काठमाडौं । अदालतले रोक्का गरेको जग्गा मालपोत कार्यालय खोटाङले रोक्का नभएको भन्दै नक्कली सिफारिस दिएको पाइएको छ । एउटै स्थानको एउटै कित्ता भएको एउटै व्यक्तिको रोक्का रहेको जग्गा मालपोत कार्यालय खोटाङले उक्त जग्गा रोक्का नभएको भन्दै नक्कली सिफारिस दिएको पाइएको हो ।
साबिकको दिक्तेल गा.वि.स वडा ६ की जग्गाधनी मुस्कान शेर्पा लिम्बुको नाममा रहेको कीत्ता नम्बर १५२६ र १४२५ को जग्गा अदालतबाट पटकपटक रोक्का भएको थियो । चेक अनादर मुद्धामा परेको उक्त जग्गा रोक्का रहेको भन्दै मालपोत कार्यालय खोटाङले जिल्ला अदालत काठमाडौलाई २०७६ चैतमा पत्र पठाएको थियो ।
जग्गा लेनदेन सम्बन्धमा उब्जेको विवादपछि लिम्बुविरुद्ध खोटाङकै साबिकको दिक्तेल गाविस ६ की भेषुकुमारी श्रेष्ठले चेक अनादरको मुद्धा दायर गरेकी थिइन् । सो सम्बन्धमा जिल्ला अदालत काठमाडौले उक्त जग्गा रोक्काको आदेश दिदै मालपोत कार्यालय खोटाङलाई पत्राचार गरेको थियो । हाल उक्त जग्गा रोक्का नै रहिआएको छ ।
तिनै जग्गाधनी मुस्कान शेर्पा लिम्बुको कित्ता नम्बर १५२५ र १५२६ को जग्गा पुन रोक्का गर्न मालपोत कार्यालय खोटाङलाई भक्तपुर जिल्ला अदालतले २०७७ मंसिरमा आदेश दिएको थियो । उक्त जग्गा पुन रोक्का राखिएको भन्दै ०७७ पुषमा मालपोत कार्यालय खोटाङले पत्र पठाएको थियो । सो जग्गा लिम्बुको नाम भएको चेक अनादर मुद्धामा रोक्का राखिएको थियो ।
हाल दुवै कित्ता भएको जग्गा विचाराधिन अवस्थामा रहेको छ । विचाराधिन अवस्थामा रहेको कित्ता नम्बर १५२५ र १५२६ को जग्गा रोक्का नरहेको भन्दै मालपोत कार्यालय खोटाङले सिफारिस गरेको छ । उक्त जग्गा रोक्का नरहेको उल्लेख गर्दै यहि माघ ७ गते सिफारिस बनाइएको छ । उक्त सिफारिसमा मालपोत कार्यालयका नायब सुब्बा जगत बहादुर श्रेष्ठले दस्तखत गरेका छन् ।