Exclusive : धादिङ्गको चेपाङ बस्तीमा किर्ते हस्ताक्षर गरेर ढुंगाखानीको अवैध लाइसेन्स लिएको खुलाशा !

अस्मिता खड्का  

धादिङको थाक्रे गाउँपालिका ७ सातकिल्लास्थित ठाडोखोलामा सञ्चालित श्री कुमारी माता रोडा ढुंगा उद्योगले जग्गाधनीको नाम थर र दस्तखत कीर्ते गरी लाइसेन्स लिएको खुलेको छ ।

थाक्रे गाउँपालिका ७ स्थित अम्बाघारीका चेपाङ समुदायका व्यक्तिको नाम थर र दस्तखत कीर्ते गरी साधारण निर्माणमुखी ढुंगा उत्खननको लाइसेन्स लिएर उक्त ढुंगा उद्योग सञ्चालनमा आएको खुलेको हो । कम्पनिका तत्कालिन संचालक राजु खड्गीसहितका व्यक्तिहरुको मिलेमतोमा किर्ते गरिएको पाइएको हो ।

गुगल स्याटेलाइटबाट लिइएको श्री कुमारी माता रोडा ढुंगा उद्योगले उत्खनन् गरेको क्षेत्र

दियोपोष्टले लामो खोज अनुसन्धानपछि श्री कुमारी माता रोडा ढुंगा उद्योग प्रालीका सञ्चालकले व्यक्तिको घर र भोगचलन गर्दै आएको जग्गााको कीर्ते कागज बनाई कम्पनीको नाममा लाइसेन्स लिएका छन् । उद्योग सञ्चालकले चेपाङ समुदायका लेखपढ नै गर्न नजान्ने व्यक्ति कृष्ण बहादुर प्रजाको नाम, थर र दस्तखत कीर्ते गरेका छन् । कीर्ते कागजअनुसार उक्त उद्योगको लाइसेन्स प्रजाले भोगचलन गर्दै आएको घरजग्गामा पर्न जान्छ । त्यस्तै उनकै छोरी समिक्षा प्रजाको पनि नक्कली सहमति पत्र र मञ्जुरीनामा तयार पारि हस्ताक्षर गरिएको भेटिएको छ ।

कसरी बन्यो नक्कली कागजातको आधारमा सक्कली लाइसेन्स ?

श्री कुमारी माता रोडा ढुंगा सञ्चालनमा आएको झन्डै एक दशकपछि अर्थात् २०७२ सालको भुकम्पपछि सञ्चालक उद्योगको लाइसेन्स लिने प्रक्रियामा जान्छन् । जसअनुसार खानी तथा भुगर्भ विभागले लाइसेन्स प्राप्तीको प्रक्रियामा जान केहि कागजात अपुग भएको भन्दै २०७२ साल माघमा उद्योगलाई पत्राचार गर्छ । विभागले कित्ता न ४९८ र ४६८ को जग्गाधनीको नागरिकता प्रतिलिपि, कित्ता न. ५०४ र ५०६ को लालपुर्जा र जग्गाधनीको नागरिकता प्रतिलिपि र कित्ता न. २७०, २७६, २७९, २८१ र २८६ को मन्जुरीनामा जग्गाधनी लालपुर्जा र नागरिकता प्रतिलिपिसहित थप कागज माग गर्छ ।

