Exclusive कमानसिंहकी कान्छी श्रीमतीको खुलाशा, – ‘नारायणकाजी श्रेष्ठ निर्दोष हुनुहुन्छ’

दियो पोस्ट  

काठमाडौं, २६ मंसिर । नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ एउटा अडियो भिडियो प्रकरण बाहिरिएसँगै विवादमा आएका छन् । पूर्व राजदूत तथा नेकपाका केन्द्रीय सदस्य स्वर्गिय कमानसिंह लामाको परिवारले उनीसँग भएको एउटा हाइड्रोपावरको शेयर विक्रीको विषयमा मध्यस्तकर्ता गर्दै गरेको भिडियो सार्वजनिक गरिदिएपछि श्रेष्ठ विवादमा परेका हुन् ।

त्यसो त उनी आफ्नै स्वकिय सचिव सुशन कर्माचार्यका कारण पटक पटक विवादमा आउने गरेका छन् । सिन्धुपाल्चोकमा रहेको याम्लिङ हाइड्रापावरमा सुशान कर्माचार्यले खरिद गरेको शेयर प्रकरणले यतिबेला फेरि श्रेष्ठलाई विवादको भूमरीमा फसाएको छ । यो प्रकरणमा जोडिएका चार पात्रहरु कामनसिंह लामा, नारायणकाजी श्रेष्ठ, सुशान कर्माचार्य र कमानसिंहकी कान्छी श्रीमती ईन्द्र माया तामाङ यतिबेला चर्चाको पर्दामा देखिएका छन् । प्रमुख पात्र मध्ये कमानसिंहको मृत्यु भइसकेको छ । यो प्रकरणमा प्रमुख भूमिकामा रहेकी कमानसिंहकी कान्छी श्रीमती ईन्द्रमाया तामाङले घटनालाई ट्वीस्ट गर्ने बयान दिएकी छिन् ।

सुशान कर्माचार्यको नाममा साढे २ करोड रुपैयाँको शेयर खरिदमा मध्यस्तकर्ताको भूमिकामा देखिएका नारायणकाजी श्रेष्ठको कुनै भूमिका नभएको र उनले उल्टै मिलाउने कोशिष गरेको लामाकी कान्छी श्रीमती ईन्द्रमाया लामाको दाबी छ । ‘उहाँ पुरै निर्दोष हुनुहुन्छ । उहाँले त हाम्रो व्याबहार मिलाउने कोशिष गर्नुभएको हो । उहाँमाथि गलत आक्षेप लगाइएको छ । त्यो सबै गलत छ,’ उनले दियोपोस्टसँग भनिन् ।


प्रस्तुत छ ईन्द्रमायाले दियोपोस्टलाई दिएको टेलिफोन वार्ताको सम्पादित अंश :

म कोरोना भईरस संक्रमणका कारण क्वारेन्टाइनमा छु । धेरै बोल्न सक्दिन । खोकीले च्यापी हाल्छ । मलाई निकै गाह्रो भएको छ । अहिले जतिपनि आरोप लागेको छ ती सबै आरोप मिथ्या हुन् । व्यापारको कुरालाई लिएर यी कुराहरु बाहिर आएको हो ।


दशैंदेखि नै म मेरो माइती रामेछापमै थिएँ । महामारीमा केही काम पनि थिएन । किन यहाँ बसिरहनु भनेर गाउँमै थिएँ । श्रीमानलाई अलि गाह्रो भयो भन्ने बित्तिकै म दौडिएर रामेछापदेखि काठमाडौं आएँ । उहाँलाई भेट्न अस्पताल गएँ । तर, उहाँले पैसा लिएर आउने भए मात्रै आइज नत्र मेरो मुख पनि नहेर् भनेपछि मैले पैसा कहाँबाट ल्याउने ? नत्र बस्दै नबस भनेपछि म बस्न सकिनँ ।


सिन्धुपाल्चोकमा रहेको ७.२७ मेगावाट क्षमताको याम्लिङ हाइड्रोपावरमा हाम्रो लगानी हो । सोही विषय अहिले चर्चामा छ । मैले त्यो हाइड्रोपावरमा सबैसँग हात थापेर लगानी गरेको हुँ । उहाँ आफैले जबरजस्ती जिम्मा दिनु भएको हो । जबरजस्ती लाद्नु भएको हो । हाम्रो हाइड्रोपावरको बागमती अपार्टमेन्टमै अफिस छ । नारायणकाजी श्रेष्ठकी स्वकिय सचिव सुशान कर्माचार्य आफैले शेयर लिएको होइन । दुई वर्षअघि यो हाइड्रोपावरको शेयर लिइदेउ भनेर मेरो श्रीमान आफैले अनुरोध गरेको हो । सुशानले ‘दाईसँग काम गर्न म सक्दिनँ’ भनेर बारम्बार जवाफ दिएकी थिइन् ।

