‘डिजिटल ठगी’मा अन्तरदेशीय अपराध : भर्चुअल प्रेमजालमा पार्नेदेखि अर्बौंको सपना देखाएर ठगी !

अस्मिता खड्का  

घटनाः १

कोरोना महामारी मत्थर भएपछि २०७९ को मंसिरताका राणा थरका एकजना रिटायर्ड सैनिक अधिकारीको मोबाइलमा इमेल आयो। जसमा लेखिएको थियो—

टर्कीमा एउटा राणा थरको व्यक्ति कोभिडबाट बित्नुभयो । धेरै पहिले टर्की आउनुभएको उहाँ ठूलो सुन व्यापारी हुनुहुन्छ, उहाँको बैंक खातामा ७६ मिलियन (७ करोड ६० लाख)डलर रकम छ । उहाँको थर पनि राणा र तपाईको थर पनि राणा भएको र सबै विवरण मिल्ने भएकोले हामीले उहाँको बैंकमा भएको सबै रकम अपुतालीको रुपमा तपाईलाई दिने निर्णय गरेका छौं। त्यो लिन तपाई तयार हुनुहुन्छ ?’

सुरुमा त उनलाई पत्याउन मुस्किल हुन्छ । तर १० अर्बभन्दा बढी नेपाली रुपैयाँ आफ्नो नाममा आउने भएपछि राणा थरका ती व्यक्तिले क्षणभरमै गाडी, बंगला, जग्गा किनेको र अर्बपती बनेकोसम्म कल्पना गरे।

त्यसपछि सोही इमेल दोहोर्‍याएर पढ्छन्। उनलाई इमेल झुटो हुनसक्ला होला भान हुँदैन । त्यसपछि इमेलको जवाफ दिन्छन्। त्यत्रो रकम आउनेबारे घरभित्र बाहेक बाहिर सरसल्लाह पनि गरेनन् । उनले केहि नसोची त्यो प्रस्ताव स्वीकारे ।

प्रस्ताव स्वीकार गरेपछि उनलाई विभिन्न कागजात तयार गर्न भनिन्छ। इमेलमा भनिएबमोजिकै कागजातहरू उनले तयार पार्छन्।

इमेलमा कुरा भएको व्यक्तिले आफू टर्कीमा रहेको र रकम प्राप्तिका लागि पहिले बीमा गर्नुपर्ने र कारोबार सहज बनाउनका लागि वकिललाई जिम्मेवारी दिइएकाले उनलाई पनि पारिश्रमिक दिनुपर्ने बताए। त्यतीमात्र होइन टर्की सरकारलाई पनि करबापत केही रकम बुझाउनुपर्ने बताए।

ती सबै कुरा मिलाउन १ करोड नेपाली रूपैयाँ लाग्ने ती व्यक्तिले बताए। बीमादेखि वकिल, कर र  सरकारी कानुन भनिएपछि रकम पाउनेमा उनी विश्वस्त बने र इमेलमार्फत भनेबमोजिमका कुराहरू मान्दै गए।

उनी ठगीने शिलशिला सोही वर्षको फागुन २५ देखि सुरू भएको देखिन्छ। १० अर्बमा लोभिएका उनले घरखेत बैंकमा धितो राखेर १ करोड रूपैयाँ इमेलमा भनिएअनुसार पठाइदिए।

त्यसपछि पटकपटक उनीसँग विभिन्न बहानामा थप पैसा माग्न थालियो। ठूलो रकम हातपर्ने अभिलाशामा ठगले भनेअनुसारका रकम विभिन्न व्यक्तिहरूको नामको बैंक खातामा पठाइरहे।

१० अर्ब पठाउने आश देखाएर उल्टो  तारान्तार पैसा माग्न थालेपछि ती व्यक्ति झन्डै एक महिनापछि अर्थात् ०७९ चैत २३ गते प्रहरीको साइबर ब्युरो गुहार्न पुगे।

उनले निवेदन दिएपछि २०८० असारमा मुद्धा दर्ता भयो । साइबर ब्युरोका साइबर ठगी अनुसन्धान शाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव खरेलका अनुसार दुई महिना लामो अनुसन्धानपछि उक्त मुद्दा अदालत पठाइएको थियो।

यो त एउटा उदाहरण मात्र हो । पछिल्लो समय यसैगरी अनलाइन माध्यमबाट ठगीका घटनाहरु बढिरहेको र ठूलो मात्रामा रकम गुमाएपछि मात्र पीडितहरु साइबर ब्युरो पुग्ने गरेको डिएसपी खरेल बताउँछन् ।