अवैध खानी हेरेर दियाेपाेस्टकर्मीसँग प्रतिक्रिया दिँदै प्रजा

सो पत्रअनुसार उद्योग सञ्चालकले खनिज पदार्थ ढुंगा उत्खनन गर्न जग्गाधनी कृष्णबहादुर प्रजाले कित्ता न ४६८, ४९६, ४९९ को जग्गा मन्जुरनामा गरिसकेको र प्रति ट्रिफर ६ सय का दरले १० वर्षको लागि उद्योगको नाममा सारिएको कागज बनाउँछन् । उक्त कागजमा मन्जुरनामा जग्गाधनी कृष्णबहादुर प्रजा र सञ्चालकको तर्फबाट ध्रुव भट्टचनबीच मिति २०७१ पुषमा सम्झौताको कागजात तयार हुन्छ । सम्झौतामा स्थानीयका तर्फबाट भन्दै राजु खड्गी, रमेश खड्की र चित्रबहादुर पण्डित साक्षी बसेको कागजमा उल्लेख छ । सम्झौतापश्चात सन्चालकले सम्झौता पत्र, जग्गाको टोपोसिट, नागरिकता प्रतिलिपि, जग्गाधनी प्रमाणपत्र संकलन गर्छन् । उक्त प्रक्रियाअनुसार खानी विभागले उद्योगलाई २०७३ सालमा लाइसेन्स उपलब्ध गराउँछ । तर सम्झौताको अन्तिममा सबै सक्कल कागज सहि छ भन्दै हस्ताक्षर गर्ने व्यक्ति पनि उनै राजु खड्गी देखिन्छन् । एकातिर उनी साक्षी बसेका छन् भने अर्कोतिर उनी संचालक बनेका छन् । उनै राजुले उक्त खानी अहिले मनोज सिग्देल, तुल्सी पोखरेल लगायतको समुहलाई बेचेका छन् ।

तर हाल उक्त सम्झौता पत्र र दस्तखत नक्कली भएको पाइएको छ । वास्तवमा कृष्णबहादुर प्रजा आफैमा लेखपढ गर्न नजान्ने व्यक्ति हुन् । उनले प्रौढ शिक्षा मात्र हासिल गरेका छन् । जसअनुसार कृष्णबहादुरले आफ्नो नाम त्यो पनि अस्पष्ठ रुपमा लेख्छन् भने बैंकिङ कारोबार या अन्य दस्तखत कार्यमा उनले औठा छाप लगाउने गरेको उनका छोरा सुयोग प्रजाको दाबी छ ।

‘कम्पनीको नाममा जग्गा नभइन्जेल कम्पनीको लाइसेन्स बनाउन नमिल्ने भएर उहाँहरुले लाइसेन्स बनाउनको लागि हाम्रो लालपुर्जामा भएको सबै जग्गा हाल्नुभएको रहेछ’ सुयोग भन्छन्, ‘उनीहरु आफैले कागज बनाएर आफैले दस्तखत गरी विभागलाई बुझाएको हो । त्यसबारे हामीलाई केहि थाहा थिएन । बुवालाई लेखपढ गर्न नि आउदैन । दस्तखत पनि गर्न आउदैन । उहाँ प्रौढसम्म पढ्नुभएको हो । नामको दस्तखत गर्नुपरेपनि अस्पष्ट गर्नुहुन्छ । बैंकिङ, वडाहरुको काममा औंठा छाप लगाउनुहुन्छ ।’

 

यति मात्र नभई उद्योग सञ्चालकहरुले मन्जुरीनामा पत्रमा कृष्णबहादुरकी छोरी सीता प्रजा भनेर उल्लेख गरेका छन् । वास्तवमा उनकी छोरीको नाम सिता नभई समिक्षा प्रजा हो । बोलिचालिमा उनलाई सिता नामले बोलाउने भएपनि नागरिकतामा उनको नाम समिक्षा नै छ ।

 

खानी तथा भूगर्भ विभागमा किर्ते तथा जालसाजी गरि बुझाइएको नक्कली सहमति पत्र, मन्जुरीनामा, कृष्ण बहादुर प्रजाको नागरिकतासहितको कागजात

 

ढुंगा, गिट्टी, वालुवा उत्खनन्, बिक्रि तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ अनुसार नदीजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेका स्थान तथा क्षेत्रहरु हुनुपर्छ । साथै खानी उद्योग दर्ता गरी सञ्चालन गर्ने ठाउँमा कम्तीमा २० रोपनी वा सो बराबर क्षेत्रफल भएको निजी वा लिजमा लिएको जग्गा आवश्यक पर्ने मापदण्ड छ ।

तर मापदण्डअनुसार उक्त उद्योगसँग पर्याप्त जग्गा नभएपछि झुक्क्याएर स्थानियको नाममा कीर्ते कागज बनाएर आफ्नो जग्गामा लाइसेन्स लिएको हुन सक्ने स्थानिय अर्थात् कृष्णबहादुरका माइला छोरा सुयोग प्रजाको बुझाई छ । ‘कम्पनीको नाममा जम्मा ५ रोपनी जग्गा छ’ उनी सुनाउँछन्, ‘मापदण्डअनुसार जग्गाको क्षेत्रफल नपुगेपछि उनीहरुले लाइसेन्सको लागि हामीलाई झुक्क्याएर नक्कली कागज पेश गरी लाइसेन्स झिकेको हुन सक्छ । त्यो लाइसेन्स झिक्दा हाम्रो घर जग्गा नै परेछ । उनीहरुले ५ रोपनी सार्बजनिक जग्गा, ८ रोपनी हाम्रो र १५ रोपनी अरुको जग्गा लिएर हाम्रो कागज बनाउनुभएको रहेछ ।’

