पुस, १ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बैठक शुरु भएपनि अध्यक्ष समेत रहेका ओली भने बैठकमा अनुपस्थित रहेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको शुरुवात गरेका छन् । बैठकअघि अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो । ओलीसँग करिब ३० मिनेट कुराकानी गरेपछि प्रचण्ड बैठकमा आएका हुन् ।
बुधबारको बैठकले प्रधानमन्त्री ओलीले एकलौटी रुपमा सिफारिस गरेको संवैधानिक परिषदबारेको अध्यादेशबारे छलफल हुने जनाइएको छ ।
गएको मंसिर २१ देखि शुरु भएको स्थायी कमिटी बैठक चलिरहेकै अवधिमा ओलीले मंगलबार अध्यादेश ल्याए पछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताको बैठक मंगलबार खुमलटारमा बसेको थियो ।
बैठकले अध्यादेश फिर्ता गर्नुपर्ने माग राखेको भएपनि त्यो औपचारिकता पाएको थिएन ।