म र श्रीमान गएर विहानदेखि हात जोडेर सुशानलाई शेयर लिइदिनुस् भनेको हो । यदि सुशान कर्माचार्यले शेयर नलिएको भए त्यो हाइड्रोपावरको लाईसेन्स खोसिनेवाला थियो । त्यो बचाउनकै लागि हामीले शेयर जबरजस्ती दिएका हौँ । उहाँ मरेर जानुभयो । मलाई अरुकुरा केहीले दुख लागेको छैन । उहाँ मरेर गएपनि मलाई छाड्नुभएन । मलाई यतिकुराले दुख लागेको छ । मसँगै रहेर श्रीमान बित्नु भयो । मैले वर्षौंदेखि बचाउँदै ल्याएँ (धुरुधरु रुँदै) । जब मैले छोडेको ५ महिना पुगेको छैन उहाँ वित्नुभयो । मलाई कति पिडा भएको होला । मेरो पीडा कसले बुझ्ने ? तर मिडियामा यति धेरै कुरा आएको छ । ती सबैको उचित समयमा म उत्तर दिनेछु । मैले कुनै गल्ती गरेको छैन ।


उहाँको ४ छोरी र एक छोरा थिए । एउटा छोराछोरी बनाउनुपर्छ भन्दा पनि मैले उहाँकै पहिलो श्रीमतीबाट जन्मिएको छोरा छोरीलाई आफ्नो ठानेर बसेँ । यो तपाईंको रगत हो नी भनेर सन्तान जन्माउन समेत अस्वीकार गरेर बसेँ । मैले छोरी र बुहारीलाई यतिबेला खाना, औषधी भनेर सबै जिम्मा लगाएर गएको थिएँ । म यहाँ बस्यो भने झनै बिग्रने भयो । म बाहिर सबै चिज मिलाएर आउँछु भनेर १५ दिनका लागि गएको थिएँ । अहिले यो अवस्था नभएको भए मान्छेले प्रहरी लगाउने स्थिति भइसक्थ्यो । उहाँले लिएको ऋण त्यति धेरै थियो । मैले मेरो आफ्नो कोही पनि मान्छेलाई बाँकी राखेको छैन पैसा माग्न । त्यो सबै मैले उहाँकै लागि मागेको थिएँ ।

तर, उहाँले म तिर्दैन त्यसले लिएको उसैले तिर्छ भन्नुहुन्थ्यो रे ! उहाँले जीवनभर पैसाको मोह गर्नुभएन । तर, मर्नेबेला त्यही लिएर जानुभो । सुशानको नाममा गरिदिएको शेयरको ब्याजसहित पैसा फिर्ता लेऊ भनेर कसले दिन्छ ? त्योमाथि पनि उहाँले म र सुशानलाई जिल्ला अदालत काठमाडौंमा लिखित बदर गरिपाउँ भनेर मुद्दा हालिदिनुभयो । त्यही शेयरमा मुद्दा पनि हाल्ने, शेयरको पैसा पनि देउ भन्ने कसरी हुन्छ ? त्यो पनि ब्याज सहित भन्ने । छानबीन हुँदै जाँदा सबैकुरा स्पष्ट होला । तर, म आज एउटा पिडामा छु ।

मेरो कारणले अरु मान्छेलाई पनि पीडा भयो । राष्ट्रिस्तरमा बेइज्जत भयो । नारायणकाजी श्रेष्ठ दाईको के दोष थियो ? मेरो श्रीमानले नै बारम्बार सुशानलाई शेयर लिइदिनुस् राम्रो हुन्छ भनेर भनेर लगाउनु भएको हो । उहाँले त्यो भिडियोमा पनि केही बोल्नु भए जस्तो लाग्दैन । मेरो श्रीमान, म र सुशान सबै आफ्नै परिवारको मान्छे भन्नु भएको छ नी ।


