देउवा–सिटौला समुहबाट बागमती प्रदेश सभापतिमा भिमसेनदास प्रधानको उम्मेदवारी !

diyopost.com
दियो पोस्ट  बिहिबार, मंसिर १६, २०७८ | ०:३९:५७

काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलन गरेर प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् ।

‘म बागमती प्रदेशको पार्टी नेतृत्व हाँक्ने क्षमता राख्छु त्यसेले उम्मेदवारी घोषणा गर्छु,’ प्रधानले भने,‘म पार्टीका साथीहरुसँग निकै घुलमिलमा छु त्यसैले समर्थन पाउँछु ।’ उनले आफूलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ रहेको बताए । उनले देउवा र सिटौलाले कुरा गरेर आफूलाई बढाएको बताए ।

प्रधानले निष्ठाको राजनीतिक गर्दै आएको बताए । उनले भने,‘म निष्ठाको राजनीतिबाट डग्दिनँ । यसकारण पनि साथीहरुको माया र मत पाउँछु ।’

गणेशमान सिंहको शालिक अगाडि शान्तिबाटिकामा उभिएर आफूले उम्मेदवारी दिने घोषणा गरेर आज उपस्थित भएको सुनाए । आफूले बागमती प्रदेशका सभापतिका आकांक्षी इन्द्र बाँनियासँग पनि कुराकानी गरेको बताए । आफूलाई बाँनियाले छाड्ने विश्वास व्यक्त गरे । उनले भने,‘इन्द्र बाँनिया र मेरोबीच कुराकानी भएको छ । आशा छ उहाँले मलाई छाड्नुहुनेछ ।’

आफू काठमाडौं उपत्यकाको स्थानीय भएको र बागमती प्रदेशका २१४५ मतमध्ये झण्डै आधा ९ सय मत यही भएकाले जित्ने आधार भएको तर्क गरे । पार्टीमा सहमति, सहकार्य र एकताको खाँचो भएको स्मरण गराउँदै त्यसमा आफूले भूमिका खेल्ने बताए । सबैले सहमति गरेर आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबर