धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका २ मैदीमा रहेको संस्कृत तथा साधारण माविको जग्गा घोटालामा तत्कालिन प्रध्यानाध्यापक पौष प्रसाद तिवारीलाई उन्मुक्ति दिने षडयन्त्र भएको पाइएको छ । तिवारीले विद्यालयलाई दानबाट प्राप्त भएको जग्गा आफ्नो नाममा राखि विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ऋण निकालेका थिए । जग्गा अनियमितता मुछिएका उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबीन थालेको थियो तर, छानबीनकै बीचमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन मिलेर उक्त जग्गा सुुटुक्क विद्यालयको नाममा पास गरिएको पाइएको छ ।
विद्यालय नै वादी भएर तिवारी विरुद्ध मुद्दा चलाउनुपर्नेमा त्यसो नगरि अख्तियारले छानबीन गरिरहेकै बेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज सिलवालको मिलेमतोमा तिवारीलाई उन्मुक्ति दिनकै लागि विद्यालयको नाममा जग्गा पास गरिएको हो ।
के थियो घटना ?
हाल संस्कृत मावीमै शिक्षकको रुपमा कार्यरत तिवारीले २०६७ साल पौष १३ गते विद्यालयका लागि खरिद गरिएको कित्ता नम्बर ९९३ को जग्गाधनी सोम कुमारी ‘ठूलीकान्छी’ गन्द्रमालाई झुक्यानमा पारि आफ्नै नाममा राजिनामा पास गरेका थिए ।
ज्वालामुखि गाउँपालीका २ गैरीगाउँका स्थायी बासिन्दा समेत रहेका तिवारीले विद्यालयको नाममा आउनुपर्ने कुल क्षेत्रफल (१ रोपनी १४ आना ३ पैसा) जग्गा तत्कालिन आफ्नै नाममा राजिनामा पास गरी सो जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखेर ऋण समेत निकालेका थिए ।
उक्त जग्गामा हाल संस्कृत तथा साधारण माविको २ वटा भवन रहेका छन् । तिवारीले भवनसहितको जग्गा बैंक तथा वित्तिय संस्थामा राखेका थिए ।
सोही भवन रहेको जग्गालाई साना किशान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड र ज्वालामुखि २ मा कार्यालय रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा धितो राखी पटक – पटक ऋण लिएको पाइएको थियो ।
दियोपोस्टले दियोपोस्ट डटकमले नै उक्त समाचार खुलाशा गरेको थियो । तिवारीले केही वर्षअघि साना किसान कृषि सहकारीबाट ५ लाख रुपैयाँ ऋण निकालेका थिए । त्यस्तै मैदीमै रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले भने विद्यालयकै जग्गा धितोमा राखेर ३ लाख रुपैयाँ ऋण दिएको प्रमाणमा देखिएको थियो ।