‘फाइभजी’को नाममा वर्ल्डलिंकको ‘ठगीधन्दा’ : नेट स्लो गर्दै फाइभजीको राउटर बेच्दै !

दियो पोस्ट  

काठमाडौं, २ पुस । संसारमा यतिबेला थ्रीजी परिपक्व भएर फोरजी चल्दैछ । मानव श्रमलाई नै बिस्थापन गर्ने फाइभजीको कोरिया बाहेकका देशहरुमा अभ्यास भइसकेको छैन ।

ईन्टरनेट दुनियाको बादशाह चीन समेत फाइभजी प्रयोगबारे अनुसन्धानमै छ । तर, नेपालका ईन्टरनेट सेवा प्रदायक कम्पनिहरुले भने आफ्ना ग्राहकलाई फाइभजीको प्याकेज नै बेच्न थालिसकेका छन् ।

नेपालका ईन्टरनेट सेवा प्रदायक कम्पनिमध्ये सबैभन्दा ठूलो कम्पनि वर्ल्डलिंक ईन्टरनेश्नलले ग्राहकलाई ग्राहकलाई फाइभजी ईन्टरनेट उपलब्ध गराउँदै आएको छ । वर्ल्डलिंकले ग्राहकलाई साच्चै फाइभजी ईन्टरनेट उपलब्ध गराउँदै आएको भने होइन । उसले फाइभ जीको नाममा ग्राकहलाई ठगी गरिरहेको पाइएको हो ।


ग्राहकसँग चर्को शुल्क असुलेर हाई स्पिडको इन्टरनेट दिने नाममा निकै स्लो स्पिडको ईन्टरनेट उपलब्ध गराउँदै आएको वर्ल्डलिंकले फाइभजीको नाममा ग्राहकलाई बेवकुफ बनाउँदै आएको पाइएको हो ।

४० एमबिपिएस स्पिडको ईन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकहरुले ६ एमबिपिएस स्पिड पनि नपाएपछि वर्ल्डलिंककै फेसबुक पेजमा उनीहरुले प्रतिक्रिया दिने गरेका छन् । यस्तो प्रतिक्रिया आएपछि वर्ल्डलिंकले भने फाइभजीको प्याकेज जोड्न दबाव दिने गरेको पाइएको छ ।


चीनमा रहेर हुवावे कम्पनिमा कार्यरत नेपाली ईन्जिनियर राकेश ताम्राकारका अनुसार फोरजीको तुलनामा फाइभजीको स्पिड धेरै नै छिटो हुन्छ । फोरजीमा डाउनलोड गर्दा २० देखि ३० एमबिपिएससम्मको स्पिड हुन्छ ।

तर, फाइभजी आयो भने सय देखि ५ सय र ८ सय एमबिपिएससम्मको स्पिड लिन सक्छ । वर्ल्डलिंकले दिइरहेको फाइभजी सेवाको स्पिड ३०, ४० र ६० को छ । यस्तो स्लो स्पिडलाई समेत फाइभजी भनेर वर्ल्डलिंकले बजारमा कालोबजारी गरिरहेको विज्ञहरुको विश्लेषण छ ।


फाइभजीको प्याकेजको विषयमा वर्ल्डलिंक कम्युनिकेशनको फोन नम्बर ०१५९७००५० मा सम्पर्क गर्दा फोन उठाउने एक महिलाले फाइभजीको स्पिड ३० देखि ४० एमबिपिएस हुने जानकारी दिए । ‘अहिले नयाँ राउटर आएको छ ।

त्यो राउटर फाइभजी हो । यो राउटर राखेपछि फाइभजी जस्तै चल्छ । राउटर भएकै कोठामा ४० एमबिपिएससम्म स्पिड हुन्छ । राउटर भएको भन्दा बाहिर अन्य कोठामा ३० एमबिपिएससम्म चल्छ,’ ती महिला कर्मचारीले भनिन् ।


नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार नेपालमा फाइभजी आएकै छैन ।

प्रवक्ता मिन प्रसाद अर्याल

‘नेपालमा फाइभजी आइसकेकै छैन । यसेको पूर्व तयारी भने भएको हो । ईन्टनरेट सेवा प्रदायक कम्पनिहरुले बेचेको फाइभजी भनेको हाई स्पिड भन्न खोजेका होलान्,’ उनले दियोपोस्टसँग भने, ‘मैले त्यसको बारेमा ठ्याक्कै बुझेको छैन ।

फाइभजी भनेको एकदमै हाईस्पिड हुन्छ । उनीहरुसँग मोबाइलको फाइभजीको लाइसेन्स नै छैन । फाइभजी भनेको छुट्टै मिनिङ हो की ? म उनीहरुसँग पनि बुझ्छु । फाईभजी कतिपय ठाउँमा ट्रायल हुँदैछ । कयौँ देशमा सेवा प्रारम्भ हुँदैछ । हामीकहाँ फाइभजीको काम पूर्व तयारीकै अवस्थामा छ ।’


