाइरहेका यादवले ईकाइमा सक्कल नागरिकता नबुझाएपछि जिल्ला प्रशासन कार्यालय सिराहा मार्फत झिकाइएको नागरिकताको प्रमाणित प्रतिलिपिमा जन्म मिति १७ असोज २०१६ रहेको भेटिएको थियो । उक्त प्रतिलिपिअनुसार शिक्षा नियमावली, २०५९ (संशोधनसहित)को नियम १३१ को उपनियम १ बमोजिम ६० वर्ष पूरा भएपछि अनिवार्य अवकाश दिने व्यवस्थाअनुसार १७ असोज २०७६ देखि लागू हुने गरी २३ मंसिरमा अनिवार्य अवकाश दिइएको हो ।

TATA ADD