यो सबै शेयर खरिददेखि हाइड्रोपावरमा नारायणकाजी श्रेष्ठको कुनै समलग्नता छैन । पार्टी भित्र हामी पहिलेदेखि नै सहकार्य गरेका हिसाबले हामीले मान्ने नेतामा उहाँ पर्नुहुन्छ । मेरो श्रीमानलाई कोरियाको राजदूत पनि नारायणकाजी दाईले नै बनाउनु भएको हो । जतिबेला उहाँ परराष्ट्र मन्त्री हुनुहन्थ्यो । अन्तरिम विधायक पनि नारायणकाजी दाइकै सिफारिसमा बन्नु भएको हो ।


हाइड्रोपावरमा हाम्रो ८ करोड रुपैयाँको शेयर लगानी हो । त्यो हाम्रो मात्रै होइन अन्य भाइहरु लगायतको हो । एकजना भाईको ३६ लाख रुपैयाँको छ । एक जना भाई बुहारी ३६ लाखको छ । त्यही क्षेत्रका दुई जना भाईहरुको ३६÷३६ लाखको छ । छोरीको नाममा ४० लाख, उहाँ (कमानसिंह) को नाममा ६० लाख र मेरो नाममा ५ करोड चानचुनको थियो । कोरियामा विनोद कुँवरसँग मेरो श्रीमानले ७२ लाख रुपैयाँ लिनुभएको रहेछ ।

उहाँलाई शेयर ट्रन्सफर भएको हो । मेरो नाममा रहेको साढे २ करोडको शेयर सुशानले किन्ने कुरा भएको हो । उहाँले मेरै मुख हेरेर शेयर किन्ने कुरा भएको हो । सुशानले म तपाईंको शेयर पैसा दिएर किन्दिनँ । अहिले तपाईंको नामको शेयर मेरो नाममा गर्दिनुँ । तपाईंकै जग्गा राखेर २ करोड निकालेर सबै कम्पनि क्लियर गरेर आउनुस् । अनि म साढे २ करोडको शेयर किन्छु । अहिले तपाईंकै जग्गा राखेर २ करोड निकालेर सबै कम्पनिको काम मिलाउनुस् । म पनि कुरा गर्दिन्छु ।

भोली फाइनान्सियल क्लोजर हुनेबेलामा तपाईंलाई बैंकले दिएको २ करोड रुपैयाँ ऋणमा परिवर्तन गरेर तपाईंको जग्गा फुकुवा गरिदिन्छु भन्नु भएको थियो । अनि त्यो साढे २ करोडको शेयर चाहीँ पछि फिर्ता गर्छु भनेको थियो । तर, क्लोजर गर्न ढिला भयो । मैले सबैसँग हात हातमा पैसा लिएर शेयर हालेको थिएँ । किनभने हाइड्रोपावर नै डुब्ने स्थिति भएको थियो । १०÷२० हजार रुपैयाँसम्म हात थापेर मैले चलाएको थिएँ ।

मैले सुशानको नाममा साढे २ करोड रुपैयाँको शेयर हस्तान्तरण गरिदिएँ । सुशानलाई डाइरेक्टर बनायौँ । उहाँलाइृ डाइरेक्टर बनाउन मेरो श्रीमानको पनि सहमति थियो । उहाँले हुन्छ तिमीहरु गर भन्नुभयो । म बोर्डमा थिएँ । त्यसकारण उहाँ (कमान सिंह) ६ महिना त चुपो लागेर बस्नुभयो । ६ महिनापछि मलाई श्रीमानले निकै टर्चर दिन थाल्नुभयो । रातदिन पिट्न पनि पछि पर्नुभएन । किन मलाई पिटेको भनेर प्रश्न गर्दा ‘तैँले केही काम गर्न सकेन’ भन्ने जवाफ आउँथ्यो । पोहोर साल म १ महिना बाहिर थिएँ । यता उहाँको गाडीले किस्ता तिर्न नसकेको भन्दै बैंकले नामै निकालेछ । म फर्किएर गएर सबै मिलाएँ ।


