काठमाडौंमा भेटियो भयानक कोठी : १४ वर्षीय किशोरीलाई वेश्यावृत्तिमा लगाएर कमिशन लिने गिरोह !

खुमा ओली  

काठमाडौ । २ वर्षको उमेरमा नै वुवा–आमाको माया पाउनबाट बञ्चित बनेकी कल्पना भट्ट (नाम परिर्वतन) मावलीमै हुर्किइन् । वुवा–आमाको सम्बन्ध विच्छेद भएपछि हो उनी मावली हजुरआमासँग बस्न थालेको । आर्थिक अभावले सताउन थालेपछि घर खर्च जुटाउनका लागि कल्पनाकी आमा काखे छोरीलाई छाडेर विदेशिन बाध्य भइन् । छोरीलाई माइतीमा छोडेर परदेश पसेपछि कल्पना हजुआमासँगै हुर्केकी हुन् । कल्पना विद्यालय पढ्ने भइन् । उनकी हजुरआमाले नजिकैको सरकारी स्कूल श्री गैरावेशी निम्न माध्यामिक विद्यालय नुवाकोटमा भर्ना गरिदिइन् । कल्पना कक्षा छ सम्म त्यही विद्यालयमा पढिन् । २०७५ सालमा आमा विदेशबाट सधैंका लागि नेपाल फर्किइन् । त्यसपछि उनीहरु छोरीको उच्च शिक्षाका लागि काठमाडौं बस्न थाले । कल्पना नागपोखरी स्थित श्री फुटुङ माध्यामिक विद्यालयमा कक्षा सातमा भर्ना भइन् । सोहीक्रम उनकी आमाले दोस्रो विवाह गरिन् ।

आमाले दोस्रो विवाह गरेका वुवा, भाईहरु सँगैे बस्न थाले । यही क्रममा परिवारमा पारिवारिक वाद-विवाद हुन थाल्यो । कल्पना आमासँगै बस्न नसक्ने भइन् । विद्यालय पढ्दा सँगै चिनजान गरेकी साथीसँगै बस्ने निधो उनले गरिन् । २०७८ सालको फागुन महिनादेखि उनी आमाको घर छोडेर साथिसँगै काठमाडौंको नयाँ बसपार्क बस्न थालिन् । बसेको केही महिनामा सोही ठाउँ बस्ने समिक्षा श्रेष्ठ र निरज ढकालसँग चिनजान भयो । कल्पनालाई बाँच्नका लागि भए पनि काम गर्नु पर्ने थियो । कामकै कुरा गर्दा ती दुई जनाले सानै उमेर भएकाले उनका लागि काम नभेटिने बताए । तर उनीहरुले कल्पनालाई भाडा धुने र सरसफाईको काममा भने लगाइदिने बाचा गरे । ‘तिम्रो उमेर पनि पुगेको छैन,काम गर्ने ठाँउमा १८ वर्ष उमेर पुगेको हुनुपर्छ अहिलेलाई हामीले चिनेको गेष्ट हाउसमा सरसफाईको काममा लगाई दिन्छौ त्यहा महिनाको दश हजार पैसा कमाई हुन्छ,’ उनीहरु भन्थे ।

जोखिममा किशोरी

मासिक १० हजार रुपैयाँ कमाई हुने भन्दै उनीहरुले एउटा होटलमा भाडा माझ्ने र सरसफाईको काममा लगाइदिन्छौ भन्दै १४ वर्षीया उनलाई टोखाकै एक होटलमा छोडे । होटेलकी सन्चालक थिइन्, चिनिमाया लामा लिम्बु । काठमाडौंको टोखा नगरपालिका–९ मा रहेको उक्त होटलमा उनले सुरुमा सरसफाईको कखरा शुरु गरिन् । यता उनको पढाईमा भने पूर्णविराम लाग्यो । उनलाई त्यहाँ आफ्नो काम त्यति मात्रै हो भन्ने लागेको थियो । तर त्यहाँ उनले सोचेको जस्तो पक्कै थिएन् । चिनिमाया लामाले होटलमा १३–१४ वर्ष उमेरका बालिका देखी ३०–३५ वर्ष उमेर सम्मका महिलाहरु बोलाएर वेश्यावृत्तिमा लगाउँथिन् ।