‘शेषपछिको सम्पत्ति खाने लोभमा फसेकाहरुको मात्र पाँच वटा  केसको फायल मेरो हातमा छ,’  डिएसपी खरेल भन्छन्, ‘कुनै व्यक्ति विदेशमा मर्छ, त्यो व्यक्तिको सबै विवरण तपाईसँग मेल खाएको सफ्टवेयरले देखायो । मृतकसँग अकुत सम्पत्ति छ, त्यो पैसा हामीले तपाईलाई तुरुन्त ट्रान्सफर गरिदिन्छौं । त्यो पैसा पाउनका लागि यो प्रक्रिया पूरा गर्नुपर्छ भन्ने भन्दै राणा थर गरेका व्यक्तिसँग गरेजस्तै अन्त्यमा पैसा माग्ने गरेको दर्दनाक कथाहरु आउँछन् ।’

उक्त ठगीमा संलग्न ५ जनालाई कन्चनपुर, बारा र काठमाडौंलगायत विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो । पक्राउ परेकाहरु ठगीको प्रकृतीअनुसार  १० लाख देखि ५ लाख धरौटीमा छुटिसकेका छन् । ठगीमा संलग्न १३ जना अझै फरार छन् । ब्युरोले फरार व्यक्तिहरुलाई दुई महिनाभित्र  पक्राउ गरिसक्नुपर्नेमा हालसम्म पक्राउ गर्न सकेको छैन ।

यस्तो प्रकृतीको ठगीमा नेपाली वा विदेशी नागरिक कस्को संलग्नता छ भन्ने सन्दर्भमा डिएसपी खरेल भन्छन्, ‘यो एक संगठित अपराध हो । यसमा एउटै व्यक्ति संलग्न हुँदैन। यस घटनामा विदेशी पनि संलग्न छन् कि भन्ने हाम्रो आशंका हो । फरारहरु पनि समात्न सकिएको भए विदेशी वा नेपालीमध्ये को हुन् भन्ने खुल्थ्यो । सबै व्यक्ति पक्राउ पर्न नसकेकाले पक्राउ परेकालाई मात्र बुझाइयो र केस अहिले क्लोज्डजस्तै बनाइयो ।’

उनकाअनुसार विदेशतीर यसरी ठगीने घटना पुरानै भएपनि नेपालमा भने नयाँ हो । कोभिडको समयमा त्यतीबेला ठग्नका लागि सबैलाई  टर्कीमा मृत्यु भएको सन्दर्भ लिएको पाइएको छ ।

‘यदि एउटै समूहले त्यो ठगी गरेको छ भने उसको ठगीको तौरतरिका कहानी लगभग एउटै हुन्छ । ठगीने व्यक्तिहरु मात्र फरक हुन्छन् । ठगी गर्ने व्यक्ति पत्ता लागेपछि मात्र केस अघि बढ्छ,’ खरेलले भने।

घटना-२

एकजना अधबैँसे उमेरकी महिलाको दाम्पत्य जीवनमा केही खटपट चलिरहेको हुन्छ। उनी नर्स हुन् र दुई सन्तानकी आमा पनि। श्रीमान बैंकर हुन्।

घटना गतसाल माघ महिनाको हो। फेसबुक चलाइरहँदा ती महिलालाई एउटा फ्रेन्ड रिक्वेस्ट आउँछ। महिलाले एसेप्ट गरेपछि कुराकानी सुरू हुन्छ; हाइ हेलोबाट। च्याटमा कुरा गर्नेले आफू नेपाली नै रहेको बताउँछन्।

उनले दुई महिनामै आफू धनी भएको अमेरिका, क्यानडा, बेलायत लगायतका देशमा आफ्नो घर र बिजनेस रहेको बताउँछन् । च्याट गर्दैजाँदा दुई जना बीच घनिष्टता बढ्छ। त्यसपछि उनीहरू एक अर्काको निजी विषय पनि शेयर गर्न थाल्छन्।

ती व्यक्तिले ‘मलाई तिमी असाध्यै मन पर्यो । तिम्रो नेपालबाहिर उज्ज्वल भविष्य छ’ भन्दै फुर्काउन थाल्छन् ।

धेरै कुराकानी हुन थालेपछि ती नर्सलाई अब त्यो व्यक्ति आफू जे भन्यो त्यही मान्छन् भन्नेमा विश्वस्त हुन्छिन्। एकदिन ती पुरूषले उनलाई बहुमूल्य उपहार पठाइदिएको र चाँडै नेपाल आइपुग्ने बताउँछन्।

