
काठमाडौँ, माघ २८ । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गालाई व्यक्तिको नाममा ल्याई बैँकबाट करोडौँ ऋण लिने व्यापारीहरुको लामो फेहरिस्त छ । खर्वपति व्यापारी सुहृदराज घिमिरेको व्यापारिक साझेदार भनिएका पुरुषोत्तम पौडेलले समेत ललितानिवासको जग्गा बैँकमा राखेर ठूलो रकम लिएको भेटिएको छ । पौडेलले सरकारी जग्गा धितो राखेर नेपाल इन्भेस्टमेन्ट बैँकबाट २६ करोड ऋण लिएको पाइएको छ ।
बैँकबाट ऋण निकाल्न प्रयोग गरिएको उक्त जग्गा व्यापारी सुहृदराज घिमिरेले नै पौडेललाई बेचेका थिए । घिमिरेले ललितानिवासको १३ रोपनी जग्गा आफ्नी सासु इन्दु शर्माको नाममा लिएका थिए । पछि सोही अन्तर्गतको कित्ता नम्बरहरु ९२,९५, ९६ र ९७ का १ रोपनी आठ आना जग्गा पौडेललाई बेचेको मालपोतको रेकर्डमा देखिन्छ । पौडेलले सोही जग्गा बैंकमा धितो राखेका थिए ।

बहुमुल्य जग्गा किनबेचमा कर छली गर्नकै लागी उनीहरुले प्रति आना ५० हजारमा खरिद गरेको देखाएका थिए ।
उनले साझेदार भनिएका पौडेललाई प्रतिआना १ लाख २५ हजार रुपैयाँमा बेचेको मालपोतको रेकर्डमा देखिन्छ ।

त्यसो त ललितानिवासको करौडौँको जग्गा कौडीको भाउमा हत्याउनका लागि घिमिरेलाई पौडेलले पनि साथ दिएका छन् । उनीहरुसँगै भाटभटेनी सुपर मार्केटका मालिक मिन बहादुर गुरुङ, भूमाफियाहरु रामकुमार सुवेदी र शोभाकान्त ढकालको मिलेमतोमा घिमिरले सासु आमा र व्यापारिक साझेदार पुरुषोत्तम पौडेलको नाममा ललिता निवासको जग्गा हत्याएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गरेर अवैध कारोबार गर्ने १ सय ३० जना व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले समेत ललिता निवास जग्गा काण्डबारे प्रतिवेदन सरकारलाई बुझाई सकेको छ ।

अख्तियारले सरकारी जग्गा प्रयोग गरि ऋण लिने ब्यक्ति र ऋण दिने बैँकहरुलाई समेत कारवाहीको दायराभित्र ल्याउनका लागि राष्ट्र बैँकसमक्ष पत्र पठाइसकेको छ । राष्ट्रबैकले लालपुर्जा हेरेर कर्जा दिएका बैँकहरुलाई कारबाही नगर्ने र धितोभन्दा ठूलो रकम कर्जाको रुपमा दिने बैँकहरुलाई भने कारवाही गर्ने उद्घोष गरिसकेको छ ।
लालपुर्जाको आधारमा कर्जा दिने बैँकहरुलाई वैकल्पिक धितो खोज्न सुझाव दिइएको छ । राष्ट्रबैँकले केही दिनमै ललितानिवासको जग्गा धितो राखेर ऋण लिने ब्यक्तिहरुको तथ्यांक पठाउन अन्य बैँकहरुलाई निर्देशन दिइसकेको छ ।
को हुन् पौडेल ?
कन्टिेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रा.ली कम्पनि रजिष्टारको कार्यालयमा एक दशकअघि दर्ता भएको कम्पनि हो । कुल २ करोड चुक्ता पुँजी राखेर शुरु भएको यो कम्पनिले भन्सार छली गरेर नेपालमा स्क्याभेटर डोजर लगायत हेवि इक्वीपमेन्ट बेचविखन गर्दै आएको छ ।
उक्त कम्पनिको २०६६ साल चैत्र १२ गतेको बैठकमा सहभागीको रुपमा पौडेलको नाम उल्लेख छ । उनै पौडेललाई बालुवाटारको जग्गा पास गरिएको हो ।

पौडेलकै नाममा घिमिरले विदेशमा समेत अकुत सम्पति लुकाएको आरोप छ । खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संगठन आइसिआइजेले सार्वजनिक गरेको विवरणमा घिमिरेले पौडेलको नाममा ट्याक्स हेभन राष्ट्र भनिएको ब्रिटिस भर्जिन आयरल्याण्ड सिंगापुरमा अकुत सम्पत्ति लुकाएको खुलाशा गरेको थियो ।
इको बे नामक कम्पनि मार्फत अकुत सम्पत्ति लुकाएको आरोप घिमिरे र पौडेलमाथि छ ।
पौडेलको नाममा रहेको बालुवाटारको जग्गा सरकारको नाममा जफत गर्न अख्तियारले निर्देशन समेत दिइसकेको छ ।