एकदिन खाजा खान आएका ग्राहकले कल्पनालाई यौन प्रस्ताव राखे । त्यसपछि कल्पनाले उक्त प्रस्ताव ईन्कार गर्दै आफू सरसफाई गर्ने काममा बसेको जवाफ दिइन् । त्यसपश्चात संचालक लामा उनीमाथि खनिइन् । ‘चिनिमायाले तिमीले गर्दा मेरो ग्राहकहरु भड्किने भयो, तिमीले यस्तो काम गरेको कसैले पनि थाहा पाउँदैन, तिमीलाई एकजना सँग २० मिनेट बसेर यौन सम्पर्क गरेको एक हजार रुपैयाँ दिन्छु तर मैले भनेको मानिनौ भने तिमीलाई कामबाट निकाली दिन्छु, तिमीलाई अन्य ठाँउमा कसैले काममा लगायो भने पनि कामबाट निकाल्न लगाउँछु भनि विभिन्न किसिमको प्रलोभन तथा डरत्राशमा पारी जबरजस्ती वेश्यावृतीमा लगाईन् ।” पीडित किशोरीले प्रहरी समक्ष बयानमा भनेकी छिन्,“यसरी यौनधन्दा गर्ने क्रममा दैनिक ५–७ जना जति पुरुषसंग यौन सम्बन्ध राख्नु पर्दथ्यो । ”

यसरी कल्पना चिनिमाया कोठीको शिकार बनिन् !

उनको बयानका अनुसार काममा लगाइदिने निरज ढकालले एक हप्तासम्म उनै सन्चालक लामासँग दैनिक २५ देखि ३० हजारसम्म लिने गरेका थिए । सन्चालक लामाले वेश्यावृतीमा लगाउने क्रममा कुनै दिन बिरामी भई काम गर्न नसक्दा कुटपीट गर्ने बिभिन्न धाक–धम्की दिने गर्थिन् । यता गोरखा स्थायी घर भएका निरज ढकाल नयाँ बसपार्कस्थित ए वान होटलमा सरसफाईको काम गर्थे । उनले कल्पनाको र चिनिमायाको चिनजान गराएर त्यहाँ वेश्यावृत्तिको काम गरिन्छ भन्ने थाहा पाएर पनि उनलाई काममा लगाएको स्वीकार गरेका छन् । उनले बयानमा भनेका छन्, “समिक्षा श्रेष्ठसंग प्रेम सम्बन्ध भएकोले निजको साथी कल्पनालाई चिनिमाया लामा लिम्बुको होटलमा बेश्याबृत्तिको काम हुन्छ भन्ने कुरा जानकारी गराई फुर्सदको समयमा म बाहिर खाजा खान क्रममा म तथा समिक्षा श्रेष्ठ भई जाहेरवालालाई प्रतिवादी चिनि माया लामा लिम्बुले संचालन गरेको खाजा घरमा लगेर चिनजान गराएको हो ।” निरजलाई कहिलेकाही मुड फ्रेस गर्न मन लागे आफ्नो होटलमा आउन प्रताव लामाले राखेको उनले बयानमा बताएका छन् । साथै निरजले काम गर्ने होटलमा आउने ग्राहकले केटी खोजेमा लामाले आफूलाई फोन गर्न निर्देशन दिएकी थिइन् । उक्त होटल चिनिमाया लामा लिम्बु र उनका देवर हेम बहादुर लिम्बुले सन्चालन गर्दे आएका थिए ।

तर यता वेश्यावृत्तिमा लगाएको आरोप लागेकी लामाले सो घटना अस्विकार गरेकी आएकी छन् ।

प्रहरीले केहीदिन अघि लामा सहित वेश्यावृत्तिमा लगाउने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपरेपछि उनीहरुलाई मानव वेचविखनको मुद्दामा म्याद थप गरि मुद्दा चलाइएको छ ।

सम्बन्धित खबर