उहाँ कोरियाको राजदूतबाट फर्किएपछि हाम्रो केही स्रोत थिएन । कुन हालतमा थियौँ भन्नेकुरा हामीलाई मात्रै थाहा छ । महिनाको २० हजार रुपैयाँभन्दा बढी त उहाँलाई औषधी नै लाग्थ्यो । सुगर प्रेसर बढ्दै गएपछि उहाँ बेहोस हुनुहुथ्यो । उहाँलाई के हालतमा बचाएको छु भन्ने त मलाई मात्रै थाहा छ । आज मैले छोडेको ५ महिना नहुँदै बितेर जानुभयो । बाहिर मान्छेले भन्दैमा सबै कुरा सत्य हुँदैन । सत्य मलाई थाहा हुन्छ ।

उहाँ वितेर जानुभएपछि समलग्न नभएको नचाहिने मान्छे (नारायणकाजी श्रेष्ठ) लाई तानेको देख्दा मलाई एकदमै चित्त दुखेको छ । उहाँको कुनै समलग्नता नै छैन । उहाँले राष्ट्रिय स्तरमा उभिएर जवाफ दिनुपरेको होला । तर उहाँलाई यी सबै कुरा थाहा छैन ।

त्यो भिडियो छोरा बुहारीले नै दिएको होला जस्तो लाग्छ । तर, एकदमै नराम्रो भयो । म क्वारेन्टाइनमा छु । काजकिरिया पनि दाजु भाईले गरिरहनु भएको छ । म र उहाँको भाईलाई दाहसंस्कारमा समेत सहभागी नहुनु भन्नुभएको रहेछ । उहाँको भाई (ईमान लामा) आफ्नै आमाको छोरा हो । उहाँले व्यापार बिग्रियो भनेर दाईलाई सम्झाई बुझाई गर्नुभएको हो । एक दिन अफिसमा लिएर गएको बेला अफिसमै झगडा गर्नुभयो । ‘मलाई मतलब छैन । मेरो सबै चिज खायो । सबै चहियो भन्दै उहाँले झगडा गर्नुभयो ।

चोर डाँका भन्दै सबैलाई गाली गर्नुभयो । त्यसपछि त्यहाँका सबैजनाले हामी अब यो प्राजेक्ट नगर्ने भन्नुभएको थियो । काम सबै बन्द भयो । मैले सबै बिग्रियो काम बन्द भयो भनेर भाईलाई भनेको थिएँ । भाईले ‘भाउजु जाउँ, जे भएपनि काम बन्द हुन भएन । प्रोजेक्ट बन्द भएर बिग्रन हुँदैन’ भनेर मेरो साथीसहित हामी हाइड्रोपावरको कार्यालय गयौँ । यो प्रोजेक्ट बन्नुपर्छ । केके गर्नुपर्छ भाउजुले गर्नुहुन्छ भनेर भाईले अफिसमा सिनियरहरुलाई राखेर कुरा गर्नुभएको हो ।

काम शुरु हुनका लागि साधारण सभा गर्नुपर्ने कर्मचारीहरुको माग थियो । तर, मेरो श्रीमान साधारण सभा गर्नै नदिने पक्षमा । अनि हामीले उहाँलाई थाहा नदिई साधारण सभा गरिदियौँ । अनि बल्ल मात्रै फाइनान्सियल क्लोजर भयो । ठ्याक्क क्लोजर पनि भएपछि कोरोना संक्रमण बढ्न थाल्यो । सरकारले लकडाउन घोषणा गर्यो । ४ महिना उहाँ हामीसँगै थियौँ । उहाँले किताब लेख्छु भन्नुभयो । लेख्नका लागि सबै कुरा मैले व्यवस्थापन गरेँ । यो असार अन्तिममा आएर फेरी हाम्रो झगडा भयो ।

उहाँले जे हातमा आउँछ त्यसैले मलाई पिट्न थाल्नु भयो । केहीसमय म नबोली बसेँ । तर, कुटपीट बढ्न थालेपछि मैले बुहारी र छोरीलाई बोलाएँ । एक दिन आएका थिए । नातीसँग अलिकति मिलेर बसेको जस्तो लाग्यो । नातीलाई बस भनेर म १५ दिन जतिमा आउँछु भनेर रामेछापस्थित माइत गएँ । म हिँडेको भोलीपल्टदेखि के मात्रै बाँकी राख्नुभयो र ।

बैंकमा गएर झगडा गर्नुभयो । बैंकले हामी ब्याक हुनुपर्ने भो तिमीहरुको कारोबार मिलाउ भनेर मलाई फोन गर्नुभयो । क्लोजर भइसकेको फेरी ब्याक भयो भने सक्कियो । यसै डुब्यो उसै डुब्यो । मैले शेयर किनेको हो भनेर बैंकलाई भनेँ । बैंकमा भाई र म गएका कारणले त्यो भाईलाई अहिले दाहसंस्कारमा नआइज भनेको हो । अरु कुनै कारण छैन ।

