मिक्लाजुङ, मोरङ — विराटनगरबाट ८६ किलोमिटर उत्तर–पूर्वको नुनसरी बक्राहा घाटमा बिहीबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिँदा गाउँले भावविह्वल देखिन्थे । बस्तीभन्दा ७ घण्टा पैदल तल आएर अन्त्येष्टिमा सहभागी भएकाहरूले श्रेष्ठलाई दागबत्ती दिनुअघि घाँटी रेटिएको, टाउकामा चोट र जीउमा नीलडाम भएको शव हेर्नसमेत सकिरहेका थिएनन् । गाउँका अगुवाको असामयिक अवसानको जति चिन्ता थियो, अब गाउँमा बस्न गाह्रो हुने हो कि भन्ने भय पनि त्यति नै देखिन्थ्यो ।
शुक्रबार प्रकाशित कान्तिपुर दैनिकले लेखेको छ,– चन्द समूहद्वारा हत्या गरिएका प्रधानाध्यापक राजेन्द्रकमार श्रेष्ठका शोकाकुल पत्नी धनकुमारी र छोरा छत्रबहादुर बिहीबार दाहसंस्कारका क्रममा उत्तरी मोरङको बक्राहा–नुनसरी घाटमा ।तस्बिर : विनोद भण्डारी/कन्तिपुर
उत्तरी मोरङको मिक्लाजुङ–१ रमिते बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अपरिचितको समूहबाट मारिएका होइनन् । उनलाई लैजाने समूह घटनाअघि पनि घरमा तरकारी माग्न आइरहन्थ्यो । सशस्त्र द्वन्द्व भोगेको विकट बस्तीका बासिन्दालाई राजनीतिक आस्थाका कारण भूमिगत भएकाहरू अनौठा थिएनन् । गणतन्त्रपछि पनि गाउँसम्म बाटो आइपुगेको छैन । स्वास्थ्यचौकी र प्रहरी कार्यालय कोसौं टाढा छन् । सदरमुकाम पुग्नु परे दुई दिन खर्च हुन्छ । गाउँमा पूर्वाधार विकासका योजना नआएको असन्तुष्टिका कारण गाउँलेलाई भूमिगत भएकाहरूले हत्याको घटना नगराउँदासम्म ‘परिवर्तनकै लागि हिँडेका होलान्’ भन्ने लाग्थ्यो ।
अन्त्येष्टिमा सहभागी भएका एक छिमेकीका अनुसार श्रेष्ठलाई गत मंगलबार बिहान ७ बजे घरनजिकैको गोठबाट अपहरण गरिएको थियो । श्रेष्ठका दुईवटा गोठ छन् । बिहानै श्रेष्ठ एउटा गोठतिर लागे भने उनकी पत्नी धनकुमारी घरदेखि करिब एक किलोमिटर परको अर्को गोठतिर गएकी थिइन् । नेत्रविक्रम चन्द समूहका ६ जना कार्यकर्ता श्रेष्ठ भएको गोठमा पुगे । ६ मध्ये चार जनाले अनुहार छोपेका थिए । उनीहरूले श्रेष्ठलाई हात अगाडि बाँधेर घरदेखि उत्तरतर्फ हिँडाउँदै लगे । करिब ३० मिटर अगाडि छिमेकीको घर पुगेपछि श्रेष्ठले ‘मलाई त साथीहरूले लगे है माल्दाइ’ भने । त्यसपछि त्यहाँ दुई जना स्थानीय युवक निस्के । उनीहरूले अपहरणकारीको समूहलाई ‘हाम्रो सरलाई किन लगेको’ भनेर सोधे । उनीहरू ‘उहाँलाई सम्झाएर केहीबेरमै पठाइदिन्छौं’ भन्ने जवाफ दिँदै अगाडि बढे ।
‘त्यसअघि उनकी पत्नी धनकुमारी अर्को गोठतिर जाँदै गरेको देखेका थियौं,’ प्रत्यक्षदर्शी ती दुई युवकले बिहीबार कान्तिपुरसँग भने, ‘हामीले मेडमलाई तुरुन्त फोन गरेर सरलाई हात बाँधेर ६ जनाको समूहले लगेको बतायौँ र गाउँमा हल्ला गर्दै राजेन्द्र सरलाई लगेको बाटो पछ्याउँदै गयौं ।’ फोन गर्न र गाउँमा हल्ला गर्न १०/१२ मिनेटभन्दा बढी लागेको थिएन । श्रेष्ठलाई अघि लगाएर हिँडेको समूह आँखाबाट ओझेल भयो । ‘करिब एक किलोमिटर पर पुग्दा सरको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव देखियो । त्यस्तो देखेपछि गाउँका अरू व्यक्ति र प्रहरीलाई खबर गर्यौं,’ ती युवकले भने, ‘हामीले यस्तो होला भन्ने सोचेका थिएनौं । प्रतिकार गर्न पनि हामी दुई जना मात्रै थियौं । बस्ती नै पातलो छ । अरू दुईचार जना गाउँले भएका भए माल्दाइकै घर अगाडिबाट हामी सरलाई छुटाउन सक्थ्यौं ।’
