देशकै ठूलो गाउँपालिकाका अध्यक्ष भन्छन्- कर्मचारीलाई टिकाउन बढी भत्ता दिनुपर्छ

दियोपोस्टसँग स्थानिय सरकार

- ईश्वर विश्वकर्मा  

काठमाडौं । नाम्खा गाउँपालिका हुम्ला जिल्लाको सुदूर उत्तर पश्चिम भागमा अवस्थित छ । यो गाउँपालिका चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो गाउँपालिका हो नाम्खा । जसको कुल क्षेत्रफल करिब २४१९.४ वर्ग कि.मी रहेको छ भने जनसंख्या ३ हजार ९ सय छ।

हुम्लामा अहिलेसम्म राज्यसँग जोडिने सडक सञ्जाल पुगेको छैन। साविकको हेप्का, खगाल, मुचु र लिमी मिलेर बनेको नाम्खा गाउँपालिकामा ६ वटा वडा छन् । पूर्वमा सिमकोट, पश्चिम र उत्तरमा चीनको तिब्बत र दक्षिणमा बझाङ, बाजुरा जिल्ला सिमाना रहेको नाम्खामा तामाङ जाति (लामा)हरुको मात्र बसोबार रहेको छ ।

नाम्खा गाउँपालिकाका अधिकांश स्थानीय बौद्ध धर्मावलम्बी छन् । यहाँ सोनाम ल्होसारलाई विशेष चार्डका रुपमा भव्यताका साथ मनाइन्छ ।

उवा, फापर, कोदो, आलु, चिनो, कागुनो, मकै, स्याउ, ओखर, चुली, खामु जस्ता बाली उत्पादन हुन्छन् । आज हामी यसै नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामासँग स्थानीय सरकार र नागरिकका सरोकारका विषयमा विभिन्न कुराकानी गर्दैछौं। प्रस्तुत छ, दियोपोष्टकर्मी ईश्वर विश्वकर्माले गाउँपालिका अध्यक्ष लामासँग गरेको टेलिफोन संवाद

गाउँपालिकाको अध्यक्ष निर्वाचित भएपछि तपाइँले गरेको पहिलो काम के हो?

नाम्खा भौगोलिक हिसाबले विकट छ। भौतिक पूर्वाधारको विकास गर्न समय लाग्छ । टाढाटाढा  भएपनि मानिसहरूलाई आवश्यकताअनुसार खबरको आदान प्रदान सजिलो होस् भनेर मैले सबै वडाहरुमा संचार सेवा पुर्‍याएको छु ।

विकट क्षेत्रको नेतृत्वमा हुनुहुन्छ। ठाउँअनुसार विकासको परिभाषा बदलिन्छ भनिन्छ। यहाँको भनाइमा विकास के हो?

म जुन क्षेत्रमा बस्छु जहाँको नेतृत्व गर्छु त्यहाँ विकासको आधारभूत विषयहरू नै पूर्ण छैनन्। मेरो बुझाइले मात्रै होइन मेरो क्षेत्रको नागरिकको आवश्यकता पूरा गर्नु नै विकास हो। सञ्चार, सडक, स्वास्थ्य र सुशासन जस्ता चारवटा कुराहरुलाई तिब्ररुपमा अगाडि बढिरहेका छौं । जनताका लागि तत्कालको आवश्यकता र विकास यही हो।

तपाईं निर्वाचित भएको गाउँपालिकालाइ कस्तो बनाउने योजना छ?

यहाँका सबै जनतालाई सुखी र समृद्ध बनाउने चाहना छ। त्यसका लागि लागीपरेकै छौं। हामीले सुखी नाम्खा, समृद्ध नाम्खा भन्ने नारा नै बनाएर विकासका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं।

स्वास्थ्य शिक्षा लगायत आधारभूत विषयमा त्यहाका जनताको जीवनस्तर कस्तो छ?

भूगोलको हिसावले भन्ने हो भने, राष्ट्रिय सडकको सञ्जालले अहिले सम्म छोएको छैन । त्यसकारण पनि यहाँका जनताको जीवनस्तर कष्टकर नै छ । अर्कातिर, प्राकृतिक स्रोतसँग लडिराख्नुपर्ने अवस्था छ । वर्षाको मौसममा वर्षासँग र हिउँदमा हिउँसँग लड्नुपर्ने र भौगोलिक विकटताका कारण यहाँको जनजीवन कष्टकर छ ।

स्वास्थ्य, शिक्षा र कृषिमा सुधारको योजना कस्तो छ ?

