काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गर्ने सिफारिस गरेपछि चौतर्फी आलोचना भइरहेको छ । सत्तारुढ दल र प्रतिपक्ष दल मात्रै होइन सर्वत्रले प्रधानमन्त्रीको कदमको विरोध गरेका छन् । नेपाली कांग्र्ेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीले लहडमा आएर संसद विघटनको सिफारिस गरेको आरोप लगाएका छन् ।
‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ,’ थापाले सामाजिक सञ्जाल मार्फत लेखेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार विहानको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा भंग गर्ने सिफारिस गरेका थिए ।