काठमाडौं, १० चैत्र। नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवाल प्रहरी प्रमुख बन्ने दौडमा छन् । सरकारले डिआइजी जय बहादुर चन्दलाई आइजीपिमा नियुक्त गर्नु अघि नै सरकार विरुद्ध सर्वोच्च अदालत पुगेका सिलवाललाई अदालतले ‘न्याय’ समेत दिइसकेको छ ।
मिटरब्याज काण्ड, झूटो मुद्दा, प्रहरीको बर्दिमा गरिएको विभिन्न मनपरीका कारण विवादास्पद छवि बनाएका सिलवालको एउटा ‘डरलाग्दो काण्ड’ भने सबैतिर छिपेको थियो ।
नेपालका राजनीतिक नेतृत्व खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुको सामुहिक हत्या गर्ने भारतीय योजनामा सिलवालको भूमिकाबारे भने अहिलेसम्म प्रश्न उठेको छैन ।
सुरक्षा पत्रकारितामा निकै गहिरो दख्खल राख्ने पत्रकार हुन्–सरोजराज अधिकारी । कान्तिपुर दैनिकमा रहेर लामो समय सुरक्षा बिटमा कार्यरत पत्रकार अधिकारीको पुस्तकहरु मध्ये दुई वटा पुस्तक भने निकै चर्चित छ ।
अधिकारीद्वारा नेपालको राष्ट्रिय सुरक्षा र स्वाधिनताको चुनौतिको विषयमा लिखित चक्रब्युहमा चन्द्र सुर्य नामक पुस्तक नेपालमा मात्रै अन्य देशमा समेत ‘बेस्ट सेलर’ मानिन्छ । उक्त पुस्तक तेस्रो संस्करणको रुपमा समेत प्रकाशित भइसकेको छ ।
अधिकारी द्वारा लिखित पुस्तकबारे पूर्व प्रहरी महानिरिक्षक रवीन्द्र प्रताप शाहले भनेका छन्,‘राष्ट्रिय सुरक्षाबारे दृष्टिकोणको अभाव, सत्ता केन्द्रित राजनीति, समग्र मुलुकको हितभन्दा व्यक्तिगत स्वार्थलाई महत्व दिने जस्ता प्रवृतिका कारण मुलुक संक्रमणमा छ । त्यही संक्रमणको फाइदा उठाउँदै नेपाल मामिला बाह्य तत्वले कसरी खेलिरहेको छन् भन्ने तथ्य यस पुस्तकमा उजागर गरिएको छ ।’
शाहले भने जस्तै बाह्य तत्वको योजनामा नेपाल भित्रै खेलिरहने एउटा प्रहरी अधिकृत हुन्–तत्कालिन नेपाल प्रहरीका एसपी तथा हालका डिआइजी नवराज सिलवाल ।
बानेश्वरमा रहेको संसद भवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुको सामुहिक हत्या गर्न सिलवालले के भूमिका खेलेका थिए । पढ्नुहोस् चर्चित पुस्तक चक्रब्युहमा चन्द्र सुर्यको यो अंश–
000
भारतीय पक्षको संरक्षण पाएको समुहबाट एउटा यस्तो सामुहिक हत्याको पनि योजना बुनिएको थियो, जसको राष्ट्रिय रुपमा चर्चा पनि भएन ।
तुहिएको त्यो हत्या योजना ‘आईएसआई एजेन्ट’ वा ‘दाउदको सहयोगी’ भनि कुनै व्यक्ति विशेषमाथि नभई राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन र नयाँ नेपालको नयाँ संविधान लेख्न विभिन्न पार्टीबाट चुनाव जितेर/चुनिएर आएका संविधानसभा सदस्यहरु विरुद्ध लक्षित थियो । (भलै संविधान नलेखी सो संविधानसभाको आयु २०६९ जेठ १४ मा सकिएको छ ।)