स्वास्थ्य, शिक्षा र कृषिमा विभिन्न कार्ययोजना सुरु गरेका छौं । स्वास्थ्यतर्फ एउटा वडामा पनि स्वास्थ्यकर्मी बस्न सक्ने अवस्था थिएन। यस वर्षदेखि बाह्रै महिना त्यस वडाका स्वास्थ्य चौकीमा बस्न सक्ने वातावरण मिलाएका छौं । गाउँकै स्वास्थ्य चौकीमा सुत्केरी गराउने व्यवस्था पनि मिलाएका छौं । सुत्केरी गराउन सदरमुकाम धाउनुपर्ने जनताको बाध्यतालाई विस्तारै समाधान गर्दैछौं । शिक्षामा हामीले तालिमप्राप्त शिक्षक राखेका छौं । बालमैत्री, प्रविधिमैत्री शिक्षण सिकाइलाइ जोड दिएका छौं । आधुनिक कृषिमा जोड दिएका छौं । कृषकलाई आधुनिक मेसिन उपलब्ध गराउने काम भएको छ। प्रत्येक गाउँमा एक–एकवटा मेसिन वितरण गरेका छौं ।

स्थानीय पालिकाले जथाभावी डोजर चलाएर पर्यावरण ध्वस्त बनाएको भनेर महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । यस्ता कामलाई तपाईले रोक्न केके गर्नुभएको छ?

डोजर  आवश्यकता अनुसार विकासका लागि चलाएका छौं । ठूला विकासे योजनाका लागि डोजरविना विकास असम्भव भएकाले कुनकुनै ठाउँमा चलाउनै पर्ने हुन्छ । तर नाम्खा पर्यटकीय गन्तब्य भएकाले हाम्रो गाउँपालिकाले सडक गुरुयोजना पनि बनाएको छ ।यसले विकासका नाममा हामीले जथाभावी पर्यावरण ध्वस्त हुन रोकेको छ । सिमित ठाउँमा मात्र डोजर प्रयोग गरिएको छ ।

उपभोक्ता समितिको नाममा भएको बेथितिलाई रोक्न कस्तो कार्ययोजना ल्याउनु भएको छ ?

उपभोक्ता समितिको बेथिति रोक्न सचेतना कार्यक्रम गरेका छौं। त्यस्ता कार्यक्रमबाछ विकास व्यक्तिगत नभएर समूहगत हुने सबैलाई अनुभूति गराएका छौं।  यसैमा आधारित भएर हामी अगाडि बढेका छौं । तर केही ठाउँ वा पहिले उपभोक्ता समितिमा टाठोबाठो बस्ने र केही अनिमियता भएको भन्ने सुनेका छौं र देखिन्छ पनि तर महालेखाले भने जसरी अनियमितता भएको छैन । प्राविधिक टोलिसहितको अनुगमन भइरहेको छ । त्यसकारण पनि हाम्रो गाउँपालिका उकृष्ठ छ भन्ने लाग्छ ।

स्थानीय तहमा आर्थिक अनियमिततालाई रोक्न के गर्नुभएको छ ?

अनियमितता रोक्नको लागि के गर्नु र, विकट गाउँ बस्तीमा अनुभवी कर्मचारी जान मान्दैनन् । सुगम ठाउँ खोज्छन्। तर हामीले पालिकामा आउनु भएका कर्मचारीलाई दुर्गम भत्ताको सुविधासहित थप सुविधा दिएका छौं । दुर्गम ठाउमा सेवा गर्न सजिलो होस् भनेर । त्यस कारण पनि अनियमितता नभएको देख्छु। सुशासन कायम गर्न उनीहरूलाई बेलाबेला अभिवृद्धिको तालिम पनि दिएका छौं ।

जनतालाई अग्राधिकार दिन स्थानीय तहको परिकल्पना गरिएको थियो । तपाईँको गाउँपालिकामा जनताले पाउने सेवालाई जनमुखी र प्रभावकारी बनाउन के कस्ता योजना ल्याउनुभएको छ ?

अहिले भएका कार्यक्रमलाई नियमित गर्दै अर्को पञ्चवर्षीय योजना बनाएका छौं । सुरुवाती चरणमा वडास्तरबाट योजना बनाउने नीति स्थापित गराएर दिर्घकालीन रुपमा अगाडि बढेका छौं ।

बेरोजगार युवाकाहरुलाई रोजगार दिन तपाईको योजना के-के छन्?

युवा स्वरोजगारका लागि युवा आकर्षित नीति ल्याएका छौं । योग्यता पुगेका युवालाई स्वरोजगार बनाउने र रोजगारी दिने । समूहगत रुपमा कृषि, फलफुल, च्याङग्रापालन गर्न गलाउने । होमस्टे लगायतका तालिमहरु दिएका छौं । यसले वेरोजगार युवालाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउँछ भन्ने हाम्रो निष्कर्ष छ।

अन्तमा, तपाईँको कार्यकाल सकिँदै गर्दा तपाईंले नेतृत्व गरेको गाउँपालिका कस्तो बन्छ?

मेरो कार्यकालमा बेरोजगारलाई रोजगारीको सुनिश्चितता र सुशासनमा पनि पूर्ण रूपमा  पारदर्शी बनाउन अधिकतम काम गर्नेछु ।