यसमा प्रजाको मात्र नभई झन्डै १० वटा चेपाङ समुदायको घरधुरी र ६ वटा अन्य समुदायका घरधुरी भएको आम्घारीका व्यक्तिको घरजग्गामाथि सञ्चालकले २०७२ मा नक्कली कागज बनाई खानी तथा भुगर्भ विभागबाट ढुंगा खानी उत्खननको लाइसेन्स लिएको आरोप छ । कुनै समय काठमाडौंको न्युरोड क्षेत्रमा डाक्टर ग्याङ्गको नेतृत्व गर्ने राजु खड्गी आपराधिक पृष्ठभूमीका व्यक्ति हुन् । उनीमाथि विभिन्न आपराधिक घटनामा संलग्नता भएको आरोप छ ।

जग्गाधनीलाई ८ वर्षपछि मात्र जानकारी

आम्बारी बस्तीमा चेपाङ समुदायका व्यक्तिहरुको बाहुल्यता छ । झन्डै १६ घरधुरीमध्ये १० घरधुरीमा चेपाङ समुदायका व्यक्तिको बसोबास छ । उक्त ढुंगा खानीका कारण आम्घारी बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।

सुयोग र उनकी दिदी सीता प्रजाले १० कक्षासम्म पास गरेका छन् । उनीहरुबाहेक उक्त चेपाङ बस्तीमा अन्य व्यक्ति साक्षर छैनन् । उद्योग सञ्चालकले आफ्नो दस्तखत र सम्झौता प्रजालाई थाहै नदिई गरेको पाइएको छ । उक्त नक्कली कागजबारे आफुहरुले मन्जुरीनामा भएको झण्डै ८ वर्षपछि अर्थात् २०८० असारमा सर्बोच्च अदालतमा मुद्धा परेपछि मात्र थाहा पाएको सुयोगको भनाई छ ।

‘कागज हेर्दा ०७१ सालको मिति राखेर ०७२ सालमा दस्तखत गरिएको देखिन्छ । हाम्रो जग्गा राखेर मन्जुरीनामा गरेर लाइसेन्स झिक्नुभएको रहेछ’ उनी भन्छन्, ‘जुन हामीलाई थाहै थिएन । सर्बोच्चमा परेको मुद्धापछि कागज चाहिने हुदा गत पुष १ मा खानी विभाग गएका थियौ । र ३ गते कागज झिक्दा मात्र आफ्नो नाममा नक्कली कागजसमेत बनेको रहेछ भन्नेबारे थाहा पाएका थियौ । उनीहरु आफैले होटेलमा बसेर कागज बनाएर धादिङ जिल्ला प्रशासनमा बुझाएजस्तो छ ।’

 

उद्योग सञ्चालकले बनाएको नक्कली कागजमा भुकम्पपछि निर्मित कृष्णबहादुर प्रजा र उनकी छोरी सीता प्रजाको टिनका टहराहरु भत्काउने सहमती भएको र त्यसबापतको क्षतीपुर्ती दिनेबारे सम्झौता भएकोबारे उल्लेख छ । तर, हालसम्म विभागमा बुझाईएको सम्झौता अनुसार न टहरा भत्काइएको छ न त सम्झौतामा उल्लेखित भाडा नै प्रजाको परिवारलाई दिइएको छ । ‘यो सम्झौता विभागलाई देखाउनका लागि मात्रै बनाइएको हो । खानी विभागले यस्तो किर्ते कागजातको आधारमा कसरी लाइसेन्स दियो ? त्यस्ता अधिकारीमाथि पनि फौजदारी कसुरजन्य कारबाही हुने ठाउँ प्रशस्त छ,’ यो मुद्दाको वकालत गरिरहेका अधिवक्ता मोहन साशंकर भन्छन्,‘राज्यका निकायहरु नै निकम्मा भएपछि यस्तो अपराध हुनु नौलो विषय नै भएन ।’


