काठमाडौं । घर बनाइदिन अफ्रिकाबाट बजेट आएको आश्वासन देखाएर लाखौँ ठगीका आरोप लागेका दिपक प्रजाविरुद्ध अन्ततः पक्राउ पुर्जी जारी भएको छ । धादिङ जिल्ला अदातलले गत फागुन ६ गते नै पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङकी सहायक हवल्दार शान्ति आलेका अनुसार अदातलबाट पक्राउन पुर्जी जारी भएपछि आरोपी फरार रहेको बताइन् । उनले भनिन्,“आरोपित दिपक प्रजा र राजु प्रजाविरुद्ध अदालतबाट ६ गते नै प्रकाउ गर्न अनुमति आइसकेको छ । उनीहरु अहिले फरार छन् । हामीले खोजी कार्य जारी राखेका छौं । बाँकी पक्राउपछि अनुसन्धानबाट खुल्नेछ ।” फरार भएका आरोपितकाबारे केही सूचना आए आफूहरुलाई खबर गर्न पीडितलाई आग्रहसमेत गरेको आलेले बताइन् ।
नयाँ घर निर्माणका लागि अफ्रिकाबाट बजेट आएको भन्दै दिपकसहतिका व्यक्तिले चेपाङ समुदायकी एक महिलालाई प्रलोभनमा पारेर लाखौं ठगी गरेको समाचार यसअघि दियोपोष्टले प्रकाशन गरेको थियो ।
धादिङकी पार्वती प्रजालाई उक्त प्रोजेक्टमा सदस्य बन्नका निम्ति रकम जम्मा गर्नु पर्ने भन्दै दिपकसहितले ५ लाख ४२ हजार ठगी गरेका थिए । रकम लिएपछि विभिन्न बहानामा टार्न थालेपछि पार्वतीले आफू ठगिएको थाहा पाएकी थिइन् । दिपक र राजुसहितका व्यक्तिलाई बुझाएको रकम भने साहुबाट १० प्रतिशत ब्याजमा ऋण लिएको पार्वतीको भनाई । आफ्नो घर पनि बन्ने र गाउँका अन्य व्यक्तिको पनि बस्न लायक घर निर्माण हुने भनेपछि आफू उनीहरुको कुरामा आएको उनी बताउछिन् । रकम लिएपछि सम्पर्कविहीन भएपछि मात्रै उनी दिपकसहितको गिरोहबाट ठगिएकी थाहा पाएकी हुन् ।
अहिले प्रहरीमा उजुरी दिएदेखि नै उक्त समुहले पीडित महिलालाई धम्की दिदै आएको छ । उनले आफूले प्रहरी प्रशासन सबै आफ्ना मान्छे भएको र केहीलाई किनिसकेको भन्दै पीडितलाई दिनदिनै धम्की दिदै आएको पीडित पार्वतीले बताइन् । धादिङको थाँक्रे गाउँपालिका घर भएकी पार्वती प्रजालाई गत असोजमा जोन भनिने दिपक प्रजाले इसाई धर्म मान्ने नौं घर परिवारका लागि नयाँ घर निर्माण गर्न भन्दै उल्टै लाखौं रकम ठगी गरेका थिए । उनले दियोपोष्टसँग भनिन् “तलाई म उल्टो कानुन लगाइदिन्छु । मैले नि चिनेको प्रहरी छन् भन्दै भम्की दिन्छ ।”
प्रहरीले फरार भएका दिपक र राजुको तिव्र खोजी गरिरहेको छ ।
सम्बन्धित समाचार
चेपाङ्ग युवतीलाई ठगी गर्ने दिपकको पीडितलाई धम्की– ‘प्रहरी त मैले ३० लाखमा किनिसकेँ’
चेपाङ बस्ती बनाउने प्रोजेक्ट देखाएर लाखौँ ठगी : पीडित भन्छिन्– ‘प्रशासनले न्याय दिएन’