प्रहरीले २०६५ चैत ४ मा काठमाडौंको सिफलबाट छोटा राजन समुह सम्बद्ध गणेश सिंह ‘टिंकु’, अनिल बानियाँ ‘विक्की’ । मुकेश दासलाई अत्याधुनिक हतियार सहित पक्राउ गरेको थियो । सिंहले आफ्नो घर सप्तरीको सीमावर्ती क्षेत्रमा रहेको बताएपनि उनी भारतीय नागरिक हुन् र छोटा राजन समुहको सार्पसुटर हुन् ।
प्रहरीले उनीहरुबाट एसएमजी (सर्ट मेसिन गन) २ थान, साइलेन्सर जोडिएको एके–४७ राइफल १ थान र कम्पनी निर्मित भारतीय पेस्तोल ४ थानका साथै गोली भरिएका म्यागेजिन १४ थान बरामद गरेको थियो ।
बरामद म्याजेजिनमा एसएमजीका २०–२० गोली अड्ने ४ थान, एके–४७ राइफलका ५०–५० गोली अड्ने दुई थान र पेस्तोलका ८/८ गोली अट्ने एक थान रहेको प्रहरीले सार्वजनिक गरेको थियो ।
एसएमजीले एक पटकमा चार देखि १० राउन्डसम्म (बस्ट गरेर) गोली हान्ने क्षमता राख्छ भने एके–४७ बाट एक मिनेट भित्रै ५० गोली हान्न सकिन्छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका तत्कालीन निमित्त प्रमुख डीआईजी भरत जीसीका अनुसार राजधानीमा त्यत्तिका गोली र त्यस्तो अत्याधुनिक हतियारसहितको अपराधिक गिरोह पक्रपाउ परेको त्यो नै पहिलो घटना थियो ।
ठूलो परिमाणको हतियारसहित सो गिरोह एक वर्षअघि नै पक्राउ परेपनि उनीहरुले नयाँ वानेश्वरस्थित संविधानसभालाई लक्षित गरी हत्याकाण्ड गराउन खोजेको तथ्य प्रहरीले जमिम साहको हत्यापछि मात्रै गर्यो ।
जमिम हत्याको छानबीनको क्रममा सो गिरोहका सदस्यसँग विशेष रुपमा सोधपुछ गर्दा यो रहस्य खुलेकाले पहिले नै सार्वजनिक नगरिएको बताइयो । तर त्यसको भित्री कारण भने बेग्लै थियो ।
खासमा त्यस योजनामा सुरक्षा निकायका उच्च तहका व्यक्तिको समेत संलग्नता देखिँदै गएपछि दबावमा परेर प्रहरीले थप अनुसन्धान बन्द गरेको थियो ।
जमिम हत्यापछि तत्कालिन डीआइजी जीसीले सो आपराधिक गिरोहले संविधानसभालाई लक्षित गरी राजनीतिक हत्याकाण्ड मच्चाउने तयारी गरेको तर प्रहरी सक्रियताका कारण बेलैमा उनीहरुलाई पक्राउ गरिएकाले मुलुक ठूलो दुर्घटनाबाट जोगिएको बताएका थिए ।
उनको थप भनाई छ,‘त्यस गिरोहले यो वा त्योभन्दा पनि संविधानसभा वा व्यवस्थापिका संसदको बैठक चल्ने कुनै दिन छानेर सभासद् प्रवेश गर्ने पश्चिम गेटमा अन्धाधुन्ध गोली चलाएर एक दर्जनभन्दा बढी सभासद्को सामुहिक हत्या गर्ने योजना बनाएको थियो ।’
‘भैरव सिंह’ नाम बताउने योजनाकारसहितको उपस्थितिमा ‘सार्प सुटर’हरुलाई हतियार बुझाउँन लैजाँदै गर्दा स १ प ९७९० नम्बरको रातो पल्सर मोटरसाइकलमा अनिल बानिया ‘विक्की’ र मुकेश दासलाई पक्राउ गरिएको थियो । उनीहरु काठमाडौंको कालिमाटी स्थित एउटा लजबाट सिफल जाँदै गर्दा पक्राउ परेका थिए ।