उनका अनुसार फाइभजीको विषयमा प्राधिकरणमा गुनासो समेत आएको छ । यद्धपी गुनासो आएपनि प्राधिकरणले कुनै कारबाही भने गर्न भने सकेको छैन । ‘यो विषयमा कसैले गुनासो पनि गरेको जस्तो लाग्छ । त्यो विषयमा प्राधिकरणले पत्र पनि काटेको जस्तो लागेको छ । उपभोक्ता शाखाबाट गएको हुनसक्छ । म एक पटक बुझौँला,’ अर्यालले भने ।

दिलिप अग्रवाल लगायत व्यक्तिहरुले सञ्चालन गरेको वर्ल्डलिंक कम्युनिकेशनले ग्राहकसँग एमबिपिएसको नाममा ठगी गरेको विषयमा यसअघि पनि दियोपोसट डटकमले समाचार प्रकाशन गरेको थियो । ग्राहकलाई ठगी गरेको विषयमा प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीमा उजुरी परे पनि कुनै कारबाही भने भएको छैन ।


वर्ल्डलिंकले फाइभजीको नाममा विज्ञापन गरिएको प्याकेज अनुसार ४० एमबिपिएस ईन्टरनेटको वार्षिक रकम १७ हजार ५ सय रुपैयाँ असुल्दै आएको पाइएको छ । ६० एमबिपिएसका लागि भने ग्राहकले २२ हजार रुपैयाँ वार्षिक तिर्दै आएका छन् । यसरी नेपालमा आउँदै नआएको फाइभजीको प्याकेज विक्री गरिरहेको भएपनि नियामक निकाय दुरसञ्चार प्राधिकरण मौन छ ।


कस्तो हुन्छ फाइभजी ? के हो एमबिपिएस ?


दुरसञ्चार क्षेत्रका विज्ञ ताम्राकारका अनुसार एमबिपिएस भन्नाले मेगाबिट्स पर सेकेन्ड हो । एक सेकेन्डमा १० लाखवटा बिटहरु पठाउन सक्छ । हामीले फोटो खिचेको मेगाबाइटमा देखाउँछ । जति धेरै एमबिपिएस भयो त्यति छिट्टो फोटोहरु जान्छ । थ्रीजीमा किलोबिट्स (केबिपिएस) मात्र उपलब्ध हुन्छ । थ्रीजी र फोरजीमा जिबिका फाइलहरु पठाउन मुस्किल हुन्छ । फाइभजीमा यो सहज हुन्छ ।

अन्य प्रयोगहरुमा आइओटी नामक प्रविधि पनि विकासको चरणमा छ । आइओटी भन्नाले ईन्टरनेट अफ थिङ्स भन्ने बुझिन्छ । यसबाट विभिन्न बस्तुहरु जस्तै, फ्रिज, साइकल, गाडी लगायत हरेक बस्तुलाई इन्टरनेटमा कनेक्ट गरेर अटोमेटिक बनाउन सकिन्छ । फाइभजीमा आइआइओटी नामक प्रविधि विकास गरिँदै छ । इण्डस्ट्रीयल इन्टरनेट अफ थिङस भनिन्छ, यसबाट विभिन्न उद्योगधन्दाहरुलाई अटोमेटिक सञ्चालन गर्न सकिन्छ । उद्योगहरुमा रोबोटहरुले काम गर्छन ती सबै फाइभजीमा कनेक्ट हुन्छन् ।

सेल्फ ड्राइभिङ पनि फोरजीको अर्को विकसित रुप हो । सवारी साधनहरुमा ड्राइभरको आवश्यकता नपर्ने । हामीकहाँ आइपुग्न धेरै समय लाग्छ तर अमेरिका र युरोपियन क्षेत्रहरुमा यसको परिक्षण भइरहेको छ । फाइभजीले गाडीलाई कन्ट्रोल गरिएको हुन्छ र बाटोको स्थिति, ट्राफिक लाइट, ट्राफिक जामहरुको बारेमा जानकारी दिन्छ ।

ढिलासुस्त भइरहेका सरकारी कामहरु फाइभजीले छिटो बनाउँछ । एउटा कम्पनी दर्ता गर्नका लागि दिनदिनै धाइरहने वाध्यात्मक अवस्थाको अन्त्य हुन सक्छ ।


तर, वर्ल्डलिंक लगायत केही ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भने फाइभजीलाई गलत रुपमा विज्ञापन गर्दै ठगीधन्दा चलाउँदै आएका छन् ।