नर्सले खुसीसाथ ती व्यक्तिलाई आफ्नो सबै विवरण उपलब्ध गराउछिन् । बक्समा प्याक गरिएको उपहारको तस्बिर पठाउँछन् । बक्सबाहिर ठेगाना र मिती स्पष्ट लेखिएको हुन्छ । उक्त उपहार पठाएको केहि दिनपछि ती व्यक्तिले राजस्व तिर्नुपर्ने भन्दै १ लाख ५० हजार रकम माग गर्छन् । त्यसका लागि नेपालको कुनै एउटा आधिकारिक बैंकको नाम र खाता नम्बर दिन्छन् । नर्सले उनले भने अनुसारको रकम सो खातामा जम्मा गरिदिन्छिन् ।

तर ती नर्सले पहिलो पटक उपहारको सामान फेला पार्दिनन् । उनलाई शंका नलागोस् भनेर ती व्यक्त आत्मग्लानी झल्किने गरी बोल्छन्। त्यसमा नर्सले पनि सामान्य रूपमा लिए।

डेढ लाख ठगेपछि थप हत्याउने प्रपञ्चको नयाँ थालनी गर्छन्। अब नर्सको पारिवारिक अवस्थाबारे चासो राख्न थाल्छन्। आफू अधिकांश समय क्यानडामा बस्ने बिजनेसकै कारण व्यस्त हुने हुँदा तत्काल नेपाल आउन नसक्ने बताउँछन्। तर, मिलाएर चाँडै नेपाल आउने र उनलाई बिहे गर्ने आश्वासन दिन्छन्।

यसपटक भने उनले ती नर्सलाई पुन उपहारस्वरुप सुन र हिराका गरगहना किनिसकेको भन्दै बक्स प्याकिङको भिडियो र तस्बिरहरु पठाउँछन् । उक्त बक्स यतीबेला नयाँ ठेगानामा पठाउँछन् । नर्स पुन मख्ख पर्छिन् । यसपटक सुन र हिराका गहना भएकोले बढि मुल्य लाग्ने बताउँछन् । नर्सले यतीबेला ५ देखि १३ लाख पैसा अर्कै बैंक खातामा पठाउँछिन् ।

नेपालमा सुन तस्करीको समाचारले समस्या पार्न सक्ने भन्दै ती व्यक्तिले नयाँ जुक्ति निकाल्छन् । यतीबेला पनि नर्सले उक्त उपहार हात पार्दिनन् । तरपनि ती व्यक्तिले त्यती सानो रकमको लागि चिन्ता नगर्न र चाडै आफूले उपहार र खर्चबराबरको पैसा पठाइदिने आवश्वासन दिन्छन्।

यसरी ती व्यक्तिले नर्ससँग पैसा असुल्न नयाँ नयाँ कहानी बुन्छन् । कहिले उपहार पठाएको, कहिले आफ्नो बिजनेस घाटा भएको त कहिलेकाहि अर्बौं पैसा निकाल्न लाखौं रकम नगद अभाव भएको भन्दै विभिन्न कहानी सुनाएर उनले नर्ससँग ४८ लाख  रूपैयाँ रकम ठग्छन्।

झन्डै आधा करोड ठगीएपछि मात्रै ती महिला साइबर ब्युरोमा उजुरी दिन पुगेकी थिइन्।  व्युरोकाअनुसार ती व्यक्तिले भनेअनुसार नर्सले नेपालका विभिन्न बैंकमा रहेको विभिन्न व्यक्तिको खातामा रकम पठाएकी थिइन् । नर्स ती व्यक्तिको भर्चुअल प्रेमजालमा फसेको र ती व्यक्तिले देखाएका विभिन्न प्रलोभनमा परि आफूसँग भएको सबै सम्पत्ति गुमाएकी थिइन् । फेसबुकमा कुरा हुन थालेको ३ महिनादेखि १० महिनाको अन्तरालमा ती नर्सले ४८ लाख रकम ठगलाई बुझाएको अनुसन्धानबाट खुलेको छ । हाल उक्त केसमाथि अपराध महाशाखा नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको साइबर ब्युरोले जनाएको छ ।

घटना-३

एक जना कार्की थरको महिला इन्स्टाग्रामको प्रयोगकर्ता हुन्छिन् । झन्डै चार महिनाअघिको एक साँझ सदाझै उनी इन्स्टाग्राम चलाइरहेकी (स्क्रोल) हुन्छिन् । सोहि क्रममा ती महिला एउटा ‘स्पोन्सर्ड एड’ जस्तै कुनै एउटा व्यक्तिको प्रोफाइलमा पुग्छिन्।