उहाँले रातदिन छोरा बुहारीलाई त्यही कुरा सुनाउनुभएको रहेछ । उनीहरुले बाबुलाई गाह्रो भएका कारण बाबुलाई नै मान्नु पर्यो । आफ्नो पिताको मृत्यु भएपछि त्यो भिडियो मिडियालाई दिएपछि उनीहरुको पनि नियत के थियो भन्ने प्रश्न उठ्छ ।


तर, मैले सँधैको लाग छोडेको होइन । मलाई बाहिर बस्न बाध्य बनाइएको थियो । मलाई नै मुद्दा हालेपछि निकै असहज लाग्यो । मुद्दा त अन्तिम विकल्प हो नी । उहाँले पहिलो विकल्प नै बनाउनु भयो । अहिले विद्युत प्राधिकरणदेखि विद्युत विकास विभागसम्म उजुरी गर्नुभएको छ । यो प्रोजेक्ट नबनाओस् भनेर भन्नुभएको छ । उहाँले मर्नेबेला पनि नराम्रो गरेर जानुभयो । मलाई आफ्नो लाग्ने बितेको पिडा त यतिधेरै छ । तर सँगसँगै मलाई मरेर पनि छोड्नु भएन । त्यो झनै पीडादायक हुँदा रहेछ । उहाँको दाजु भाईहरु सबै मलाई भन्नुहुन्छ,‘यो दिदिको केही दोष छैन । यस्तो बेलामा यसरी बस्नुपर्ने ।’


मेरो श्रीमानले नारायणकाजीसँग भेट्दा सुशानले खरिद गरेको शेयरको ब्याज र शेयर नै फिर्ता माग्नु भएको हो । जुन भिडियोमा स्पष्ट छ । यसमा नारायणकाजीको कुनै दोष छैन । शेयर फिर्ता गर्ने एउटा प्रक्रियामा आउँछ नी । उहाँले शेयर फिर्ता पाउनुपर्छ भन्ने कुरा म पनि मान्छु । उहाँले मुद्दा पनि हाल्ने शेयरको ब्याज पनि माग्ने कुरा कत्तिको मिल्छ ।

हाम्रो बिबाह !

२०४६ को आन्दोलनको बेला हाम्रो चिनजान भएको हो । त्यो आन्दोलनमा हाम्रो सेल्टर एउटै थियो । सेल्टरकै बेला मान्छेहरुले यता उता कुरा गरे । मेरा चाहना थिएन । किन भने उहाँ राष्ट्रियस्तरको नेता हुनुहुन्थ्यो । म साह्रै सोझी गाउँले मान्छे हुँ । मलाई बोल्न सक्ने उहाँले नै बनाउनु भएको हो । उहाँले मलाई जहाँ पनि जबरजस्ति घिसारेर लानुहुन्थ्यो । ‘मेरो के काम छ र मैले केही गर्न सक्दिनँ’ मैले यसो भन्दा उहाँले भन्नुहुन्थ्यो,‘तलाई भोली सम्पत्ति थुपारेर राखेर लिएर जाने कोही होइन । तिमी आफै गरिखाने बनाएर जाने हो । सम्पत्तिको कहिल्यै आस नगर । राजनीति गर्ने मान्छेको कहिल्यै सम्पत्तिको आस नगर । तिमी आफै गरिखाने बनाएर मात्रै म जान्छु ।’


उहाँले जे सोच्नुभयो त्यो सबै पुरा हुन पाएन । परिस्थितिले मान्छेलाई कहाँ पुर्याउँछ । घर अहिलेसम्म छैन । विवाह गर्नुभन्दा पहिल्यैको अलिकति जग्गा छ । उहाँको नाममा भक्तपुरमा र मेरो नाममा बनेपामा अलिकति जग्गा छ । गाउँमा भएको जग्गा पनि लन्डनमा भएकी मेरी कान्छि बहिनीले किनिदिएको हो । भक्तपुरको जग्गा आफ्नै बहिनीलाई बेचेको छ । केही जग्गा छोरीहरुलाई दिने योजना थियो । उहाँ वितेर जानु भयो । ती योजना अधुरै रहयो ।

TATA ADD