धादिङ । धादिङको थाँक्रे गाउँपालिका घर भएकी पार्वती प्रजा एउटा कागजातको ठेली बोकेर हिँडेको महिनौं भइसक्यो । तर, कतैबाट पनि न्याय नपाएपछि उनलाई देशको कानुन र राज्यका निकायहरु प्रति विश्वास टुटेको छ । गत असोजमा एकजना चिनजानका व्यक्ति दिपक प्रजाले चेपाङ समुदायका घर निर्माणका लागि अफ्रिका बजेट आएको भन्दै सूचना दिए । त्यसको जिम्मेवारी पार्वतीले लिनु पर्ने भन्दै ती व्यक्तिले उनलाई सदस्य बन्न आग्रह गरे ।
सदस्य बन्नका निम्ति पटक पटक गरेर ५ लाख जम्मा गर्नु पर्ने दिपकको सर्त थियो । उनलाई विश्वास लागेन उनले यत्रो ५ लाख रुपैयाँ भए त हामी आफै घर बनाइहाल्थ्यौं नी भन्दै प्रश्न गरिन् । दिपकले बजेटमा ९ घर निर्माणका लागि ४५ लाख आउने र त्यसको जिम्मेवारी तिमीले लिएपछि तिमीलाई छुट्टै ५० हजार आउने भन्दै पार्वतीलाई प्रलोभन देखाए । उनी पनि प्रलोभनमा पर्दै जान थालिन् । घरमा श्रीमानसँग कुरा गरिन् । आफ्नो घर पनि बन्ने र गाउँका अन्य व्यक्तिको पनि बस्न लायक घर निर्माण हुने भनेपछि उनीहरुबीच रकम जम्मा गर्ने निर्णय भयो । त्यसपछि उनले पटक पटक गरेर ५ लाख ४२ हजार रकम ऋण गरेर बुझाइन् त्यो पनि १० प्रतिशत ब्याजमा तिर्ने गरि । अरुको ज्याला मजदुरी गरेर धौ–धौले जिवीका चलाइरहेको उनको परिवारमा अब लाखौं ऋणको भारी थपियो ।
तर, उनले सोचे जस्तो न घर बन्ने वा बनाउने प्रोजेक्ट नै थियो न त उनले ४५ लाख रुपैयाँ पाउनेवाला नै थिइन् । उनी दिपकसहितको गिरोहबाट ठगिएकी थिइन् ।
“हामी उसै पनि जसो तसो गुजरा धानिरहेका थियौं । अब साँहुको ऋण कसरी तिर्ने ? हाम्रो आशुले पोल्ने छ ति ठगहरुलाई । अब मलाई मैले दिएको रकम फिर्ता मात्रै गरिदिए साँहुको ऋण तिर्ने थिए अरु केही चाहिदैन । सके घर बनाउला नसके त्यही चुहिने घरमा बसौला,’ उनी भन्छिन् । पार्वती आफ्नो रकम फिर्ता गराउन अनेक ठाउँ भौतारिदै आएकी छिन् । उनी आफू ठगीएको चालपाएपछि हेटौंडासम्म उजुरी बोकेर गइन् तर, दिपकसहितको गिरोहमाथि कुनै कानुनी कारबाही हुन सकेको छैन ।
के हो घटना ?
पार्वतीले दिपकलाई यो प्रस्ताव आउनु भन्दा केही साता अघिदेखि मात्रै चिनेकी हुन् । आफू पनि इसाई धर्म मान्ने भएका कारण उनीहरुबीच सामाजिक सञ्जालमार्फत इसाई धर्मसम्बन्धी कुराकानी भएको थियो । त्यही क्रममा दिपकले उनलाई आफू इसाई धर्मको पास्टर भएको र होस्टेलमार्फत काम गर्नेलगायत आर्थिक अवस्था कम्जोर भएका मानिसहरुलाइे सेवा गर्ने भनेर परिचय दिए । यसै क्रममा दिपकले अफ्रिकाका पास्टरहरुबाट गरिब दुःखीका लागि भन्दै इसाई धर्म मान्नेहरुको घर निर्माणका लागि ५/५ लाखका दरले ९ वटा घर निर्माण गर्न जिम्मा लिनु पर्ने दिपकको सर्त थियो । त्यसका लागि सुरुमा पार्वतीले नै ५ लाख उनीहरुको खातामा डिपोजिट (जम्मा) गरिदिने र पछि एकै पटक ४५ लाख उनको हातमा पर्ने प्रलोभन देखाए । ५ लाख तिर्ने भनेपछि उनलाई पत्यार लागेन र त्यो कुरालाई वेवास्ता गरिन् । तर दिपकले बारम्बार फोन गरेर हामी चाहि दुखी गरिबलाई भनेर सहयोग गर्ने तिमीहरु भने पर– पर हुने ? ४५ लाख भनेको सानो पैसा हो ? तिमीहरु गरिब हो तिमीहरुका लागि त यो रकम ४५ करोड हो । त्यसैले यो पैसा हामी तिम्रो नाममा हाल्दिन्छौं ।
सदस्य बन्न पैसा लाग्ने र बजेट आइसकेपछि आफ्नो रकम पनि फिर्ता आउनेमा दिपकले उनलाई विश्वास् दिलाए र उनी पनि हो भनेर परिवारमा कुरा गरिन् । श्रीमानसँग सबै बेलिविस्तार लगाएपछि पार्वतीका श्रीमानले पनि होला भन्दै रकम जम्मा गर्न राजी भए । ऋण मागेर रकम जम्मा गर्न थाले । उनले पटक–पटक गरेर ५ लाख ४२ हजार रकम आईएमईबाट १ महिनाभित्रै दिपकले भनेको चन्द्रलाल चेपाङ लगायतका व्यक्तिका खाताका जम्मा गरिदिएकी हुन् । उनले यसरी जम्मा गर्न पनि उनीहरुले सुझाए जसरी नै रकम दिएकी हुन् । “मैले त्यो पैसा दिएपछि फोन गर्दा चितवनको सौराहमा तिमीलाई ४५ लाख रुपैयाँ रकम दिन्छौं त्यो दिन तिमी जसरी पनि जानु पर्छ भने । तिमीले त्यहाँ गएर हामी दुःखी गरिबलाई घर निर्माण गर्न पैसा चाहिएको छ सर दिनु पर्यो भन्नु भनेर सिकाएका पनि थिए,” पार्वतीले भनिन्,“असोज १६ गते धादिङको माहादेवबेसीमा आएर बस म त्यही बाटो आउँछु अफिसको गाडीमा भनेर राजु प्रजा दिपककै साथीले भनेका थिए । त्यसपछि म त्यो बाटोमा आएर दिनैभरि बसे तर उनीहरु आएनन् ।”
उनीहरु न आएपछि उनले फोन गरिन् तर उनीहरुले फेरि रकम मागे । १ लाख रुपैयाँ फेरि जम्मा गरिदिन भन्दै दबाब दिन थाले । त्यतिन्जेलसम्मा पार्वतीले ४ लाख ४२ हजार दिइसकेकी थिइन् । फेरि उनीहरुले १ लाख पैसा मागेपछि उनले आफूसँग पैसा नभएको भन्दै दिन अस्विकार गरिन् । “यसरी हातमा आएको रकम किन यहाँसम्म आएर रोक्छौ तिमी । अरु मान्छे भएको भए १० लाख दिएर पनि यो काम गर्थे । तिमीलाई अब जम्मा १ लाख त मागेका छौं यो दिइहाल त्यसपछि तिम्रो हातमा ४५ लाख रुपैयाँ आउछ भने,” पार्वतिले दिपक लगायत गिरोहको भनाई उदृत गर्दै भनिन् ।
