अर्थमन्त्री पौडेलसँग एडिबीका अध्यक्षको भेट

दियो पोस्ट  

काठमाडौँ, १३ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओले आज अर्थमन्त्रालयमा भेटवार्ता भएको  छ ।

 

अर्थमन्त्री पौडेलको कार्यकक्षमा भएको भेटवार्तामा उहाँहरुबीच एडिबीको सहयोगमा सञ्चालित आयोजनाका कार्य सम्पादनका विषयमा समीक्षा भएको थियो । भेटका क्रममा अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालय समन्वय गरेर एडिबीको सहायतामा सञ्चालनमा भएका आयोजना  कार्यान्वयनलाई द्रूतगतिमा बढाउने अर्थमन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौड्यालले बताए।

भेटमा अर्थमन्त्रीले लुम्बिनीका गुरु योजनाकार किन्जो टाङ्गेको योजनासहित वृहत लुम्बिनीको विकास गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए  । उनले तिलौराकोट, रामग्राम र देवदहलाई समेत समेटर विकास गर्नुपर्नेमा जोड दिएका थिए  ।

प्रवक्ता पौड्यालका अनुसार अर्थमन्त्रीले भूकम्प र नाकाबन्दीका कारण विकासको गतिमा केही शिथिलता आए पनि चालु आर्थिक वर्षमा दुई प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुने बताए। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काम सुरु गरेको र नाकाबन्दी पनि हटिसकेकाले अब आर्थिक विकासको बाटोमा लाग्ने बताउँदै अर्थमन्त्रीले विगतमा थाँति रहेका सबै कार्यलाई शीघ्र अगाडि बढाइइने बताए ।

सो अवसरमा एडिबी अध्यक्ष नाकाओले एसियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वनको गति ढिलो भएको र त्यसलाई चाडो अगाडि बढाउन आग्रह गर्नुभएको थियो । त्यसैगरी अध्यक्षले नेपालको प्राकृतिक वातावरण एवम् भौगोलिक अवस्थाबाट वार्षिक आठ प्रतिशतसम्मको आर्थिक वृद्धि उपलब्धि गर्न सकिने बताउँदै सबै अवस्था सुध्रिएकाले सहायता परिचालनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड  दिएका थिए ।

अध्यक्ष नाकाओ यही फागुन १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने एडिबीको बैठकमा भाग लिन आएका हुन  ।

सम्बन्धित खबर