ती महिलाले उक्त प्रोफाइलमा क्लिक गर्छिन् । उनले त्यहाँ १ लाख लगानीमा १५ लाखसम्म रकम पाइएको पोष्टहरु देख्छिन् । त्यो व्यक्तिको प्रोफाइल हेरेपछि उनलाई लाग्छ, ‘ओहो! सानो लगानीमा ठुलो आम्दानी ? यो त गज्जब रैछ ।’

त्यसपछि ती महिलाले उक्त प्रोफाइल भएको व्यक्तिसँग कुरा सुरु गर्छिन् । ती व्यक्तिले ‘यसमा लगानी गर्नुभयो भने भाग्य चम्किन्छ, यतीजनाले यती लगानी गरेर यती कमाए, कैयौं मानिस यस्तै लगानीबाट मालामाल भैसकेको भन्दै महिलालाई विश्वस्त पार्छन् । सुरुमा ती व्यक्तिले महिलाको विश्वास जित्न ५०० को लगानीमा एक हप्ताको कमाई ५ हजार भन्दै रकम पठाइदिन्छन् । त्यसपछि उनले कुनै एउटा नेपाली बैंकको खातामा रकम जम्मा गर्न आग्रह गर्छन् । झन्डै तीन महिना लामो इन्स्टाग्रामको कुराकानीपछि कार्की थरकी महिला ती व्यक्तिसँग कारोबार सुरु गर्छिन् । उनले छोटो समयमा लाखौ रकम कमाउने लोभमा ३ लाख रकम लगानी गर्छिन् । ती महिलाले एक महिनापछि मात्र त्यो रकम ठगको फन्दामा परेको थाहा पाउँछिन् ।

कार्की थरकी महिलालाई ठगी गर्ने व्यक्ति विदेशी नागरिक भएको र उनले फोरेक्स कारोबारमार्फत ती महिलाजस्ता अन्यलाई पनि फसाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सर्बसाधारणलाई प्रलोभनमा पार्न वा विश्वास दिलाउन ठगहरुले टिकटकमा नक्कली भिडियो, स्क्रिनसट, तस्बिर पोष्ट गरेका हुन्छन् । इन्स्टाग्राममा आफूले गरेका नक्कली कारोबारका स्क्रिनसट राखेका हुन्छन् । कतिपय अवस्थामा कुनै व्यक्तिको अकाउन्ट नै ह्याक गर्छन् । उक्त अकाउन्टको च्याटमार्फत साथीहरुलाई आफूले बिटक्वाइनमा लगानी गरेर मनग्य कमाइरहेको र अरुहरुलाई लगानी गर्न भन्छन् । यसरी ठगहरुले अनेक चाल चलेका हुन्छन् ।

उजुरी नपरेका मुद्दा

घटना-४

खासै फेसबुक नचलाउने कपन अस्थायी बसोबास भएकी राई थरकी एक युवतीलाई एक दिन बिलि केन्ट नामक प्रयोगकर्ताबाट फेसबुकमा साथी बन्न रिक्वेस्ट आयो । प्रोफाइल हेर्दा लेखिएको थियो– ‘म एक आधिकारिक पुराना मुद्रा संकलक हो । मैले हाल नेपाल, ताइवान र बंगलादेशबाट पुराना मुद्रा खरिद गरिरहेको छु ।’

त्यतिमात्र होइन, उनका धेरैजसो पोस्टमा नेपाली मुद्रा उच्च मुल्यमा खरिद गरिएको उल्लेख थियो । राजाको तस्बिर भएको नेपाली मुद्राको एउटा कागजकाे नोटको २० हजार र सिक्काको मुल्य १० हजार रूपैयाँ तोकिएको थियो ।

ती युवतीले तुरुन्तै रिक्वेस्ट एसेप्ट गरिन् । त्यतिमात्रै होइन उनीसँग मेसेन्जरमा कुराकानी पनि गर्न थालिन् । मेसेजमा ती व्यक्तिले एउटा पुरानो नोटको मुल्य ३० हजार र सिक्काको १५ हजार नेपाली रुपैयाँ दिने बताए ।

ती प्रयोगकर्ताले आफूले २० वटा सिक्का र १० वटा कागजी नोट जम्मा गर्नुपर्ने र कुरियरमार्फत आफ्नो ठेगानामा पठाउनुपर्ने बताउँछन् । सुरुमा ती व्यक्तिले सो सामान खुलेआम कसरी प्याक गर्ने र कसरी पठाउने भन्नेबारे नमुना भिडियो पठाउँछन् । ‘सामान प्याक गर्नेबित्तिकै ७५ प्रतीशत पेश्की रकम बुझ्ने या सबै सामान पठाइसकेपछि रसिद देखाएर सबै रकम एकमुष्ट लिने’ ती व्यक्तिले दुइटा विकल्प दिन्छन् । ती युवतीले सुरुमा सबै सामान पठाएर एकमुष्ट रकम लिने बताउँछिन् र नजिकैको कुनै कुरियरबाट सामान पठाउँछिन् । सामान पठाएको रसिद ती व्यक्तिलाई म्यासेन्जरमा पठाउँछिन् ।

ती व्यक्तिले युवतीको खाता नम्बर र नागरिकता प्रमाण पत्र माग्छन् । रसिद बुझाएको आधा घण्टाभित्र युवतीलाई बैंक अफ अमेरिका फ्लोरिडा सरसोटाबाट इमेल आउँछ । इमेलमा ४ लाख २० हजार रकम पठाइसकेको र विदेशी बैंकसँग कारोबार गर्दा २० हजार रकम भन्सार बुझाउनुपर्ने उल्लेख गरिएको हुन्छ । युवतीले ती व्यक्तिलाई सोध्छिन् । ती व्यक्तिले जम्मा रकम ६ लाख बढी भएको र २० हजार तिरेपछि बैंक अफ अमेरिकाले पठाएको ४ लाख २० हजार तुरुन्त आफ्नो खातामा आउने बताउँछन्।

यति आश्वासन पाइसकेपछि आफ्नो खातामा आएको सो रकम चाडो निकासा हुने लोभमा ती युवतीले खल्तीमार्फत सुरुमा २० हजार पठाउँछिन् । २० हजार पठाउँदा पनि देखिएको रकम निकासा नभएपछि ती व्यक्तिले पुनः  १० हजार पठाउनुपर्ने बताउँछन् । उनले पुन खल्तीमार्फत १० हजार रकम बुझाउँछिन् । फेरि पनि पैसा निकासा नभएपछि ती युवतीलाई शंका लाग्न थाल्छ ।

युवती एक विद्यार्थी हुन् । हाल आफूले ३० हजार पैसा गुमाएको र मानसिक तनाव झेलिरहेको बताउँछिन् । ‘लाखौ रकम आउने भएपछि मैले आमाको एटिएमबाट सुटुक्क पैसा झिकेर ३० हजार बुझाएको थिएँ’ नाम नबताउने शर्तमा उनी भन्छिन्, ‘पैसा बुझाएपछि त्यो मान्छेले मलाई ब्लक गरेको रहेछ । अहिले पो शंका लाग्दै छ कतै म ठगीएकी ? आमाले जम्मा गरेको त्यत्रो पैसा गुम्यो । कहाँबाट ल्याएर दिऊँ ? सबैले कराइराख्नुभएको छ । यस घटनाबारे मैले कसैलाई जानकारी दिन सकेको छैन । तनाव मात्र भइरहेको छ ।’

ती युवतीले आफू निकट अन्य केहि साथीहरुलाई पनि पुराना नोटको सट्टा डलर आउनेबारे बताएकी थिइन् । उनका साथीहरुले पनि आफू ठगीएको  बताएका छन् । पुराना नोटबारे कानुन थाहा नहुँदा साइबर ब्युरोमा जान पनि डर लागेको उनी बताउँछिन् ।

‘ठगीमा परेँ भन्दै उजुरी हाल्न जाउँ भनेपनि पुराना नोट पठाइसकेँ । यसबारेको कानुन पनि थाहा छैन’ उनी भन्छिन्, ‘उजुरी हाल्दा उल्टै अर्को कानुनी झन्झटमा परेँ भने के गर्ने ? अन्जानमा म कहाँ फसेँ ? डर लागिरहेको छ ।’

राई जस्ता युवतीलाई खुलेआम ठगी गरिरहेका केटाले फेसबुक मात्र नभई इन्स्टाग्रामबाट पनि त्यस्तै कारोबार गरिरहेको पाइएको छ । फेसबुकमा विलि केन्ट नाम राखेका ती व्यक्तिको इन्टाग्राममा जेपेथ रिभ्स नाम राखेका छन् । उनको इन्स्टाग्राम अकाउन्ट २०२२ अगष्टदेखि सञ्चालनमा रहेको छ । उनले ‘पैसाले तपाईंलाई खुसी नदिएपनि कमसेकम दुखमा साथ दिन्छ । पुराना मुद्रासँग राम्रो दाम पाउन ढिला नगरी तुरुन्तै म्यासेज गर्नुहोस् !’ भन्दै खुलेआम सोझासाझा प्रयोगकर्तालाई ठगीरहेको देखिन्छ ।

पुराना मुद्राबाट हुने ठगीसम्बन्धी हालसम्म कुनैपनि उजुरी नआएको र आफूहरुलाई थाहा नभएको साइबर ठगी शाखाका प्रहरी नायब उपरिक्षक खरेल बताउँछन् । ‘ठगीको प्रकृती अलिकती फरक भएपनि पुराना नोट तथा सिक्का सम्बन्धी हालसम्म कुनैपनि उजुरी आएका छैनन्’ उनी भन्छन्, ‘तर यस्तै प्रकृतीका अन्य घटना भने थुप्रै छन् । विदेशबाट पार्सल पठाएको भन्दै त्यसको सट्टा राजस्व तीर्नुपर्ने भन्दै ठगी गर्ने प्रचलन अहिले बढेको छ ।खासमा पिडितहरुले दर्ता गर्दैनन् । दर्ता भएका मुद्धामा दोषीलाई कारबाही गरिएको छ ।’

साइबर ब्युरोमा ठगी गरेको सम्बन्धमा दर्ता गर्न डराउन नहुने अनुसन्धान शाखाका खरेल बताउँछन् । “नेपाली मुद्रा विदेश पठाइयो अब कानुन लाग्न सक्छ भन्दै डराएर मुद्धा दर्ता नगर्नेहरुले पनि डराउनुपर्दैन” उनी भन्छन्, “यस्तो किसिमको ठगीलाई पनि साइबर ब्युरोले हेर्छ । पीडितको नियत हेरी केस अघि बढाइन्छ र दोषीलाई कारबाही गरिन्छ।”

पछिल्लो समय साइबर ब्युरोमा एकैनाशका नभई थरीथरीका ठगी केसहरु आउन थालेका छन् । जसमा पुराना नोट तथा सिक्काको सट्टा डलर साट्नेजस्तै डरलको लोभ देखाएर सामानहरु मगाउने, बहुमूल्य सामानहरु आइफोन जित्नुभयो, अनलाइन सामान डेलिभरी, यती पैसाको चिठ्ठा हात पर्यो, विदेश पठाउने, बोनस प्राप्त गर्नुभयो, कोठा खोज्ने, अनलाइन जागिर दिलाउने, अनलाइनमार्फत प्रेमजालमा पारेर पैसा असुल्ने लगायतका घटना बढेको साइबर ब्युरोले जनाएको छ ।

‘सुरुमा पैसाको लोभ देखाउँछन्, पछि उनीहरु आफैले तपाईंको सामान रोकिएको छ भन्दै विभिन्न बहानामा पैसा माग्न थाल्छन्’ डिएसपी खरेल भन्छन्, ‘पैसा नदिएमा विभिन्न धम्की तथा कानुनी त्रास देखाएर हुन्छ या फकाएर उनीहरू बार्गेनिङ गर्न थाल्छन् र ल्टै पैसा असुल्छन् ।’

फिफिया र क्रिप्टोसँग सम्बन्धित लगानीमा हाइप्रोफाइल व्यक्तिहरु पनि फस्ने गरेको साइबर ब्युरोले जनाएको छ । साइबर ब्युरोका अनुसार क्रिप्टोकरेन्सी बाइनान्स, बिटक्वाइनजस्ता डिजिटल पैसासँगै फोरेक्स र मेटाजस्ता ट्रेडमार्फत आफ्नो लगानीको दोब्बर तेब्बर रकम आउने प्रलोभनमा सर्बसाधारणहरु फसिरहेका छन् । यी सबै विदेशबाट सन्चालित हुन्छन् । अनलाइनमार्फत हुने यस्तो किसिमको लगानी र सट्टेबाजीसँग सम्बन्धित कारोबारहरु नेपालमा प्रतिबन्धित छन् ।

डिजिटल ज्ञान अभावमा ठगीन्छन् प्रयोगकर्ता

विभिन्न तरिकाले मान्छेलाई बेवकुफ बनाउने काम अहिले अनलाइन माध्यममा हुने गरेको छ । साक्षर तर अल्पज्ञान भएका व्यक्तिहरु ठगी गर्ने व्यक्तिहरुको लक्षित समूह हुन् ।