घटनापछि शव उठाउन उर्लाबारीको मंगलबारे, टाँडी, जाँते हुँदै केही परसम्म ट््याक्टरमा र करिब डेढ किलोमिटर हिँडेर प्रहरी घटनास्थल पुगेको थियो । बस्तीसम्म मोटरबाटो नजोडिएकाले अघिपछि प्रहरीको गस्तीले बिरलै मात्र बर्खे गाउँ टेकेको थियो । अपहरणमा संलग्नमध्ये मुख नछोपेका दुई जना श्रेष्ठको घरमा पटकपटक आएका थिए । तरकारी मागेर लैजान्थे । ‘उनीहरूले आफ्नो नाम कहिल्यै पनि बताएनन्,’ पतिवियोगमा रहेकी धनकुमारीले भनिन्, ‘उनीहरू अघिल्लो दिन पाहुना आउँदै छन्, खसी चाहिएको छ भन्दै खसी किन्ने निहुँमा आएका थिए । आज खसी चरनमा गइसके, भोलि लैजानु भनेपछि फर्किएका थिए ।’
आइतबार साँझ पनि आफू घरनजिकको गोठमा पुग्दा खस्याकखुसुक आवाज आएको र लाइट बालेर हेर्दा ‘हामी हौं, किन लाइट बालेको’ भन्दै कराएपछि डरले घर फर्केको उनले बताइन् । त्यसदिन राजेन्द्रकुमार घरमा थिएनन् । ‘हामीले कसैको केही बिगार गरेका थिएनौँ,’ उनले भनिन्, ‘प्रायः घरमा आइरहने र सागसब्जी मागिरहने उनीहरूबाट यस्तो अपराध हुन्छ भन्ने कल्पना पनि गरेका थिएनौँ ।’
स्थानीयका अनुसार चन्दका कार्यकर्ता राजेन्द्र्रकुमारसहित बर्खेका हरेक घरमा तरकारी लिन बारम्बार आउँथे । थोरै दिँदा कराउँथे । राजेन्द्रसँग गत असारमा १० हजार रुपैयाँ चन्दा पनि मागेका थिए । उनले ५ हजार दिएका थिए तर उनीहरूले नलगेको स्थानीयको भनाइ छ ।
राजेन्द्रकुमार शिक्षण पेसासँगै सब्जी खेती र बाख्रापालन गर्थे । उनी गाउँभरिमा नै देशदुनियाँका कुरा बुझेका मानिन्थे । गाउँमा पूर्वाधार विकासका काममा उनी अघि सर्थे । गाउँमा सबैका सहयोगी रहेको छिमेकी भवानीप्रसाद बराल बताउँछन् । ‘यहाँको विकट ठाउँमा कोही भारी बोकेर हिँड्दै छ र उसलाई समस्या परेको देख्दा उनी आफैं भारी बोकेर पुर्याइदिन्थे,’ बरालले भने, ‘उनको हत्याले गाउँ नै टुहुरो भएको छ ।’ राज्य र चन्द पक्षको दोहोरो चपेटामा परेर राजेन्द्रकुमारको ज्यान गएको त्यस क्षेत्रका प्रदेश सांसद तथा नेकपा प्रदेश सदस्य कुलप्रसाद लिम्बूको बुझाइ छ । गाउँकै टाठाबाठा भएका कारण सुरक्षाकर्मी पुग्दा पनि उनकै घरमा जान्थे । त्यसरी सुरक्षाकर्मी गएको देख्दा चन्दका कार्यकर्ताको नजर उनीमाथि परेर ज्यान गएको उनको दाबी छ । बिहीबारसम्म प्रहरीले घटनामा संलग्न कसैको पनि पहिचान गर्न सकेको छैन । चन्द समूहको गतिविधि बढ्दै गएको तर सुरक्षाकर्मीको उपस्थिति पटक्कै नभएको र यातायातका कुनै साधन नपुग्ने यो स्थानमा जनप्रतिनिधि र स्थानीयवासीले त्यहाँ सशस्त्र प्रहरीको बेस क्याम्प राख्न गृहमन्त्रीलाई आग्रह पनि गरेको थियो ।
सरकारले घटनाको निष्पक्ष छानबिन गरी राजेन्द्रलाई सहिद घोषणा गरेर परिवारलाई उचित राहत दिनुपर्ने उनका भाइ खगेन्द्र श्रेष्ठको माग छ । उनले भने, ‘राज्यसँग हामीले सुरक्षा माग्दा पाएनौँ । त्यसकै कारण दाजुको ज्यान गयो ।’
चन्द समूहको मेची कोसी ब्युरोले हत्याको दिन साँझ विज्ञप्ति जारी गर्दै आफ्नो संगठनका नाममा सुराकी गरेको भन्दै श्रेष्ठको हत्याको जिम्मेवारी लिएको थियो । ब्युरो इन्चार्ज प्रतापका नामबाट जारी विज्ञप्तिमा श्रेष्ठकै सुराकीमा २०७६ फागुन २६ गते बसेको ब्युरोको बैठकमा प्रहरीले हस्तक्षेप गरेको र उनकै सुराकीमा प्रहरीले गत कात्तिक १२ गते ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ ।