निजी वनबाट लाभ उठाउँदै वनधनी

दियो पोस्ट  

 

वनेपा, १७ फागुन । गरिबी न्यूनीकरणमा निजी वन प्रभावकारी हुँदै गएको निजी वनधनीहरुले औँल्याएका छन् ।

काभ्रेपलाञ्चोकको बुडोलमा आइतबार जिल्ला वन कार्यालय, धुलिखेलले आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले निजी वनबाट भरपुर लाभ उठाउन कोसिस भइरहेको बताए ।

खेर गएका बाँझो जग्गाको सदुपयोग गर्दै निजी वनमा जडीबुटी, काष्ठ वन पैदावारको खेती गरी लाभ उठाउन सकिन्छ निजी वन सञ्जाल, काभ्रेपलाञ्चोकका सचिव गोपालप्रसाद तिमल्सिनाले भन्नुभयो ।

उहाँले त्यसका लागि निजी वनधनीको क्षमता अभिवृद्धिका साथै संस्थागत विकासमा जोड दिनुभयो ।

जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले निजी वनमा आयआर्जन हुने र छिटो बढ्ने प्रजातिका बिरुवा रोप्न सुझाव दिँदै निजी वनले राष्ट्रिय अर्थतन्त्रमा ४६ प्रतिशत योगदान दिएको बताउनुभयो ।

काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत रामकुमार भण्डारीले लोपोन्मुख र सङ्कटापन्न अवस्थामा रहेका प्रजातिका बिरुवा निजी वनमा बढाउनुपर्नेमा जोड दिँदै उत्तिस, पाटेसल्ला, चिलाउने, साल, लौठसल्लालगायत प्रजातिबाट वनधनीले लाभ उठाउन सक्ने बताउनुभयो ।

जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार आव ०७१÷७२ मा निजी आवादी वनबाट कुल एक लाख ९९ हजार ७७८.७८ क्यूफिट काठ निकासी भएको देखिएको छ । त्यसबाट कुल रु ३४ लाख २६ हजार ६०१ राजस्वसमेत सङ्कलन भएको छ ।

जिल्लामा १४.२७८ हेक्टर क्षेत्रफलमा निजी वन रहेको छ त्यसमध्ये करिब दुई वर्षको अवधिमा १४ वटा निजी वन समूह दर्ता भएका छन् भने केही दर्ता क्रममा छन् ।

TATA ADD