‘स्मार्ट फोन प्रयोग गरेपनि हामी स्मार्ट बन्न सकेका छैनौं । यहि नै विभिन्न ठगी र साइबर अपराधको सिकार हुनुको कारण हो’ डिएसपी खरेल भन्छन्, ‘सामाजिक सञ्जाल चलाउनै नजान्ने व्यक्ति ठगीएको उदाहरण छैन, जानेकै व्यक्तिहरु ठगीएको पाइएको छ । ठगहरुले दायाँबायाँ नसोच्ने व्यक्तिलाई फन्दामा पार्न कहानी यथार्थजस्तै बनाउँछन् । नक्कली कागजपत्र पनि सक्कलीजस्तै बनाएका हुन्छन् । स्मार्ट फोन प्रयोग गर्नलाई स्मार्टफोन प्रयोग गर्ने व्यक्ति पनि उत्तिकै स्मार्ट हुन जरुरी छ । हामी स्मार्ट भएनौं भने अर्को स्मार्ट व्यक्तिले सहजै फसाइदिन्छ ।’

 

साइबर व्युरोले विगत डेढ वर्षदेखि साइबर ठगीमा परेकाहरुको अनुसन्धानको जिम्मा लिएको छ । ब्युरोको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १७ सय ९५ वटा अनलाइन ठगीका  मुद्दा दर्ता भएका थिए । जसमा ८२३  मुद्दा अनुसन्धान सकिएकाे छ, भने ९७२ मुद्दाकाे  अनुसन्धान जारी छ । यस्तै चालु आर्थिक वर्षको साउन १ देखि हालसम्म ८५२ वटा अनलाईन ठगीका मुद्दा दर्ता भएका छन् । यी सबै अनुसन्धानकाे दायरामा छन् ।

साइबर ब्युरोको पछिल्लो तथ्यांकअनुसार सामान्यतया अनलाइन जब, अनलाइनमार्फत प्रेममा परेको नाटक गर्दै पैशा असुल्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी चिट्ठा परेको, पार्सल पठाउने, कोठा खोज्नेमा १० हजारदेखि लाखौसम्म सामान्य प्रकृतीका साइबर ठगीहरु देखिएका छन् भने शेषपछि पाइने सम्पत्तिको हकमा भने १० लाखदेखि १ करोडसम्म ठगी भएको घटनाहरु छन् । ठगीने प्रक्रिया फरक भएपनि अन्तत सामान रोकिएको छ भन्दै असुल्ने गरेको घटना थुप्रै भएको साइबर ब्युरोले जनाएको छ । ठगले वास्तविक पहिचान लुकाएर आफू व्यापारी, धनाढ्य, सेना, इन्जिनियर, डाक्टर पेशाको बताउदै ठग्ने गरेको साइबर ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

ठगीएको कसरी थाहा पाउने ?

यदि कुनै अपरिचित व्यक्तिले मोटो रकम, उपहार, बहुमुल्य सामग्रीको लोभ देखाउँछ भने आफू ठगीन लागेको अनुमान गर्नुपर्छ ।

साथै पछिल्लो समय अन्जान व्यक्तिले निजी विवरण, निवस्त्र तस्बिर वा भिडियो माग्छ भने त्यसको पछाडि कुनै न कुनै स्वार्थ छ भन्ने बुझ्नुपर्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रलोभनमा पर्न नहुने  र सहजै पैसा आउने लोभमा आफ्नो विवरण दिन नहुने डिएसपी खरेलको सुझाव छ ।

‘चिन्नु न जान्नुको मान्छेले निवस्त्र तस्बीर वा भिडियो माग्छ भने टाढै बस्ने, ताकी यस्तो कुराहरु हतियारका रुपमा प्रयोग नहोस्’ उनी थप्छन्, ‘यदि  कसैले पार्सल वा अन्य सामग्रीको सट्टा पैसा माग्छ भने शंका गर्ने, कसैले प्रलोभनमा पार्छ भने विश्वास नगर्ने गर्नुपर्छ । प्रयोगकर्ता आफै होसियार हुनुपर्छ ।’ उनका अनुसार सामाजिक सञ्जाल वा सन्चार माध्यममार्फत नागरिक सचेतना अत्यावश्यकछ । बैंक वा वालेट कम्पनिको नाममा बोनस हालिदिन्छु, बहुमूल्य सामान दिन्छु भन्दै फोन गर्छन् । त्यसका लागि ओटिपी नम्बर माग्ने र ठगी गर्ने गर्छन् । यस्तो अवस्थामा ओटीपी र पासवर्डहरु दिनुहुँदैन ।

