पर्यटनमा विदेशी विचौलिया धन्दा प्रहरीको छानबिनमा, ट्राभलर एसिस्टका डेनी केन फरार !

दियो पोस्ट  

काठमाडौं, १६ माघ । बेलायतमा मुख्य कार्यालय रहेको ट्राभलर एसिस्ट नामक विचौलिया कम्पनिले नेपालको बद्नामी गरेको भन्दै पर्यटन मन्त्रालयले छानबीन थालेको छ ।


मंगलबार साँझ सिंहदरबार स्थित मन्त्रालयमा भएको छलफलमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले यस वर्ष सरकारले २० लाख पर्यटन भित्र्याउने योजना सहित अघि बढिरहेको अवस्थामा केही विचौलिया कम्पनिले सरकारको योजना असफल बनाउन लागि परेको भन्दै कारबही अघि बढाउन निर्देशन समेत दिएका हुन् ।


छलफलमा सहभागी एक उच्च स्रोतका अनुसार नेपाली पर्यटन व्यावसायीलाई ‘धम्की दिने’ ट्राभलर एसिस्टका प्रतिनिधी डेनी केनलाई कारबाहीका लागि नेपाल प्रहरीलाई निर्देशन दिइएको थियो । प्रहरीले छानबीन गर्ने थाहा पाएपछि डेनी केनले नेपाल छाडेको स्रोतको दाबी छ ।


‘यो कम्पनि ब्रोकर रहेछ । यसले नेपालको बद्नाम गरेको खुल्न आएको छ । हामीले कारबाहीका लागि प्रहरीलाई समेत निर्देशन दिएका छौँ,’ पर्यटन मन्त्रालयको उच्च स्रोतले भन्यो,‘प्रहरीले अनुसन्धान थालेपछि डेनी केन नेपालबाट भागेको हुन सक्ने आशंका छ ।’
स्रोतका अनुसार नेपालकै एजेन्ट मार्फत सुचना चुहिएपछि उनी नेपालबाट फारार हुन सफल भएका हुन् ।


ट्राभलर एसिस्टको नेपाल प्रतिनिधिको रुपमा भने समिट रेस्क्यु नामक कम्पनिका सिइओ जय राणा रहेका छन् । राणाकै सहयोगमा ट्राभलर एसिस्टले नेपालमा रहेका पर्यटन व्यावसायीलाई ‘नेपालमा सबै कम्पनिलाई कारबही गरिसकेको कारण हामीसँग विमा गराउन’ भन्दै दबाव दिएका थिए । यस सम्बन्धमा दियोपोस्टले समाचार समेत प्रकाशन गरेको थियो ।


के नेपाली एजेन्टलाई कारबाही होला ?


पदयात्री पर्यटकलाई उद्दारका क्रममा हुने ठगी धन्दा बारे पर्यटन मन्त्रालय, राजश्व अनुसन्धान विभाग, सिआइबी र स्वास्थ्य मन्त्रालयले समेत अनुसन्धान गरिरहेको छ । केही कम्पनिलाई कारबाही गर्न पर्यटन मन्त्रालयद्वारा गठित उच्चस्तरिय कार्यदलले सिफारिस नै गरिसकेको छ ।

सरकारले अनुसन्धान गरिरहेकै अवस्थामा ट्राभलर एसिस्टले ‘आफूसँग’विमा गराउनु पर्ने भन्दै नेपाली व्यावसायीलाई धम्की दिएको थियो ।

यसरी धम्की दिनका लागि नेपालकै व्यावसायी जय राणाले सहयोग गरेका थिए । मन्त्रालयले ट्राभलर एसिस्टको महाप्रवन्धक जोनाथन बेनक्रफ्ट, कर्मचारी डेनी केनलाई मात्रै होइन नेपाल स्थित प्रतिनिधि जय राणालाई पनि कारबाही गर्नुपर्ने नेपाली व्यावसायीहरुमो माग छ । ‘नेपालको आन्तरिक विषयलाई अन्तर्राष्ट्रिय जगतमा बद्नाम गर्नु नितान्त राम्रो विषय होइन । हामीलाई दबावमा पारेर व्यावसाय हात पार्ने योजना रहेछ,’ एक व्यावसायीले भने,‘नेपाली एजेन्टलाई पनि कारबाही गर्नुपर्छ ।’

यो पनि पढ्नुहोस्

पर्यटनमा ‘विचौलियाधन्दा’ : पैसाका लागि विदेशीको एजेन्ट बनेर नेपालकै बद्नाम गर्ने यी को हुन् ?

सम्बन्धित खबर