ठगीमा संलग्न गिरोहले ‘हेमन सर’ भन्ने व्यक्तिले चिया खाजाको नाममा पैसा मागेको पार्वतिलाई सुनाएका थिए । उनीहरुकै दबावमा फेरी एक लाख रुपैयाँ माग्दा पार्वतिले भाईसाग ऋण लिएर ४५ हजार रुपैयाँ फेरी आइएमई गरिदिएको उनको भनाई छ ।
दिपक प्रजा, राजु प्रजा र चन्दलाल प्रजा लगायतका व्यक्तिले रकम दिन दबाब दिएपछि आफूले पैसा दिएको पार्वतिको भनाई छ । “मैले चन्द्रलाल प्रजाको नाममा पैसा हाल्दिएको हो । मैले ५० हजार भने पनि ४५ हजार मात्रै दिन सके उनीहरुलाई । त्यसपछि बजेट कहिले आउछ भन्दा पोखरा जाने र त्यही रकम वितरण गर्ने भने । मैले अन्तिम पटक ४५ हजार हाल्दिएँ त्यसपछि उनीहरुले फोन अफ भयो । बल्ल मैले आफू ठगिएको थाहा पाएँ ।”
ठगीएको थाहा पाएपछि उनी बौद्ध प्रहरी काठमाडौंमा गइन् । बौद्ध प्रहरीले त्यहाँबाट मकवानपुरकै मान्छे भएका कारण जिल्लामै जान सुझाए । त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगिन् तर घटना धादिङकै भएका कारण यहाँ उजुरी लिन मिल्दैन भन्दै जिल्ला प्रहरी कार्यालय धादिङ जान भनियो । अहिले उनले धादिङ्गमा उजुरी दिएकी छन् । तर अहिलेसम्म कुनै प्रक्रिया अघि नबढाएको उनको गुनासो छ । प्रहरीले उनको निवेदनलाई आधार बनाएर ठगी तथा संगठीत अपराधमा मुद्दा अनुसन्धान गर्नुको सट्टा मानिस खोजतलास गर्ने सामान्य प्रक्रिया अपनाएको देखिएको छ । न्याय माग्न जाँदा आफूसँग पैसाको सौदाबाजी भएको समेत उनको जिकिर छ ।
“मैले कोइला बेचेर उजुरी लेखाइकी हुँ तर त्यहाँ यो मान्छे भेटाउन र कारबाही गर्न १ लाख डेढ लाख लाग्छ भन्छन् । मैले कहाँबाट दिउँ त्यत्रो पैसा ?” उनले प्रश्न गरिन् ।
अहिले यो समुदायका केही व्यक्तिले घर निर्माणका लागि ढुंगासमत थुपारेर बसेको उनी बताउँछिन् । उनकाअनुसार घर बनाउँने आशामा अहिले पनि मनहरी गाउँपालिकामा ६ वटा घर र धदिङको थाक्रे गाउँपालिकमा उनकोसहित ३ गरि ९ वटा घर निर्माणका लागि सामान थुपारिएकाे छ ।
ऋण तिर्न नसके घरबाट निस्कन साहुको उर्दी
पार्वतीका अनुसार अहिले साहुले ऋण तिर्न नसके घरबाट निक्कन उर्दी दिदै आएका छन् । पार्वतीले अब साहुको ऋण तिर्न पाए मात्रै पनि आफूले मुक्तीको सास फेर्ने बताइन् । “अहिले साहुको ऋण तिर्न पाए मात्रै साग सिस्नु खाएर बस्दा पनि भातै खाए जस्तो हुने थियो,” उनी भन्छिन्,‘मलाई यसरी फसाएर, म बाट यत्रो रकम ठगी गरेर अहिले खुल्लमखुल्ला हिडिरहेका छन् ।” अहिले कहिलेकाही धम्की पनि दिदै आएका छन् । प्रहरी प्रशासनले समेत पीडककै पक्षमा उभिएर आफूलाई अन्यायमाथि झन् अन्याय भएको पार्वतीको भनाई छ ।
मकवानपुरको राक्सीराङ गाउँपालिका–५ बोटबारीका दिपक प्रजा, राजु प्रजा र चन्द्रलाल प्रजालगायतले उनलाई ठगी गर्दै आएको खुलेको छ । उनीहरुले अन्य विभिन्न ठाउँमा पनि यसरी नै बजेट परेको भन्दै रकम उठाएर फारर हुँदै आएका छन् ।