भ्रष्टाचारका आरोपी श्रेष्ठ रेडक्रस धादिङका अध्यक्ष उम्मेदवार !

Guest
दियोपोस्ट

 

काठमाडौं । मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयं सेवा, एकता र विश्वव्यापकता सामाजिक संस्था रेडक्रसका मूल आधारभूत सिद्धान्त हुन् । यसमा संलग्न व्यक्तिबाट यी सिद्धान्त अनुसरण गर्नुपर्ने विश्वव्यापी मान्यता छ ।

यिनै आधारभूत सिद्धान्तको बाटोमा हिँडेर मानवताको दियो जलाएकाले हेनरी ड्युनाले स्थापना गरेको यो संस्थाको गरिमा र ओज विश्वभर उच्च छ । तर यही सम्मानित संस्थाको धादिङ शाखाको नेतृत्व लिन विद्यालयको लाखौं रूपैयाँ भ्रष्टाचार आरोप गरेको व्यक्तिले उम्मेदवारी दिएका छन् । अख्तियारको छानबिनमा रहेका धादिङको नीलकण्ठ नगरपालिका–५ स्थित मनकामना प्राथमिक विद्यालयका प्रधानाध्यापक नेमबहादुर श्रेष्ठले रेडक्रस धादिङको अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनीमाथि विद्यालय हस्तान्तरण प्रक्रियामा काजगात कीर्ते गरी १० लाख भ्रष्टाचार गरेको आरोप छ । यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । तर, अख्तियारमा परेको उजुरीमा भने श्रेष्ठले १२ लाख भ्रष्टाचार गरेको आरोप थियो ।

तत्कालीन सामुदायिक विद्यालय मनकामना प्राथमिक विद्यालय (हाल मनकामना आवासीय विद्यालय) लाई डेढ दशकअघि समुदायमा हस्तान्तरण गरिएको थियो । हस्तान्तरणपश्चात विद्यालयले रु. १ लाख रूपैयाँ नगद र १ जना शिक्षकको दरबन्दी प्राप्त गरेको थियो । तर स्थानीयस्तरबाट विद्यालय हस्तान्तरणको विरोध भयो । चर्को विरोधपछि हस्तान्तरण फिर्ताको पत्र जिल्ला शिक्षा कार्यालयबाट विद्यालयलाई पठाइयो । ५ भदौ, २०६४ मा जिल्ला शिक्षा कार्यालय, धादिङले लेखेको पत्रमा सम्झौता रद्द गरिएको उल्लेख छ ।

यसरी सम्झौता रद्दपछि दरबन्दीका शिक्षकको कोटा रद्द हुनुपथ्र्यो । तर त्यसो भएन । स्रोतका अनुसार, उक्त विद्यालय हस्तान्तरण रद्द भएको छैन । प्रअ श्रेष्ठले तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी शिवप्रसाद रेग्मीसँगको मिलेमतोमा नक्कली पत्र देखाएर स्थानीयलाई गुमराहमा पारेका मात्र हुन् । प्रअ श्रेष्ठले विद्यालय हस्तान्तरण रद्दको नक्कली कागजात देखाएर १ लाख रूपैयाँसमेत भ्रष्टाचार गरेको स्थानीयको दाबी छ । विद्यालयका पूर्वाधार निर्माणका क्रममा पनि उनले कम्तीमा १२ लाख भ्रष्टाचार गरेको उनीमाथि आरोप छ ।

यही जिकिरसहित स्थानीयले केही समयअघि तत्कालीन निमित्त जिशिअ रेग्मी र प्रअ श्रेष्ठमाथि कारबाही गर्न माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । यसमाथि अहिले छानबिन चलिरहेको अख्तियार स्रोतले जनाएको छ ।

समाचार प्रति मेरो आपत्ति छ : नेम बहादुर श्रेष्ठ

सिफारिस