उद्योग सञ्चालकले लिएको उक्त स्थानमा भुकम्पपछि राहत पुर्ननिर्माणअन्र्तगत ९ वटा भवन निर्माण भएका छन । प्रजाकाअनुसार भुकम्पअघि र पछि बनेका घरहरुमा स्थानियहरु ब्सोबास गर्दै आएका छन् । कागजमा उल्लेख गरिएका सबै विवरणहरु समेत झुटा भएको र गाउँपालिकाले यसमा साथ दिएको हुन सक्ने प्रजाको भनाई छ । ‘हामी सबैको ढलान घर छ। त्यहाँ कागजमा पनि सबै झुटो विवरण पेश गरेका छन् । बुवासहित हामी तीनजना दाज्भाइ र दिदीको घर ढलान छ’ उनी भन्छन्, ‘त्यसबाहेक गाउपालिकालाई सबै थाहा हुनुपर्ने हो । गाउपालिकाले २०७९ सालमा उद्योगको लाइसेन्स नविकरण गरिदिएको छ कसरी गर्यो थाहा भएन । प्रारम्भिक वातावरण परिक्षण(आइईई) गर्दा पनि कसैले केहि भनेनन् । सर्बोच्चमा मुद्धा परेपछि सर्वोच्चले गाउपालिकासँग आइईइ गरेको कागज दिन आदेश दियो । आइईई गर्न प्राविधिकहरु आए । प्राविधिकले हेर्दा उद्योगले लिएको अनुमती हाम्रो घरजग्गामा पर्यो ।’

राजु खड्गीसँग वार्ता, भन्छन्,‘मैले कृष्ण बहादुर प्रजालाई चिनेको छैन’

तपाईले कृष्णबहादुर प्रजा भन्ने व्यक्तिलाई चिन्नु भएको छ ?

कृष्णबहादुर प्रजा, कहाँको मान्छे हजुर ?

त्यही त तपाईलाई थाहा छ की छैन तपाईले कुनै समय मन्जुरीनामा भनेर एउटा मन्जुरीनामा बनाएर खानीको लाइसेन्स लिनु भएको रहेछ नी ?
के प्रजा रे, कृष्णबहादुर प्रजा ? कुनचाहीँ प्रजा । अब प्रजा त प्रजा धेरै छ तर नाम थाहा भएन मलाई ।

उहाँहरुको ९ रोपनी जग्गा तपाईहरुले श्री कुमारी माता रोडा उद्योगको खानी प्रयोजनका मन्जुरीनामा बनाउनु भएको रहेछ । उहाँ हस्ताक्षर पनि गर्न नसक्ने मान्छेको हस्ताक्षर पनि तपाई आफैले गरिदिनु भएछ । त्यही मन्जुरीनामाका आधारमा तपाईले खानी विभागबाट लाइसन्स लिनु भएछ उत्खनन्का लागि के हो यो विषयमा तपाईंको भनाई के छ ?
त्यस्तो होइन । त्यो लाइसन्स त हामीले प्रक्रिया पूरा गरेरै लिएका हौँ । त्यस्तो त हामीले केही गर्या छैन । कृणबहादुर त थाहै छैन कुन कृष्ण बहादुर हो खोई । प्रजाहरुको त जग्गा छ । त्यसरी हामीले साइन गरेर कहाँ हुन्छ । अर्काको जग्गामा पनि हामीले साइन गरेर हुन्छ ?

त्यही नमिल्ले काम गर्दिनु भएछ ?

होइन हामीले त त्यो लिएर हाम्रो एकजना महेश थापा न्यायधीशजीलाई सबै दिएको हो ।

बेचिदिनु भएको ?

बेच्देँ नि । बेचेकै सात आठ वर्ष भइसक्यो ।

त्यो बेचेकै विषय सर्वाेच्च आदालमा मुद्दा परेको हुँदा हामीले कागजात हेर्दा यस्तो देखियो नी ?

होइन होइन । त्यस्तो हो तपाईको उनीहरुले काम गर्दा जथाभावी गरिदिए त्यसलाई अलि विस्तारै गरिदिएको भए राम्रो हुन्थ्यो । उनीहरुले ठूलो ठूलो ब्रेकर लगाएर गर्देछ के त्यहाँ ।

त्यतिबेला तपाईले जुन १० वर्षे एग्रीमेन्ट भनेर खानी विभागमा बुझाउनु भएको थियो नि ?