साइबर अपराधमा कमजोर कानुन

सामाजिक सञ्जालमार्फत हुने ठगीमा संलग्न अधिकांश व्यक्तिले विदेशी नम्बर प्रयोग गर्दा अपराधी समात्न र अनुसन्धानमा जान समय लाग्ने गरेको डिएसपी खरेल बताउँछन् ।

‘नेपाली नम्बर प्रयोग भएमा चाडो समात्न सकिन्छ । तर विदेशी नम्बर भएपछि हामीलाई पत्ता लगाउन समय लाग्ने र इन्टरपोलको च्यानल समात्नुपर्ने हुन्छ’ उनी भन्छन्, ‘त्यसैले उनीहरुले विदेशी नम्बर प्रयोग गरेका हुन्छन् र अपराधी समात्न समय लाग्छ । अन्तरदेशीय कानुनी सहायता सम्झौता हुन्छ । जुन सम्झौता नेपालमा छैन र ढिला हुन्छ । यो सम्झौता नभएका कारण हामीले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम कम्पनीलाई अनुरोध गर्छौ र यि कम्पनीहरुले समय लगाउँछन् ।’

साइबर ठगीसम्बन्धी कुनैपनि केसहरु समाधान गर्नसमेत सहज नहुने साइबर ठगी अनुसन्धान शाखाका खरेल बताउँछन्।

‘अपराधमा जस्तोसुकै केसहरु पनि जटिल हुने हुदा केसहरु समाधान गर्न निकै अप्ठेरो हुन्छ,’ उनी भन्छन्,  ‘कुनैपनि केस समाधान गर्न हामीलाई मोटामोटी ६ महिना समय लाग्छ । कतीपय अवस्थामा पिडितले न्याय पाउँछन् । सामान्य केसहरुमा पीडित र दोषीबीच मिलापत्र गराइन्छ । क्षतीपूर्ति तिर्न लगाइन्छ । जटिल तथा एक करोड या सोभन्दा माथिको ठगीको केसहरु अदालतमै जान्छ ।’

नेपालमा साइबरसम्बन्धी कानुन २०६३ सालमा बनेको थियो । पछिल्लो समय तीव्र बनिरहेको साइबर अपराधबारे सो साइबर कानुन निकै पुरानो र अपर्याप्त भएको डिएसपी खरेल बताउँछन् ।

‘२०६३ सालमा बनेको साइबर कानुनका प्रावधानहरु पुरानो मात्र नभई अपर्याप्त छन्,’ उनी भन्छन्, ‘जस्तै साइबर ठगीमा पक्राउको लागि राखिएको ३५ दिने हदम्याद अपुर्ण छ । यसमा पीडित घटना भएको ३५ दिनभित्र नभई एक वर्षपछि वा जहिले पनि आउन सक्छन् । साइबर अपराध अनुसन्धानका क्रममा हामीले फेसबुक, इन्स्टा, टिकटक, गुगललगात विभिन्न सामाजिक सन्जालहरुसँग विवरण माग्न सहयोग माग्नुपर्छ । हाम्रो सरकारले ती देश वा ती कम्पनीहरुसँग कुनैपनि किसिमको ‘म्युचुअल लिगल एसिसटेन्स’ सम्झौता गरेको छैन।’

यदी ती कम्पनीहरुले चाहेको खण्डमा कुनै विवरण उपलब्ध नगराउने हो भने नेपालमा साइबर ठगीका पिडितको संख्या झनै बढ्ने जोखिम रहेको समेत उनी बताउँछन् ।

अनौपचारिक समन्वयको कारणले हालसम्म ती कम्पनीहरुले हामीलाई सहयोग गर्छन्,’ डिएसपी खरेल भन्छन्, ‘तर हाम्रो सरकारसँग औपचारिक कानुनी सम्झौता नभएकाले ती कम्पनीहरु यस्ताखाले विवरण दिन बाध्य हुँदैनन् । सरकार-सरकारबीचको  सम्झौता छ भने तुरुन्तै विवरण दिन बाध्य हुन्छन् । उनीहरुले चाहेको खण्डमा हामीलाई सहयोग नगर्न पनि सक्छन् । औपचारिक सम्झौता नहुदा वित्तिकै हरेक काम रोकिन्छ । हामीलाई गाह्रो पर्छ । यदी कुनै दिन ती कम्पनीहरुले हामीलाई सहयोग गरेनन् भने पीडितहरुको संख्या झनै बढ्ने जोखिम छ।’

सिफारिस