कम्तिमा ५ जना ‘सार्पसुटर’ रहेको अनुमान गरिएपनि गणेश सिंह ‘टिङ्कु’ एक जनालाई मात्रै पक्रिन प्रहरी सफल भएको थियो । प्रहरी भित्रैबाट सुचना लिक भएकाले अन्य ‘सार्पसुटर’ र योजनाकार भाग्न सफल भएको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाई छ ।
प्रहरीसँग सिंहले विभिन्न दलसहित विभिन्न पार्टीका सभासद् तथा नेताहरुको हत्या गर्नुपर्छ भने पनि कसैको नाम चाहीँ लिएनन् । सो गिरोहको तीनै जना डिल्ली बजार कारागारमा हात हतियार तथा खरखजना ऐन अन्तर्गत सजाय काटिरहेका छन् ।
जमिम हत्याका योजनाकार बब्बु उर्फ त्रिलोक सिंहले डिल्लीबजार कारागारमा रहेको केही कैदीलाई पटकपटक भेटेका थिए, तीमध्ये एक ‘सार्पसुटर’ सिंह नै थिए ।
आखिर किन गर्न खोजिएको तियो सभासद्हरुको सामुहिक हत्या ? प्रहरीलाई विस्तारमा छानबीन गर्न नदिइएकाले त्यसको खास उद्देश्य भने खुल्न सकेन । त्यसबेला अनुसन्धानमा समलग्न उच्च अधिकारीका अनुसार, राजनीतिक र सैन्य नेतृत्वमा पनि यो घटना जोडिएको तथ्यहरु फेला पर्न थालेका थिए ।
त्यसैले थप छानबीन गर्न ‘आदेश’ आएकाले बीचमै रोकियो । त्यसबेला तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानसेनापति रुक्माङ्गत कटवालबीच शक्ति संघर्ष शुरु भइसकेको थियो । सेनापति कटवालमाथि कारबाहीको लागि दाहाललाई पार्टी भित्रैबाट दबाव बढिरहेको थियो ।
यसले गर्दा तत्कालिन सैनिक नेतृत्व दाहालको विरोधी बनेको थियो । ‘कटवाल प्रकरण’ को नामले चर्चित सोही घटनाका कारण प्रधानमन्त्री दाहालले राजीनामा समेत दिनु परेको थियो ।
सत्ता सञ्चालनका क्रममा दाहालले दक्षिणी छिमेकी भारतको सुझावसमेत सुन्न छाडिसकेका थिए । यहाँसम्मकी, भारतीय लगानीको दुरसञ्चार सेवा प्रदायक युनाइटेड टेलिकम (युटिएल)ले सरकारलाई तिर्नुपर्ने रोयल्टी मिनाहा गरिदिन भारतीय पक्षले गरेको आग्रह पनि दाहालले स्वीकार गरेनन् । त्यसैले भारतीय पक्ष जसरी पनि दाहाललाई सत्ताबाट हटाई छाड्ने निष्कर्षमा पुगेको थियो ।
अनुसन्धानमा समलग्न उच्च प्रहरी स्रोतका अनुसार तत्कालिन सैनिक नेतृत्वनिकट त्यस बेलाका महानगरिय प्रहरी परिसर, काठमाडौंका प्रमुख तत्कालिन एसपी नवराज सिलवालकै सहयोगमा ती हतियार थानकोट स्थित प्रहरी सुरक्षा छिचोल्दै राजधानी भित्र्याइएका थिए ।
यी र यस्ता तथ्य एकपछि अर्को गर्दै खुलीरहेको बेला अचानक यस प्रकरणको छानबीन अघि नबढाउँन ‘दबाव’ आयो, जसका कारण सिंगो मुलुकको राजनीतिक नेतृत्वलाई तर्साउने उद्देश्यले सभासद समुहलाई लक्षित गरी गराउँन खोजीएको हत्या काण्डको विषय त्यत्तिकै ओझेलमा पर्यो ।
२१ मार्च २०१७ मा प्रकाशित