त्यो हाम्रो एकजना खान जी ले गरिदिनु भएको हो । तनैले नै सबै मिलाइदिएको हो हामीलाई । धादिङ बेशीकै खान हुनुहुन्छ । उहाँ खानी विभागकै मान्छे हो ।

त्यो सम्झौतामा तपाईले हस्ताक्षर गरेको देखिन्छ । सबै सक्कल बमोजिम नक्कल सहि छ भनेर तपाईले पनि कागज गर्नुभएको रहेछ । तपाईले त्यहाँ १० वर्षे सम्झौता गर्दा प्रति टिफर ६ सयको दरले उहाँहरुलाई दिने भन्नु भएको रहेछ , अनि त्यो पैसा कहाँ कसरी दिनु भयो त ?

ए कृष्णबहादुर । प्रजा त होइन होला । त्यो छ हामीले कुन कुन ठाउँबाट निकाल्यो त्यही त्यही ठाउँको मान्छेलाई पेइमेन्ट त सबैलाई दिनै पर्यो । आएर बसिरहन्छ उनीहरु । खेप हेरेर बस्छ ।

एग्रीमेन्टअनुसार उहाँहरुलाई पैसा दिएको प्रमाण छ त ?

होइन प्रमाण त कहाँ हुन्छ र । खानीमै आएर यति यति भयो भन्छ अनि लिएर जान्छ ।

त्यो सम्झौता चाहिँ तपाई आफैले बनाएको होइन ?

होइन हामीले त्यस्तो बदमास गरेर बनाएको छैन । नयाँ खानीवालाले बनाएको भए थाहा भएन मलाई ।

नयाँ खानीवाला होइन तपाईले नै बुझाउनु भएको नक्कल बमोजिम सक्कल सहि छ भनेर बुझाउनु भएको राजु खड्की भनेको तपाई नै हो नि होइन ?

राजु खड्की मै हो ।

हो अनि तपाईले नै सबै किर्ते कागजातका आधारमा लाइसेन्स लिनु भएको रहेछ त्यतिबेला, तपाईको प्रमाणले त्यो भन्छ ।

किर्ते आधारमा ?

हो औठा छाप मान्छेको हस्ताक्षर तपाई आफैले गरिदिनु भएछ ?

 

हाेइन कहाँ गर्छ त्यस्तो पनि गर्छ । हामीले गरेको छैन । हाम्रो ९० रोपनी आफ्नै थियो । हामीले लिएको भनेको त्यहाँ काम गर्ने मान्छे एकजना कृष्णबहादुर के हो त्यो बुढोको एकजना लिएको छु ।

अरु सबै जग्गा हामीले किनेकै हो नी । हामीले ले नै किनेर एकजना त्यही बुढोले लेउ लेउ भनिरहेको थियो हामीलाई उसको चाहि हामीले लिजमा चलाईदिएको हो । अरु चाहि सबै जग्गा हामीले किनेको ११० रोपनी किनेको हो । सबै जग्गा हाम्रै हो । मैले पछि हाम्रो न्यायधीश साबलाई दिदाखेरी १९० रोपनी जग्गा पास गरेर दिएको छु ।

अनि त्यो खानी चाहिँ कतिमा बेच्नु भयो त तपाईले ?

धेरै सस्तोमा दियो हामीले त हाम्रो पार्टनरहरु नमिल्दा जम्मा रोपनीको त्यही ३ लाख रुपैयाँ लिएको । त्योबेला १६।१७ लाख परेको जग्गा त्यत्तिमा लिए ।

यसमाथि अन्य स्टोरीहरु तलकाे लिंकमा

कुमारी माता रोडा ढुंगा उद्योगले थाँक्रेमा स्विकृत क्षेत्रभन्दा अन्यत्रै उत्खनन् गरेको खुलाशा, पालिका मौन

एमाले नेताले चलाएको अवैध ढुंगा खानीले धादिङको थाँक्रेमा बस्ती नै जोखिममा, धान खेत भाँसियो !

 

थाँक्रेस्थित कुमारी माता रोडा ढुंगा उद्योगको अवैध खानी बन्द गर्न सर्वोच्चको आदेश