नेपालमै नआएको फाइभजीको नाममा सुबिसुको ‘ठगीधन्दा’ : दुरसञ्चार प्राधिकरण मौन !

दियो पोस्ट  

काठमाडौं, २ पुस । ईन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान)का अध्यक्ष सुधिर पराजुलीको स्वामित्व रहेको सुविसुले नेपालमै नआएको फाइभजीको नाममा ठगीधन्दा चलाएको खुलाशा भएको छ ।


संसारमा यतिबेला थ्रीजी परिपक्व भएर फोरजी चलिरहेको बेला नेपालका ईन्टरनेट सेवा प्रदायक कम्पनिहरुले भने आफ्ना ग्राहकलाई फाइभजीको प्याकेज नै बेच्न थालिसकेका छन् । यस्तो ठगीमा आइस्पान अध्यक्ष पराजुलीकै कम्पनि सबिसु केवल नेट प्रा.लीले चरम रुपमा प्याकेज बेचिरहेको पाइएको छ ।

ग्राहकसँग चर्को शुल्क असुलेर हाई स्पिडको इन्टरनेट दिने नाममा निकै स्लो स्पिडको ईन्टरनेट उपलब्ध गराउँदै आएको सुविसुले फाइभजीको नाममा ग्राहकलाई बेवकुफ बनाउँदै आएको पाइएको हो ।


सुविसुले २० एमबिपिएस स्पिडको ईन्टरनेटलाई फाइभजीको नाममा प्याकेज बेचिरहेको पाइएको छ । २० एमबिपिएसको ईन्टेरनेट बापत ग्राहकसँग १४ हजार ९ सय १७ रुपैयाँ असुल्दै यसैलाई फाइभजीको नाम दिइएको पाइएको छ ।

चीनमा रहेर हुवावे कम्पनिमा कार्यरत नेपाली ईन्जिनियर राकेश ताम्राकारका अनुसार फोरजीको तुलनामा फाइभजीको स्पिड धेरै नै छिटो हुन्छ । फोरजीमा डाउनलोड गर्दा २० देखि ३० एमबिपिएससम्मको स्पिड हुन्छ । तर, फाइभजीमा भने सय देखि ५ सय र ८ सय एमबिपिएससम्मको स्पिड लिन सक्छ ।


नेपाल दुरसञ्चार प्राधिकरणका मिन प्रसाद अर्यालका अनुसार नेपालमा फाइभजी आएकै छैन ।

‘नेपालमा फाइभजी आइसकेकै छैन । यसैको पूर्व तयारी भने भएको हो । ईन्टनरेट सेवा प्रदायक कम्पनिहरुले बेचेको फाइभजी भनेको हाई स्पिड भन्न खोजेका होलान्,’ उनले दियोपोस्टसँग भने, ‘मैले त्यसको बारेमा ठ्याक्कै बुझेको छैन । फाइभजी भनेको एकदमै हाईस्पिड हुन्छ । उनीहरुसँग मोबाइलको फाइभजीको लाइसेन्स नै छैन । फाइभजी भनेको छुट्टै मिनिङ हो की ? म उनीहरुसँग पनि बुझ्छु । फाईभजी कतिपय ठाउँमा ट्रायल हुँदैछ । कयौँ देशमा सेवा प्रारम्भ हुँदैछ । हामीकहाँ फाइभजीको काम पूर्व तयारीकै अवस्थामा छ ।’


उनका अनुसार फाइभजीको विषयमा प्राधिकरणमा गुनासो समेत आएको छ । यद्धपी गुनासो आएपनि प्राधिकरणले कुनै कारबाही भने गर्न भने सकेको छैन । ‘यो विषयमा कसैले गुनासो पनि गरेको जस्तो लाग्छ । त्यो विषयमा प्राधिकरणले पत्र पनि काटेको जस्तो लागेको छ । उपभोक्ता शाखाबाट गएको हुनसक्छ । म एक पटक बुझौँला,’ अर्यालले भने ।

दुरसञ्चार क्षेत्रका विज्ञ ताम्राकारका अनुसार एमबिपिएस भन्नाले मेगाबिट्स पर सेकेन्ड हो । एक सेकेन्डमा १० लाखवटा बिटहरु पठाउन सक्छ । हामीले फोटो खिचेको मेगाबाइटमा देखाउँछ । जति धेरै एमबिपिएस भयो त्यति छिट्टो फोटोहरु जान्छ । थ्रीजीमा किलोबिट्स (केबिपिएस) मात्र उपलब्ध हुन्छ । थ्रीजी र फोरजीमा जिबिका फाइलहरु पठाउन मुस्किल हुन्छ । फाइभजीमा यो सहज हुन्छ ।

अन्य प्रयोगहरुमा आइओटी नामक प्रविधि पनि विकासको चरणमा छ । आइओटी भन्नाले ईन्टरनेट अफ थिङ्स भन्ने बुझिन्छ । यसबाट विभिन्न बस्तुहरु जस्तै, फ्रिज, साइकल, गाडी लगायत हरेक बस्तुलाई इन्टरनेटमा कनेक्ट गरेर अटोमेटिक बनाउन सकिन्छ । फाइभजीमा आइआइओटी नामक प्रविधि विकास गरिँदै छ । इण्डस्ट्रीयल इन्टरनेट अफ थिङस भनिन्छ, यसबाट विभिन्न उद्योगधन्दाहरुलाई अटोमेटिक सञ्चालन गर्न सकिन्छ । उद्योगहरुमा रोबोटहरुले काम गर्छन ती सबै फाइभजीमा कनेक्ट हुन्छन् ।

तर, वर्ल्डलिंक, सुविसु लगायत ईन्टरनेट सेवा प्रदायक कम्पनिले भने नेपालमै नआएको फाइभजीको नाममा व्यापार गरिरहेका छन् ।

‘यो हामी ग्राहकमाथि सरासर ठगी हो । फाइभजी नै नआएको देशमा फाइभजीको नाममा प्याकेज बेचिन्छ । त्यो हामीले किन्छौँ । त्यो भन्दा मजाक केही हुन सक्दैन,’ एक उपभोक्ता अधिकारकर्मीले दियोपोस्टसँग भने,‘दूरसञ्चार प्राधिकरण रमिते भएपछि जसले जे अपराध पनि गर्न पाइरहेका छन् । अब हामी उजुरी हाल्छौँ ।’

TATA ADD