पर्यटन व्यावसायी प्रेम खत्रीको समाजसेवा : एकै पटक ६ वटा स्थानिय तहलाई एम्बुलेन्स हस्तान्तरण !

दियोपोस्ट संवाददाता

काठमाडौं । पर्यटन व्यावसायी प्रेम खत्रीले गोरखाका ६ वटा स्थानीय तहलाई एम्बुलेन्स वितरण गरेका छन् ।

उनको नेतृत्वमा रहेको सम्भव नेपालले ‘ख’ बर्गका एम्बुलेन्स स्थानीय तहहरूलाई उपलब्ध गराएको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्भव नेपालले उपलब्ध गराएको एम्बुलेन्स बिहीबार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले एम्बुलेन्सको सदुपयोग गर्न स्थानीय तहका प्रमुखहरूलाई आग्रह गरेका छन् ।

अजिरकोटको भच्चेक आधारभूत अस्पताल, बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल, सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दर्बुङ स्वास्थ्य चौकी, आरूघाटको थुमि स्वास्थ्य चौकी र चुमनुब्रीको सिर्दिवास स्वास्थ्य चौकीलाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको सम्भव नेपालका अध्यक्ष खत्रीले बताए ।

मुख्यमन्त्री पाण्डेले एम्बुलेन्सलगायत सामग्री सहयोग गरेकोमा सम्भव नेपाल र अध्यक्ष खत्रीलाई धन्यवाद दिएका थिए । लामो समयदेखि पर्यटन व्यावसायमा आवद्ध खत्रीले यसअघि पनि गोरखामा यसैगरि आधा दर्जनभन्दा बढी एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

एम्बुलेन्ससहित हिटर, डेलिभरी बेड, स्पाइनल बेड, ह्विलचियरलगायत सामग्री पनि स्थानीय तहलाई उपलब्ध गराइएको छ ।

दुई करोड ३६ लाख रुपैयाँमा एम्बुलेन्ससहित स्वास्थ्य सामग्री खरिद गरिएको थियो ।

 

 

सम्बन्धित खबर

सिफारिस