काठमाडौं, ४ पुस । राजधानीको सिंहदरबार पूर्वीगेटमा शनिबार विहानै कार दुर्घटना भयो । विहान करिब ५ बजे हनुमानथानबाट पूर्विगेट तर्फ आउँदै गरेको बा १० च ७५७६ नम्बरको कारले सोही दिसाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको हो ।
पूर्व न्यायाधीश युवराज सुवेधीको घर अगाडी सडकमा भएको दुर्घटनाबाट साइकल चालक गम्भिर घाइते भएका छन् । अनियन्त्रित भएर आएको कारले पत्रिका लिएर हिँडेको साइकल ब्वाईलाई ठक्कर दिएको हो ।
कारको ठक्करपछि साइकल चालक उछिट्टिएर कारकै अगाडीको सिसामा बजारिएका थिए । उनको टाउकोमा गम्भिर चोट लागेको छ ।
गम्भिर घाइते साइकल ब्वाईलाई राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । ट्राफिक प्रहरीका अनुसार घाइतेको विवरण खुलिसकेको छैन । फिल्डमा खटिएका प्रहरीका अनुसार दुर्घटनाग्रस्त बनेको कारमा दुई जना सवार थिए । कारमा सवार भएका युवा र युवती दुवै जना मदिराले लठ्ठिएका थिए । प्रहरीका अनुसार कार चलाउने युवती समेत मदिराले लठ्ठीएकी थिइन् ।
‘उनीहरु दुवै जना गाडीमा मस्ति गर्दै आएका रहेछन् । युवती पुरै मदिराले लठ्ठिएकी थिइन् ।
गाडीको चाबी प्रहरीलाई बुझाउने समयसम्म उनको होस् थिएन,’ ती प्रहरीले भने । घाइते भएका साइकल चालक नागरिक दैनिकको कर्मचारी रहेको पाइएको छ । ट्राफिक प्रहरीले कार चालक र त्यहाँ समलग्न रहेको यवतीको परिचय खुलाएको छैन ।