काठमाडौँ, १५ फागुन । पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा बलात्कार, अपहरण र कुटपिटलगायत महिलामाथि हुने हरेक प्रकारका हिंसाका घटना बढ्दै गएको भन्दै महिला अधिकारकर्मीले त्यसलाई अन्त्य गर्नुपर्ने माग गरेका छन् ।
ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन नामक संस्थाले यहाँ आज आयोजना गरेको ‘होटल तथा आतिथ्य सत्कार उद्योगसँग सम्बन्धित महिला जनशक्तिलाई आईपर्नसक्ने चुनौती र दुव्र्यवहार’ विषयक अन्तक्र्रियामा अधिकारकर्मी महिलाले महिला हिंसाका घटना दिन प्रतिदिन बढ्दै जाँदासमेत सरकारले कुनै चासो नदेखाएको गुनासो गर्नुभयो ।
महिला अधिकारकर्मी रस्मीला प्रजापतिले नेपालमा केही वर्षयता महिला हिंसा बढिरहेको भए पनि सामाजिक डर, त्रास र वातावरणका कारण धेरैजसो महिलाहिंसाका घटना बाहिर नआउने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो–“भूकम्पपछि महिलाहिंसा, अझ त्यसमाथि पनि यौन हिंसा बढ्दै गएको छ, त्यसले गर्दा समुदायस्तरमा महिलालाई आत्मरक्षाबारे आधारभूत जानकारी प्रवाह गर्नुपर्ने खाँचो छ ।”
अधिकारकर्मी प्रा डा मीना सिंह खड्काले विशेषगरी होटलमा काम गर्ने महिलामाथि सबैभन्दा बढी महिला हिंसा भएको भन्दै त्यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो ।