यी हुन् ‘किसानमारा’ व्यापारी, उखु किसानलाई भुक्तानी नदिने अर्बपती व्यापारी को –को ?

दियो पोस्ट  

काठमाडौँ, ३ पुस । आफूले पाउनुपर्ने उखुको मुल्य विगत वर्षौंदेखि नपाएपछि उखु किसानहरु पुस महिनाको कठ्यांग्रीदो जाडोमा माइतिघरमा आन्दोलनमा छन् । गृहमन्त्रालयले मंगलबार मात्रै ४ जना ठूला उद्योगीलाई पक्राउ गर्न निर्देशन दिएको भएपनि उनीहरु पक्राउ परेका छैनन् ।

राजधानीमै रहेर विभिन्न धन्दा गरिरहेका अर्बपति व्यापारीहरुलाई पक्राउ गर्न सरकारले आलटाल गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

२०७० देखि २०७६ सालसम्म मध्य मधेस र नवलपरासीसहितका २० हजारभन्दा धेरै उखु किसानले बेचेको उखुको मूल्य पाएका छैनन् । आफूलाई देशकै प्रतिष्ठित उद्योगीको रुपमा चिनाउने अर्बपति व्यापारहरुको समुह विशाल ग्रुपले नै सबैभन्दा धेरै किसानलाई ठगी गरेको पाइएको छ ।


त्यस्तै नेपाल विद्युत प्राधिकरणको अर्बौंको ठेक्का हत्याउने र अलपत्र पार्ने राकेश अग्रवाल र मनोज अग्रवालले पनि उखु किसानको करोडौं भुक्तानी नदिएको पाइएको छ । श्रीराम सुगर मिल विशाल ग्रुप र हितेश गोल्छाको हो । यो उद्योगले किशानहरुलाई ४१ करोड रुपैयाँ भन्दा बढी तिरेको छैन । उनीहरुलाई विभिन्न जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जि जारी गरेको छ ।

हितेश गोल्छा,अनुज अग्रवाल र विशाल अग्रवाल

श्रीराम सुगर मिलका सञ्चालकहरु हितेश गोल्छा विशाल अग्रवाल र अनुज अग्रवाललाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले पक्राउ गर्ने सुचिमा राखेको छ ।


विशाल र अनुज दुवै विशाल ग्रुपका निर्देशक समेत हुन् । उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटमा समेत ठगी मुद्दा दर्ता भएको छ । ४६ जना उखु किसानहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रौतहटमा जाहेरी दिएका हुन् । उनीहरु विरुद्ध पक्राउ पुर्जि जारी भएको भएपनि पक्राउ भने गरिएको छैन । हितेश गोल्छा गोल्छा अर्गनाइजेशनका निर्देशक हुन् । उनी स्वर्गिय दिवाकर गोल्छाका छोरा हुन् ।


विशाल समुह र हितेश गोल्छाद्वारा सञ्चालित श्रीराम सुगर मिलले आर्थिक वर्ष ०७१/७२ को १२ करोड, ०७५/७६ को २८ करोड ५० लाख र ०७६/७७ को ५० लाख रुपैयाँ गरी ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवले बताए ।
उखु किसानको करोडौं भुक्तानी नदिने अर्का व्यापारी हुन्– आर के भनिने राकेश अग्रवाल । उनको लगानीमा सञ्चालित अन्नपूर्ण चिनी मिल र ईन्दिरा चिनी मिल सञ्चालित छ । गत वर्ष उनलाई प्रहरीले पक्राउ गरेर एक रात थुनेको थियो ।

उनले उखु किसानलाई २२ करोड रुपैयाँ भुक्तानी दिएका छैन् । यद्धपी विद्युत प्राधिकरणको ७ अर्बको ठेक्कामा भने उनले मनोमानी गरिरहेका छन् ।


त्यस्तै स्वर्गिय मनिष अग्रवालको स्वामित्व रहेको लुम्बिनी चिनी मिलले पनि किसानको ८ करोड रुपैयाँ भुक्तानी दिएका छ्रैन । मनिषको मृत्युपछि मिलको स्वामित्व हात पारेका उनका दाजु मनोजले किसानको भुक्तानी दिन आनाकानी गरेपछि उनीहरु काठमाडौंमा आएर आन्दोलन गर्न बाध्य भएका हुन् ।

विरेन्द्र कुमार कनौडियाले अझै बुझाएनन् ७ करोड !


प्रदेश नम्बर ५ को प्रतिपक्षी दलका नेता हुन् विरेन्द्र कुमार कानोडिया । गत वर्ष उनले किसानलाई २१ करोड रुपैयाँ दिनुपर्ने थियो । उनीद्वारा सञ्चालित महालक्ष्मी सुगर मिलले किसानलाई यतिका रकम नदिएपछि गत वर्षपनि उनीहरु यस वर्ष जस्तै काठमाडौंमा आन्दोलन गर्न आएका थिए । आन्दोलनकै बलमा उनले २१ करोड रुपैयाँ मध्ये १२ करोड भुक्तानी गरेको जानकारी दिएका थिए । तर बाँकी रहेको ७ करोड रुपैयाँ हालसम्म पनि भुक्तानी नगरेको पाइएको छ ।

सम्बन्धित खबर