इलाम, १७ फागुन । जिल्लाको पूर्वी सीमावर्ती क्षेत्र पशुपतिनगरमा भारतीय रुपैयाँ साट्दा सर्वसाधारण र पर्यटक ठगिइरहेका छन् ।
भारु साट्दा लाग्ने दरभन्दा धेरै बढी मूल्य तिर्नुपरिरहे पनि सम्बन्धित निकायको ध्यान नपुग्दा सर्वसाधारण ठगिनु परिरहेको हो ।
सीमा क्षेत्रको मुख्य बजार पशुपतिनगरमा सटही काउन्टर नहँुदा सर्वसाधारण ठगिनुपरेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्न, उपचार गराउन, घुम्न, तीर्थयात्रालगायत विभिन्न प्रयोजनका लागि भारतीय बजार जाने नेपाली नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा उच्च दरमा भारु साट्न बाध्य छन् ।
नेपाल राष्ट्र बैंकको अनुमति र इजाजतबिना व्यक्तिले नै अवैधानिक रूपमा भारु पैसा साटिरहेका छन् । नेपाली नागरिकले एक सय भारु साट्दा नौ रुपैयाँ, एक हजार साट्दा ९० रुपैयाँ र एक लाख साट्दा नौ हजारसम्म अतिरिक्त शुल्क (बट्टा) तिर्नुपर्दा सर्वसाधारण र पर्यटक मारमा परेका हुन् । नेपाल राष्ट्र बैंकले एक सय भारुको अधिकतम १६० रुपैयाँ १५ पैसा तोकेको भए पनि सर्वसाधारण भने चर्काे अतिरिक्त शुल्क तिर्न बाध्य छन् ।
सर्वसाधारण भारत जानुपरेमा चर्को दरमा भारु साट्नुपरेको स्थानीयवासीको दुखेसो छ । बिनाबट्टा एक रुपैयाँ पनि पाइँदैन तर बट्टा दिएमा जति पनि सजिलै पाइने गरेको स्थानीयवासीको भनाइ छ ।
पशुपतिनगरमा अवैधानिक तरिकाले व्यक्ति तथा साना होटल सञ्चालकले पनि भारु सटही गर्ने गरेका छन् । सीमावर्ती क्षेत्र मानेभञ्ज्याङ, तुम्लिङमा समेत उस्तै समस्या छ । सटही काउन्टर नहुँदा सर्वसाधारण तथा पर्यटक आर्थिक मारमा परेका छन् ।
नेपाल बैंक लिमिटेड इलाम शाखामा भारु कोष भएकाले सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता छ । सदरमुकामसम्म आउजाउ गर्न करिब रु ५०० तिर्नुभन्दा सर्वसाधारण चर्काे दरमा पशुपतिनगरमै भारु साटिरहेका छन् ।
सीमा क्षेत्रमा सर्वसाधारणमाथि ठगी भइरहे पनि प्रहरी प्रशासन भने मुकदर्शक बनिरहेको छ । ठगी नियन्त्रणका लागि प्रशासनको भूमिका नभएको सर्वसाधारणले गुनासो गरेका छन् ।